नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा चैत २९ गतेदेखि वैशाख १ गतेसम्म पोखरामा महोत्सव आयोजना हुँदैछ। लेकसाइड (फेवा तालको किनार)मा नयाँ वर्ष महोत्सव आयोजना गर्न लागिएको हो। ४ किलोमिटर लेकसाइड क्षेत्रमा हुने महोत्सवमा यस वर्ष पर्यटन, संस्कृति र खानालाई जोड दिइएको छ।
नेपाली कला, संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशले जनाएको छ।
महोत्सवका लागि पाहुनालाई निम्तो दिन पोखराको एक टोली मंगलबार वीरगञ्ज आइपुगेको छ।
‘जाऔं है पोखरा’ अभियान २०८२ को टोली वीरगञ्ज आएर पूर्वतिर लागेको छ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश र होटल संघ पोखराको टोलीले नयाँ वर्षमा पोखरा घुम्न आउन खुला निम्तो दिएको हो।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल संघ पोखराले ‘जाऔं है पोखरा’ अभियान सञ्चालन गर्दै आएको छ। आन्तरिक पर्यटन नै दिगो पर्यटनको मूल आधार भन्ने मान्यता राखेर २५ वर्षअघि अभियान सुरू गरिएको थियो।
यस वर्ष ‘जाऔं है पोखरा’ अभियान पूर्वी नेपालबाट सुरू गरिएको छ। चैत १३ गतेसम्म सञ्चालन हुने अभियानको टोली वीरगञ्जपछि विराटनगर, इलाम र हेटौंडा पुग्नेछ।
नयाँ वर्षमा पोखरा आउने पर्यटकलाई होटलमा २५ प्रतिशत छुट दिने निर्णय संघले गरेको कोषाध्यक्ष नेत्र प्रसाद पौडेल (रमेश) ले जानकारी दिए।
पर्यटनको राजधानी सहर भनेर चिनिएको पोखराका होटलमा ६ खर्ब रूपैयाँभन्दा बढीको लगानी रहेको अनुमान छ। त्यहाँ रहेका १ हजार २ सय होटलमा करिब ४ हजार पाहुना राख्ने बेड क्षमता छ। १५ हजार मानिसले रोजगारी पाएका छन्।
पोखरामा तालतलैया, हिमश्रृंखलाबाट प्राकृतिक सौन्दर्यताको आनन्द लिन पाइन्छ। बञ्जी जम्प, जिप लाइनिङ, केबलकार, प्याराग्लाइडिङ, अल्ट्रालाइट, क्यानोनिङलगायत सेवाबाट मनोरञ्जन गर्न सकिन्छ। अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, गुप्तेश्वर महादेव मन्दिर, डेभीज फल, बिन्द्यवासिनी मन्दिर, तालबाराही र भद्रकाली मन्दिर, विश्व शान्ति स्तूप, महेन्द्र र गुप्तेश्वर गुफा, सेती नदी तथा अन्नपूर्ण क्षेत्रको पदयात्राले पनि पर्यटकलाई आकर्षित गर्छ।
तीन वर्षअघि स्थापना भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक १० लाख पर्यटकलाई सेवा दिइरहेको छ।
विमानस्थलबाट भुटान र चीनमा उडान हुँदै आएको छ। आन्तरिकतर्फ भद्रपुर र विराटनगरका लागि सिधा हवाई सेवा समेत सञ्चालनमा छ।
देश घुम्ने कुरालाई प्रोत्साहन गर्न ‘जाऔं है पोखरा’ अभियान सञ्चालन गरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
‘धेरै नेपाली नागरिकहरू खाडी मुलुकमा दुःख गर्न जानुभएको छ, उहाँहरू नेपाल आउँदा परिवारलाई देश घुमाउन लैजानुहुन्छ,’ उनले भने, ‘अभियानले देश घुम्ने कुरालाई प्रोत्साहन गरेको छ।’
पाहुनाको सहजताका लागि पोखराबाट ७ वटै प्रदेशमा हवाई सेवा सुरू गर्न पहल समेत गरिरहेको उनले जानकारी गराए।
पश्चिम एसियामा देखिएको तनावका कारण बाह्य पर्यटकको आगमन घटेको र विप्रेषण पनि प्रभावित हुने जोखिम बढेको समयमा अर्थतन्त्र चलायमान बनाउन आन्तरिक पर्यटनमा जोड दिनुपर्ने उनको तर्क छ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रमुख वरिष्ठ निर्देशक मणिराज लामिछानेले वीरगञ्जलगायत मधेशका जिल्ला र सीमावर्ती बिहारमा हुने गर्मी छल्न पर्यटकको गन्तव्य पोखरा बन्न सक्ने बताए।
‘पोखरा सहर मात्रै होइन, केही घण्टाको दूरीमा प्रशस्त घुम्ने ठाउँहरू छन्,’ उनले भने, ‘नयाँ वर्षको समय विद्यालय छुट्टी हुने समय पनि पर्छ, गर्मी छल्नका लागि पोखरा उपयुक्त ठाउँ हुन सक्छ।’
‘जाऔं है पोखरा’ जस्ता अभियानले होटल तथा पर्यटन व्यवसायीहरूबीच सम्बन्ध विस्तारमा समेत योगदान दिने उनको भनाइ छ।
अभियानअन्तर्गत वीरगञ्जमा आयोजित कार्यक्रममा सहभागीहरूले पोखरामा भारतीय पर्यटकलाई हेला गर्ने, ट्याक्सी भाडा मनपरी लिने जस्ता समस्या रहेकोले त्यसमा सुधार ल्याउनुपर्ने बताए। बाटोमा सवारी चेकजाँचको नाममा पर्यटकलाई ठाउँ–ठाउँमा दुःख दिने प्रचलन रहेको उनीहरूको भनाइ छ।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले नेपाल प्रवेश गर्ने बेला गाडी चेकजाँच गरेपछि बाटोमा दुःख दिने कार्यको अन्त्य हुनुपर्ने बताए।