अमेरिकाको न्यूयोर्कस्थित ला ग्वार्डिया विमानस्थलमा विमान र दमकल गाडी ठोक्किएको छ।
आइतबार राति अवतरणका क्रममा यात्रुवाहक विमान र दमकल गाडी ठोक्किँदा पाइलट र को–पाइलटको मृत्यु भएको छ भने दर्जनौं यात्रु घाइते भएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।
एयर क्यानडाको विमानले अवतरण गर्ने क्रममा स्थानीय समयअनुसार राति करिब ११:४० बजे विमानस्थलको रनवेमा रहेको उद्धार तथा अग्निनियन्त्रण सवारीसँग ठोक्किएको अधिकारीहरूले जनाएका छन्।
विमानमा ७२ यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए।
प्रारम्भिक विवरणअनुसार ४१ जना घाइतेलाई अस्पताल लगिएकोमा अधिकांशलाई उपचारपछि डिस्चार्ज गरिएको छ।
दमकलमा रहेका दुई जना पनि घाइते भए पनि उनीहरूको अवस्था स्थिर रहेको जनाइएको छ।
अधिकारीहरूका अनुसार उक्त दमकल गाडी अर्को आपतकालीन घटनामा खटिएको थियो।
एउटा अन्य उडानले ककपिटमा अनौठो गन्ध आएको भन्दै सहयोग मागेपछि दमकल रनवे पार गर्दै त्यहाँ जाँदै गर्दा अवतरण गरिरहेको विमानसँग ठोक्किएको सिएनएनले जनाएको छ।
एयर ट्राफिक कन्ट्रोल अडियोअनुसार रनवे पार गर्न अनुमति दिइएको दमकललाई अन्तिम क्षणमा रोक्न आदेश दिइए पनि केही सेकेन्डमै दुर्घटना भएको पुष्टि भएको छ।
ठोक्किएपछि विमानको अगाडिको भागमा गम्भीर क्षति पुगेको छ भने घटनास्थलमा तत्काल उद्धार टोली परिचालन गरिएको थियो। दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ र अनुसन्धानका लागि कम्तीमा सोमबार दिउँसोसम्म उडान स्थगित गरिएको छ।
संघीय उड्डयन कार्यालयले घटनापछि ग्राउन्ड स्टप जारी गरेको छ भने राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान सुरू गरेको छ।
यो घटना अमेरिकाभरका विमानस्थलहरूमा सुरक्षा तथा जनशक्ति अभावको समस्या बढिरहेका बेला भएको हो।
अधिकारीहरूका अनुसार सुरक्षा निकायमा बजेट अभावका कारण कर्मचारीहरू अनुपस्थित हुँदा उडान व्यवस्थापनमा दबाब बढिरहेको छ।
दुर्घटनापछि यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको र परिवारसँग पुनर्मिलन गराइएको जनाइएको छ।