शुक्रबारदेखि ग्राउन्डेड भएको निगमको न्यारोबडी विमानको नियमित उडान सुरू भएको छ।
नियमित उडान तालिका अनुसार दुई बजे उडान हुने तयारी भइरहेको नेपाल वायुसेवा निगमका प्रवक्ता देवेन्द्र पुनले जानकारी दिए।
'समस्या समाधान भइसक्यो,' उनले भने, 'अब नियमित उडानको तयारी हुँदैछ।'
निगमको 'लुम्बिनी' र ‘सगरमाथा’ नामक दुई न्यारोबडी विमान छन्। 'लुम्बिनी' विमान बनाउन इजरायल लगिएको छ। शुक्रबार राति 'सगरमाथा' विमानको इञ्जिनमा समस्या आएपछि ग्राउन्डेड भएको हो।
दुबै जहाज ग्राउन्डेड हुँदा चीनको ग्वाङझाउ, हङकङ तथा दुबईका अन्तर्राष्ट्रिय उडान रद्द भएको थियो।
जहाज ग्राउण्डेड भएपछि यात्रुलाई निगमले आफ्नै खर्चमा होटलमा राखको थियो।
'केहीलाई टिकट काटेर पठायौं। बाँकी यात्रुलाई काठमाडौंमै होटलमा राख्यौं,' उनले भने।
निगमका प्रवक्ता पुनका अनुसार विमानको एउटा इञ्जिनमा दुई/तीन दिनदेखि नै समस्या थियो। त्यही भएर निगमले इञ्जिन बनाउन आवश्यक स्पेयर पार्टस मगाइसकको थियो।
शुक्रबार नियमित चेकजाँचका क्रममा अर्को इञ्जिनमा पनि प्राविधिक समस्या देखिएपछि उडान सकिएको थिएन। अहिले भने दुवै इञ्जिनको समस्या समाधान भइसकेको छ।
'शनिबार बिदाले गर्दा भन्सार क्लियरेन्स भएन। आइतबार भन्सार क्लियरेन्स गरेर मर्मत कार्य सुरू गर्यौ,' उनले भने।
निगमले न्यूनतम मात्रामा स्पेयर पार्टस् स्टकमा राख्ने गरेको छ। तत्काल आवश्यक पर्दा खार्वजनिक खरिद ऐनअनुसार प्रक्रिया पूरा गर्नुपर्ने भएकाले ल्याउन समय लाग्ने जनाएको छ।
निगमले यात्रुलाई उडान रद्दबारे जानकारी दिएको उनले बताए।
'वेबसाइटबाट टिकट काट्ने यात्रुलाई उडान रद्दबारे पूर्व जानकारी हुन्छ,' उनले भने, 'तर कतिपय यात्रुले ट्राभल एजेन्सीबाट पनि टिकट काट्छन्। हामीले एजेन्सीलाई त जानकारी दिएका हुन्छौं, तर उनीहरूले यात्रुलाई जानकारी दिन ढिलाई गर्दा समस्या आउँछ।'
यात्रु धेरै आक्रोश हुने भएकाले उनीहरूको व्यवहारलाई निगमले सामान्य रूपमा लिने गरेको उनले बताए।