निजी वायुसेवा कम्पनी बुद्ध एयरले प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ।
कम्पनीले 'एभरेष्ट एक्सपेरियन्स' उडानमा एकै टिकटमा दुई जना उड्न मिल्ने योजना ल्याएको हो।
हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसलाई लक्षित गर्दै ल्याइएको यस अफरअन्तर्गत जोडीहरूले १४ हजार दुई सय ५६ रूपैयाँमा सगरमाथासहित विभिन्न हिमशृङ्खलाहरूको अवलोकन गर्न सक्नेछन्।
उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरू भई करिब एक घण्टाको हिमाली दृश्यावलोकनपछि पुनः काठमाडौंमै अवतरण हुनेछ।
उडानमा सहभागी प्रेमिल जोडीहरूलाई गुलाबको फूल, चकलेटलगायत विशेष उपहारसमेत प्रदान गरिने बुद्ध एयरले जनाएको छ।
विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि हिमालको काखमा अविस्मरणीय प्रेम क्षण सिर्जना गर्ने उद्देश्यले यो प्याकेज ल्याइएको कम्पनीको भनाइ छ।
यस अफरअन्तर्गत सिट संख्या सीमित रहेकाले इच्छुक यात्रुहरूलाई समयमै टिकट बुक गर्न बुद्ध एयरले अनुरोध गरेको छ।
टिकट बुकिङ बुद्ध एयरको आधिकारिक वेबसाइट, मोबाइल एप तथा नजिकैको सेल्स काउन्टरमार्फत गर्न सकिनेछ।