नयाँ वर्ष २०८३ मनाउन पोखराको लेकसाइडमा सडक महोत्सव आयोजना गरिने भएको छ।
ड्यामसाइडदेखि हलनचोकसम्म तीन किलोमिटर सडकमा यातायात बन्द गरेर सडक महोत्सव आयोजना गरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
'पर्यटन, संस्कृति र खाना' नारासहित आयोजना गरिएको महोत्सवमा सडकमै खाना प्रदर्शनी र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
चैत २९ गतेदेखि वैशाख १ गतेसम्म हुने महोत्सवमा ३ लाख पर्यटक सहभागी हुन अपेक्षा गरिएको अध्यक्ष सुवेदीले बताए।
'हामीले विगत २१ वर्षदेखि नयाँ वर्ष मनाउन सडक महोत्सवआयोजना गर्दै आएका छौं। यसपाली अझ परिष्कृत रूपमा मनाउने योजनामा छौं,' उनले भने, 'महोत्सवमा ३ लाख पर्यटक सहभागी हुने हाम्रो अनुमान छ।'
पर्यटकीय नगरी पोखरामा पर्यटक स्तरका होटलहरूमा मात्र ४० हजार बेड छन्।
पोखराको पर्यटन उद्योगमा करिब ८ खर्ब लगानी रहेकोमा ६ खर्ब होटल क्षेत्रमा मात्र रहेको अध्यक्ष सुवेदीले बताए।
उनका अनुसार पोखराका होटलहरूले मात्र १५ हजार जनालाई रोजगारी दिएको छ।
सडक महोत्सवमा पोखरा घुम्न आउने पर्यटकलाई होटलहरूले २५ प्रतिशत छुट दिने निर्णयसमेत गरेको छ।
महोत्सवमार्फत नेपाली मौलिक संस्कृतिको जगेर्ना र परम्परागत खानाको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले बताएको छ।
हाटल संघ पोखराका पूर्व अध्यक्ष विकल तुलाचनले महोत्सवका अवसरमा विविध सांस्कृतिक झाँकी, नृत्य र खानाको स्टल राखिनेछ।
महोत्सवलाई भब्यतापूर्वक सफल बनाउन विभिन्न २० वटा उपसमिति गठन गरेर तयारी गरिएको तुलाचनले बताए।
महोत्सवमा परम्परागत पन्चेबाजा प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता, लोकदोहोरी, पप कन्सर्ट, स्थानीय कलाकारद्वारा सांस्कृतिक नृत्यलगायत कार्यक्रम राखिएका छन्।
नयाँ वर्ष मनाउन होटल संघको नेतृत्वले यसअघि नेपालका पूर्वी भेग पुगेर 'जाउँ है पोखरा'अभियान चलाएको थियो।
पूर्वको झापादेखि वीरगञ्ज हुँदै हेटौंडासम्म स्थानीय व्यवसायी लगायतसँग छलफल गरी पोखरा भ्रमणको निम्ता दिएको अध्यक्ष सुवेदीले बताए।
पोखरामा आयोजना हुने विभिन्न कार्यक्रमहरूमध्ये नयाँ वर्षको सडक महोत्सवको छुट्टै पहिचान बनेको नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछानेले बताए।
पर्यटनसँग नेपाली संस्कृति र परम्परागत खानालाई जोड्न होटल संघले आयोजना गरेका यस्ता कार्यक्रमले देशको आर्थिक उन्नतिमा योगदान पुऱ्याएको लामिछानेले बताए।
'पर्यटनसँग स्थानीय संस्कृति र खाना जोड्न होटल संघले गरेको पहलकदमी प्रशंसनीय छ,' उनले भने, 'यस्ता कार्यक्रमले पर्यटनको प्रवर्द्धनका साथै देशको आर्थिक उन्नतिमा ठूलो योगदान पुऱ्याएको हुन्छ।'