दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ।
सोमबार दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक इरानले गरेको ड्रोन आक्रमणका कारण केही समय विमानस्थल अवरुद्ध भएको थियो।
उक्त घटनापछि फ्लाई दुबईले नेपालबाट हुने उडान रद्द गरेको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ।
ड्रोन आक्रमण भएको करिब दुई–तीन घण्टापछि नै विमानस्थल खुलाइएको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सो विमानस्थलबाट सोमबार राति ११ बजे काठमाडौं आउने र यहाँबाट राति १२ः३० बजे फर्कने तालिका थियो।
तर उक्त उडान अन्ततः मंगलबार बिहान ८ बजे मात्र सञ्चालन भएको छ।
'हिजो रातिको उडान आज बिहान भएको छ,' भुलले भने, 'आज पनि दुबईको उडान तालिका चाहिँ छ। तर समय यकिन भइसकेको छैन।'
उनका अनुसार मंगलबारका लागि पनि विभिन्न वायुसेवा कम्पनीहरूले दुबईतर्फ उडान तालिका राखेका छन्, तर समय भने अझै निश्चित भइसकेको छैन।