अमेरिकामा ८ जना सवार एउटा निजी विमान दुर्घटना भएको छ।
अमेरिकाको मेन राज्यको बांगोर सहरस्थित बांगोर अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार साँझ पौने ८ बजे निजी विमान दुर्घटना भएको हो।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार विमान टेकअफको समयमा दुर्घटना भएको हो।
अमेरिकाको संघीय उड्डयन प्राधिकरणले उक्त विमान बम्बार्डियर च्यालेन्जर ६५० मोडलको व्यावसायिक विमान रहेको पुष्टि गरेको छ।
विमानमा ८ जना सवार थिए। उनीहरुको अवस्थाबाट तत्काल विवरणहरू सार्वजनिक भएका छैनन्।
बाङ्गोर विमानस्थल प्रशासनले आइतबार साँझ करिब ७:४५ बजे (स्थानीय समय) आपतकालीन उद्धार टोली घटनास्थलमा खटिएको जनाएको छ। दुर्घटनापछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।
एफएएले जारी गरेको विज्ञप्तिमा दुर्घटनाको छानबिन एफएएसँगै राष्ट्रिय यातायात सुरक्षा बोर्डले संयुक्त रूपमा गर्ने जानकारी दिएको छ।
यो दुर्घटना उत्तरपूर्वी अमेरिकामा फैलिरहेको भीषण हिमआँधीको बीचमा भएको हो। मेन राज्यमा तापक्रम शून्यभन्दा निकै तल झरेको छ भने हल्का हिमपातका कारण भिजिबिलिटी अत्यन्तै कम रहेको जनाइएको छ।
संघीय अभिलेखअनुसार उक्त निजी जेट टेक्सासको ह्युस्टनमा दर्ता भएको एक सीमित दायित्व कम्पनी (एलएलसी) को नाममा रहेको बताइएको छ।
दुर्घटनाको कारणबारे आधिकारिक विवरण आउन बाँकी रहेको पनि सिएनएनले जनाएको छ।