भारतको पुणेस्थित बारामति विमानस्थलमा बुधबार बिहान भएको जहाज दुर्घटनामा नेश्नलिस्ट कंग्रेस पार्टीका अध्यक्ष एवम् महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको मृत्यु भएको छ।
पवार र उनका दुई जना सुरक्षाकर्मी र चालक दलका दुई सदस्यसहित पाँच जनाको मृत्यु भएको दुर्घटनाको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
नागरिक उड्डयन प्राधिकरण महानिर्देशकको कार्यालय (डिजिसिए)ले बारामतिको हवाईमार्ग अस्थिर भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।
उक्त विमानले बिहान ८:१८ बजे रनवे-११ मा अवतरणको पहिलो प्रयास गरेको थियो।
पाइलटले एटिसीसँग अवतरणका लागि सम्पर्क गर्दै भिजिबिलिटी र हावाको दिशाबारे सोधेका थिए।
एटिसीले हावा शान्त रहेको र भिजिबिलिटी ३००० मिटर रहेको जानकारी दिएपछि पाइलटले अवतरण प्रयास गरेका थिए। तर रनवे नदेखिएको भन्दै विमानले 'गो-अराउन्ड' गरेको थियो।
अवतरणको प्रयास बीचमै रोकेर विमानलाई फेरि सुरक्षित उचाइमा उडाउने र अर्को पटक अवतरण प्रयास गर्ने प्रक्रिया हो 'गो अराउन्ड'।
८:२३ बजे दोस्रो पटकको प्रयासको केहीबेरमै विमान धावनमार्ग बाहिर दुर्घटनाग्रस्त भएको भनेर डिजिसिएको प्रारम्भिक रिपोर्टलाई उद्धृत गरेर बिबिसीले लेखेको छ।
दोस्रो पटक पनि पाइलटले हावा र भिजिबिलिटी सोधेका थिए। तर एटिसीले क्लियर छ भनेर जबाफ दिए पनि जहाजबाट कुनै प्रतिक्रिया नआएको भनिएको छ।
विमान रनवे ११ को थ्रेसहोल्ड नजिकै बायाँतर्फ खसेको पाइएको मन्त्रालयले जनाएको छ।
घटनापछि आपतकालीन सेवाहरू तुरुन्तै परिचालन गरिएको थियो। दुर्घटनाको छानबिन विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले सम्हालेको छ र एएआईबीका महानिर्देशकसहितको टोली घटनास्थलतर्फ पुगेको बताइएको छ।
मन्त्रालयका अनुसार दुर्घटनाग्रस्त विमान भिटी-एसएसके, लियरजेट ४५ श्रेणीको चार्टर विमान हो। विमान मुम्बईबाट बारामतीतर्फ उडानमा थियो।
क्यानाडाली कम्पनी बम्बार्डियर एरोस्पेसले निर्माण गरेको यो मध्यम आकारको बिजनेस जेटमा अधिकतम आठ यात्रु बस्न सक्ने क्षमता हुन्छ।
दुईवटा हनीवेल टिएफइ७३१ टर्बोफ्यान इन्जिन जडान गरिएको यो विमान साना रनवे भएका विमानस्थलमा समेत अवतरण गर्न सक्षम मानिन्छ।
विमान दिल्लीस्थित विएसआर भेन्चर्स एभिएसन कम्पनीको स्वामित्वमा रहेको र यसको निर्माण सन् २०१० मा भएको हो। कम्पनीको अन्तिम नियामक अडिट फेब्रुअरी २०२५ मा डीजीसीएले गरेको र कुनै कमजोरी नदेखिएको जनाएको छ।
विमानमा दुई सदस्यीय चालक दल सवार थिए। एक पाइलट एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्सधारी थिए, जसको उडान अनुभव करिब १५ हजार घण्टा थियो।
अर्का पाइलटसँग कमर्सियल पाइलट लाइसेन्स रहेको र करिब १५ हजार घन्टा उडान अनुभव रहेको मन्त्रालयले जनाएको छ।
दुर्घटनाप्रति भारतका प्रधानमन्त्री, महाराष्ट्रका मुख्यमन्त्री तथा उपमुख्यमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरूले शोक व्यक्त गरेका छन्।
महाराष्ट्र सरकारले तीन दिनको राजकीय शोक घोषणा गरेको छ।
छानबिनबाट थप तथ्य सार्वजनिक भएपछि विस्तृत विवरण उपलब्ध गराइने उड्डयन मन्त्रालयले जनाएको छ।