नेपालको व्यवसायिक घराना चौधरी ग्रुपले विश्वप्रसिद्ध होटल समूह म्यारियट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड 'द रिट्ज–कार्लटन' नेपाल ल्याउने घोषणा गरेको छ।
यो नेपालको आतिथ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो लगानीमध्ये एक हो।
सन् १९८३ मा स्थापित रिट्ज–कार्लटन ब्रान्डले हाल ३० देशमा १०८ भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ।
चौधरी ग्रुप अन्तर्गतको सिजी हस्पिटालिटी ग्लोबलले यस ऐतिहासिक लगानीमा रविन्द्र श्रेष्ठ (आई जे ग्रुप), सौरव शर्मा (शर्मा एन्ड कम्पनी), अमृत शाक्य र सञ्चित श्रेष्ठसँग साझेदारी गरेको छ।
रिट्ज–कार्लटन काठमाडौंको भूमिपुजन कार्यक्रम शुक्रबार ठमेलमा सम्पन्न भएको छ।
कम्पनीका अनुसार यस परियोजनामा १५० रुम क्षमता सहितको अल्ट्रा लक्जरी होटल, ब्रान्डेड रेसिडेन्स, व्यवसायिक कम्प्लेक्स र क्यासिनोसमेत रहनेछ।
दरबारमार्ग नजिक ठमेलमा ९ रोपनी जग्गामा विकास भइरहेको यो परियोजनाको अनुमानित लागत करिब १०० मिलियन अमेरिकी डलर रहेको छ।
परियोजना २०२९ को मध्यसम्म पूरा गर्ने लक्ष्य राखिएको छ।
सम्पन्न भएपछि होटलको एक रातको रुम रेट एक हजार अमेरिकी डलरभन्दा बढी रहने अपेक्षा गरिएको छ, जसले नेपाललाई उच्च गुणस्तरीय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने बताइएको छ।
सिजी हस्पिटालिटी र साझेदारहरूले यो परियोजनामार्फत नयाँ सरकारको निजी क्षेत्रप्रतिको विश्वास र लगानी प्रवर्द्धनका लक्ष्यप्रति प्रतिबद्धता देखाएका छन्।
परियोजनाले रोजगारी सिर्जना, लगानी आकर्षण र नेपालको विकासलाई अर्को स्तरमा लैजानमा केन्द्रित रहने लगानीकर्ताहरूको अपेक्षा रहेको छ।
सिजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीका अनुसार रिट्ज–कार्लटनको प्रवेशले चौधरी ग्रुपको नेपालको पर्यटन क्षेत्रमा विश्वस्तरीय स्तरमा योगदान पुर्याउने प्रतिबद्धतालाई पुष्टि गर्छ।
'आजको यो पहल केवल परियोजना उद्घाटनको लागि मात्र होइन; यो युवा सोच, युवा उद्यमीहरूको पहल हो जसले विश्वस्तरीय पर्यटन नेपालमा स्थापित गर्न चाहन्छन्। यो परियोजना नेपालका नयाँ प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार प्रति हाम्रो समर्थन र विश्वासको प्रतीक पनि हो। यस परियोजनामार्फत हामी रोजगार सिर्जना, उच्चस्तरीय पर्यटन प्रवर्द्धन र आर्थिक वृद्धि बढाउन राष्ट्रिय लक्ष्यमा योगदान पुर्याउने लक्ष्य राखेका छौं,' चौधरीले भने।
सिजी हस्पिटालिटी ग्लोबल हाल प्रमुख अन्तर्राष्ट्रिय होटल ब्रान्डहरूसँग साझेदारी गर्दै आफ्नो विश्वव्यापी पहुँच विस्तार गर्दै आएको छ।
हाल सिजी हस्पिटालिटी ग्लोबलको पोर्टफोलियोमा १२ देशका १३० गन्तव्यमा २३० भन्दा बढी होटल तथा रिसोर्ट, र १५ हजारभन्दा बढी रुम क्षमता रहेको छ।