त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आपसास क्षेत्रमा एक महिनासम्म निषेधाज्ञा जारी गरिएको छ।
बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले विज्ञप्ती जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास एक महिनासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिएका छन्।
प्रजिअ पौडेलले बिहीबार नै दुइटा विज्ञप्ती जारी गरी विमानस्थल आसपास हुने भनिएको कार्यक्रमबारे काठमाडौं प्रशासनको ध्यानाकर्षण भएको जनाएका छन्।
राप्रपाका नेताहरू र दुर्गा प्रसाईं लगायतले पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्कंदा त्रिभुवन विमानस्थलमा शुक्रबार स्वागत गर्ने भन्दै आह्वान गरेका थिए।
सोही विषयमा ध्यानाकर्षण जनाउँदै प्रजिअ पौडेलले म सरकारका सम्बद्ध निकायहरु निर्वाचनतर्फ परिचालित भएको स्थितिमा फागुन १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासको क्षेत्रमा केही प्रदर्शन, भेलाजम्मा र ऱ्यालीजस्ता गतिविधि गर्ने भनेर केही समूह तथा राजनीतिक दलबाट विज्ञप्ति र सामाजिक सञ्जालमा सूचना जारी भएको पाइएको बताएका छन्।
त्यसबारे काठमाडौं प्रशासनमा कसैबाट पनि जानकारी गराउने वा पूर्वस्वीकृति लिने काम भने नभएको पनि उनले बताएका छन्।
अर्को विज्ञप्तीमा यस्ता कार्यक्रमले अन्तर्राष्ट्रिय विमानस्थल जस्तो अत्यन्त संवेदनशील क्षेत्र र सो आसपासको क्षेत्रमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने अवस्थालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरिएको प्रशासनको भनाइ छ।
विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्र लगायतको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रजिअ पौडेलले जानकारी दिएका छन्।
ती क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) को व्यवस्था बमोजिम मिति २०८२/१०/२९ गतेदेखि लागु हुने गरी अर्को व्यवस्था नभएसम्म १ (एक) महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ।
साथै निषेध आदेश जारी गरिएका क्षेत्र बाहेकका स्थानमा नेपालको संविधान बमोजिम प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता एवम् बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला जम्मा भई विरोधका कार्यक्रममा सहभागी हुन पाउने हक रहेको प्रति स्थानीय प्रशासन सदैव प्रतिवद्ध रहेको प्रशासनले जनाएको छ।
-1770872675.jpg)