खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा परेको छ।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले आज हेलिकप्टर दुर्घटनामा परेको जानकारी दिइन्।
‘हेलिकप्टर दुर्घटना भएको हो, मानवीय क्षति भएको छैन,’ उनले भनिन्।
केपिलासगढी गाउँपालिका २ को बालावेशीमा हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा परेर एक जना घाइते भएका छन्।
मंगलबार दिउँसो १२ बजेर २ मिनेट जाँदा एयर डाइनेस्टीको नाइन एन एएचक्यु हेलिकप्टर दुर्घटनामा परेको हो।
पाइलट सविन थापा र पाँच जना यात्रु चढेको हेलिकप्टर अवतरणका क्रममा हावाको वेगले अनियन्त्रित भई भित्तामा ठोक्किएको खोटाङ प्रहरीले जानकारी दिएको छ।
‘काठमाडौंबाट आमाको कामका लागि परिवारका ५ जना आउनुभएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय खोटाङले भनेको छ, ‘त्यसक्रममा हावाको बेगले अनियन्त्रित भइ हेलिकप्टर पल्टिएको छ।’
तर प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले शव बोकेर हेलिकप्टर आएको बताएकी छन्। जिल्ला प्रहरीले भने आमाको काजकिरियाको लागि आएको परिवार चढेको जानकारी दिएको छ।
हेलिकप्टर ल्याण्ड हुने क्रममा भित्तामा ठोक्किएर पल्टिँदा सोही ठाउँका ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन्।
उनलाई एयर डाइनेष्टीकै अर्को हेलिकप्टर मगाएर उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। चालक थापासहित अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।