सौर्य एयरलाइन्स डेढ वर्षदेखि उडान अनुमतिको पर्खाइमा छ।
एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणसँग डेढ वर्षदेखि उडानका लागि अनुमति मागेको थियो।
तर, अहिलेसम्म पनि उडान अनुमति नपाएको एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले जानकारी दिए।
उनका अनुसार प्राधिकरणले विगत १७ महिनादेखि उडान अनुमति (एओसी) नवीकरण नगरिदिँदा तीन वटा एटिआर जहाज खरिद प्रक्रिया पनि रोकिएको छ।
'२०८१ साल चैतमै सौर्यले परीक्षण उडान गरेको हो,' उनले भने, 'आवश्यक सबै प्रक्रिया पूरा गरे पनि प्राधिकरणले एओसी नवीकरण नदिॅंदा अन्योलमा छौं।'
जहाज खरिद प्रक्रिया अगाडि बढाउन एओसी नवीकरण अनिवार्य रहने हुन्छ।
तर, सौर्यले सबै प्रक्रिया पूरा गरेर प्राधिकरणमा आवश्यक कागजात पेस गरिसक्दा समेत नवीकरण नगरिदिँदा नियमित उडानसँगै नयाँ जहाज खरिद प्रक्रियासमेत अगाडि बढाउन समस्या भइरहेको उनले बताए।
'प्राधिकरणले मागेको सबै डकुमेन्टहरू बुझाइसकेका छौँ,' उनले थप भने, 'कम्पनीमा आवश्यक सबै दरबन्दीसमेत भरिसकेको छ। अब अनुमति आउने बित्तिकै नियमित उडानमा फर्कन्छौँ।'
सौर्यसँग हाल दुइटा जहाज छ। तीमध्ये एउटा जहाजमार्फत् उडानको तयारी भएको बजार प्रमुख खनालले जानकारी दिए।
०८१ साउन ९ गते पोखरा उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि प्राधिकरणले सौर्यको एओसी अनिश्चितकालका लागि निलम्बन गरेको थियो।
त्यसयता उडान सुरक्षा अडिट, तालिम, दस्तावेज सुधार तथा डिजिटल प्रणाली सम्बन्धी आवश्यक सुधार पूरा भइसकेको उनले बताए।
सौर्य एयरलाइन्सले नियामक निकायको मापदण्डअनुसार फ्लाइट सेफ्टी अडिट (एसएमएस)मा ६५ प्रतिशत अंक प्राप्त गरिसकेकाले पुनः उडानका लागि आवश्यक प्रक्रियासहित निवेदन दिइसकेको जानकारी उनले दिए।
सामान्यतया एसएमएसमा ६० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्नु राम्रो मानिन्छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल एओसी नवीकरण प्रक्रिया अघि बढिरहेको बताउँछन्।
'एसएमएस अडिटमा सौर्यले आवश्यक अंक प्राप्त गरिसकेको छ,' भुलले भने, 'एओसी नवीकरणको चरणमा छ केही समयमा निर्णय हुनेछ।'