जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारले अध्ययन समिति गठन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस’ ले मंगलबार मन्त्रालयका सचिवको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो।
समितिका सदस्यहरूमा जानकी मन्दिरका अनुसन्धाता, जनकपुर उपमहानगरपालिकाका प्रतिनिधी (कर्मचारी), पुरातत्व विभागका प्रतिनिधि र कानुन व्यवसायी छन्।
समितिले ६ महिनाभित्र संरक्षित क्षेत्र घोषणा गर्न अध्ययन प्रतिवेदन पेस गर्ने सांसद मनिष झाले बताए।
‘जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारले अध्ययन समिति गठन गरेको छ। समितिले ६ महिनाभित्र कति क्षेत्रफललाई संरक्षित क्षेत्र घोषणा गर्ने भनेर प्रतिवेदन दिन्छ,’ झाले भने, ‘त्यसपछि बल्ल प्रक्रिया अघि बढ्छ।’
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता एवं जनकपुरबाट निर्वाचित सांसद झा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्न माग गर्दै मंगलबार पर्यटन मन्त्री पौडेललाई भेट्न पुगेका थिए। मन्त्रीसँग प्रस्ताव राख्ने वित्तिकै अध्ययन समिति गठन गरेको सांसद झाले बताए।
विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहिला संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने उनले बताए। यसका लागि जनकपुर उपमहानगरले जानकी मन्दिरसहित क्षेत्र समेटेर नक्सा तयार पार्ने र अध्ययन समितिको रिपोर्ट सहित उक्त नक्सा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने सांसद झाले बताए। मन्त्रिपरिषदले संरक्षित क्षेत्र घोषणा गरेर विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्ताव गर्ने र युनेस्कोले थप अध्ययन गरेर निर्णय गर्ने उनले बताए।
अहिले अध्ययन गर्नका लागि करिब ५० लाख गर्च हुने र उक्त रकम जनकपुर उपमहानगरले बेहोर्ने, अन्तर्राष्ट्रिय स्तरको अध्ययन प्रतिवेदन बनाउन करिब २ करोड खर्च लाग्ने र त्यसका लागि संघीय सरकारले सहयोग गर्ने गरी काम अघि बढाउने सहमति भएको पनि सांसद झाले बताएका छन्।
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रधानमन्त्री बालेन शाहसँग पनि आफूले प्रस्ताव राखेको उनले बताए। माघ ५ गते मधेस प्रदेशबाट निर्वाचित सांसदहरूसँग प्रधानमन्त्री शाहले गरेको छलफलमा झाले उक्त प्रस्ताव राखेका थिए।
‘मैले प्रधानमन्त्री ज्यूसँग चुनावमा जनकपुर गएर गर्नुभएको भाषण स्मरण गराएँ। जनकपुरको पर्यटन विकास गर्न विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने धारणा राखेँ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यू यसमा सकारात्मक हुनुहुन्छ, यो काम गरौं भन्नुभएको छ।’
जानकी मन्दिरलाई हिन्दु धर्ममा लोकप्रिय रामायणकी सीता जन्मिएका स्थानका रूपमा व्याख्या गरिएको छ।
मैथिली सभ्यताको धरोहरका रूपमा रहेको जनकपुरधाममा जन्मिएकी सीताले रामसँग विवाह गरेर अयोध्याकी रानी बनेको रामायणमा उल्लेख छ।
विगतमा पनि सरकारले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरे पनि सार्थकता पाउन सकेको छैन।