मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द भएका छन्।
अमेरिका-इसराइल र इरानबीच भइरहेको तनावका कारण विश्वभरिका उडानहरू प्रभावित भएका छन्। यसरी हवाइ क्षेत्र प्रभावित हुँदा नेपालका उडानहरू समेत प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार शनिबार मात्रै १८ वटा हवाइ उडान प्रभावित भएका छन्। जसकारण करिब ३ हजार यात्रुलाई असर परेको छ।
नेपाल एयरलाइन्सको तीन वटा उडानहरू काठमाडौंदेखि दमाम, काठमाडौंदेखि दोहा र काठमाडौंदेखि दुबई उड्ने उडान रद्द भएका थिए। यी फ्लाइटमा ५०० यात्रु रहेको भूलले जानकारी दिए।
त्यस्तै कतार एयरलाइन्सको चार वटा फ्लाइट रद्द हुँदा करिब ८०० यात्रु प्रभावित भएका थिए।
फ्लाइ दुबईको पनि चार वटा उडान रद्द हुँदा करिब ६०० यात्रु प्रभावित भएको प्राधिकरणले जनाएको छ।
त्यसैगरी एयर अरबियाको शारजाह जाने दुई वटा फ्लाइटका करिब ३०० यात्रु, दमाम जाने हिमालय एयरलाइन्स ३ वटा फ्लाइटका करिब ५०० यात्रु र कुवेत जाने दुई वटा फ्लाइटमा ३०० यात्रु प्रभावित भएका हुन्। शनिबार बेलुकी त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड लागेको थियो। उडान रद्द भएपछि घन्टौं बसेर उनीहरू पुनः घर फर्किएका थिए।
विश्वकै व्यस्तमध्येको मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको छ। त्यहाँ इरानले ड्रोन हमला गर्दा विमानस्थलमा क्षति समेत भएको छ।
खाडीका विभिन्न मुलुकहरू इरान-इसराइल तनावको चपेटामा परेपछि त्यसको प्रभाव नेपालमा पनि परेको छ।
आइतबार पनि उडानहरू प्रभावित हुनसक्ने सूचना अधिकारी भूलले जानकारी दिए।
उनका अनुसार कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी, साउदी अरबको दमाम र रियादका विमानस्थल बन्द छन्।
यसो हुँदा आइतबार पनि त्यसतर्फका फ्लाइट नचल्ने उनले बताए।
‘यी क्षेत्रका फ्लाइटहरू आज पनि नचल्न सक्छन्। आज पनि करिब १४ वटा फ्लाइट रद्द हुने सम्भावना छ,’ उनले भने।
यसैगरी टर्किस एयरलाइन्सको फ्लाइट भने नियमित चलिरहेको उनले बताए।
‘टर्किस एयरलाइन्सको जहाज प्रभावित हुन्छ भनेर उसले उत्तरतिरबाट रि-रूट गरेको छ। आज पनि सञ्चालन हुन्छ। यात्रुहरूले आफ्नो एयरलाइन्समा सम्पर्क गर्दा हुन्छ, ’ भूलले भने।