चितवनको नारायणगढस्थित होटल सिराइचुली नारायपणगढले अन्तर्राष्ट्रिय होटल ब्रान्ड 'बेस्ट वेस्टर्न' होटल्स एण्ड रिसोर्टसँग होटल व्यवस्थापन सम्झौता गरेको छ।
आइतबार भएको सम्झौताअनुसार अब होटल सिराइचुली नारायणगढलाई बेस्ट वेस्टर्न ब्रान्डअन्तर्गत सञ्चालन गरिनेछ।
यससँगै होटलमा अन्तर्राष्ट्रिय स्तरको सेवा प्रणाली, व्यवस्थापन दक्षता तथा विश्वव्यापी मार्केटिङ पहुँच विस्तार हुने विश्वास गरिएको छ।
यो सहकार्यले होटल सिराइचुलीको नेपाली आतिथ्य परम्परालाई बेस्ट वेस्टर्नको विश्वस्तरीय सेवा मापदण्ड, लोयल्टी कार्यक्रम तथा अन्तर्राष्ट्रिय आरक्षण प्रणालीसँग जोड्ने लक्ष्य राखिएको छ।
यसबाट होटलमा बस्ने पाहुनाले स्तरीकृत सेवा, सुधारिएको सुविधा तथा विश्वव्यापी बुकिङ नेटवर्कको पहुँच पाउने जनाइएको छ।
होटलका प्रतिनिधिले यो सहकार्यलाई संस्थाको विकासका लागि महत्वपूर्ण कदम भएको बताएका छन्।
त्यस्तै, 'बेस्ट वेस्टर्न' होटल्स नेपाल’का प्रमुख सञ्चालन अधिकृत अञ्जन बाग्लेले होटल सिराइचुलीलाई आफ्नो सञ्जालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए।
उनका अनुसार होटलको उत्कृष्ट स्थान, सुविधा र सेवाप्रतिको प्रतिबद्धताले यसलाई ‘बेस्ट वेस्टर्न’ नेटवर्कका लागि उपयुक्त बनाएको छ।
नारायणगढ चितवन क्षेत्रको प्रमुख व्यापारिक केन्द्रका साथै पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य मानिन्छ।
होटल व्यवस्थापन प्रणाली बेस्ट वेस्टर्नमा रूपान्तरण भने चरणबद्ध रूपमा गरिने बताइएको छ, जसले पाहुनालाई सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी नयाँ प्रणाली लागु गरिनेछ।