नेपाल वायुसेवा निगम (एनएसी)को 'लुम्बिनी' न्यारोबडी जहाज इञ्जिन फेरेर फर्कने भएको छ।
दुई वर्षदेखि भाडाको इञ्जिन राखेर चलिरहेको लुम्बिनी न्यारोबडी गत पुसको मध्यमा इञ्जिन फेर्न इसराइल लगिएको थियो।
विगत दुई वर्षदेखि इसराइलमा 'लुम्बिनी' न्यारोबडी जहाजको इञ्जिन मर्मतको लागि थन्किएको थियो।
यसबीच लुम्बिनी न्यारोबडी जहाजमा भाडाको इञ्जिन जडान गरेर चलाइएको थियो।
२०८० पुस २६ गते निगमको न्यारोबडी 'लुम्बिनी' विमानको दुई वटा इन्जिन मर्मतका लागि इसराइल लगिएको थियो।
इञ्जिन लगिएको दुई वर्षपछि सोमबार जहाज फर्कन लागेको निगमका प्रवक्ता देवेन्द्र पुनले सेतोपाटीलाई जानकारी दिए।
'जहाज उताबाट हिडिसक्यो,' उनले भने, 'आज राति(सोमबार) आइपुग्छ।'
इञ्जिन मर्मतमा लागेको खर्च भने अहिले यकिन नभइसकेको उनले बताए। उनले भने, 'जहाज आइसकेकै छैन। खर्च हिसाब गर्नै बाँकी छ।'
इसराइलमा इन्जिन जडान तथा आवश्यक प्राविधिक जाँच–प्रक्रिया पूरा भएपछि जहाज फिर्ता ल्याउन लागिएको हो।
सरकारी स्वामित्वको इसराइल एरोस्पेस इन्डस्ट्रिज लिमिटेड (आइएआई) ले जहाजको इञ्जिन मर्मत गरेको हो।
जहाज सञ्चालनमा फर्किएसँगै निगमको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय उडान व्यवस्थापन थप सुदृढ हुने अपेक्षा गरिएको छ।