नेपाल वायुसेवा निगमले यात्रुहरूको सहजताका लागि काठमाडौं–दुबई–काठमाडौं उडान सञ्चालन गर्ने भएको छ।
निगमका अनुसार काठमाडौंबाट दुबईका लागि आरए २२९ नम्बरको उडान चैत ११ गते राति ११:१५ मा प्रस्थान गर्नेछ।
दुबईबाट काठमाडौंका लागि आरए २३० नम्बरको उडान चैत १२ गते बिहान ४:१० बजे प्रस्थान गर्ने तालिका रहेको छ।
यस्तै, दोस्रो चरणमा आरए २२९ नम्बरको उडान चैत १३ गते राति ११:१५ मा काठमाडौंबाट दुबईका लागि उड्नेछ भने आरए २३० नम्बरको उडान चैत १४ गते बिहान ४:१० बजे दुबईबाट काठमाडौंका लागि प्रस्थान गर्ने निगमले जनाएको छ।
निगमले यात्रुहरूको सुविधा ध्यानमा राख्दै विशेष उडान सञ्चालन गर्न लागिएको जनाएको छ।
'नयाँ फ्लाइट थपेको होइन, यात्रुका सहजताका लागि विशेष फ्लाइट राखिएको हो,' निगमका प्रवक्ता देवेन्द्र पुनले भने।
केही सातादेखि इरान र इसराइलबीचको युद्धले तनाब सृजना भएको छ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक इरानले गरेको ड्रोन आक्रमणका विमानस्थल अवरुद्ध भएपछि त्यहाँ दैनिक उडान हुन सकेको छैन।