भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा जोगाउन आफ्ना नागरिकलाई विदेश भ्रमण नगर्न, सुन नकिन्न, कच्चा तेलको प्रयोग घटाउन र सकेसम्म घरबाटै काम गर्न आह्वान गरेका छन्।
हैदराबादमा वैशाख २७ गते आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति जोगाउन यस्तो अपिल गरेका थिए।
अमेरिका–इसराइल–इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र वृद्धि भएपछि विदेशी मुद्रा जोगाउन यस्तो आग्रह गरिएको हो।
उनले यसलाई देशभक्तिका रूपमा व्याख्या गर्दै नागरिकलाई आनीबानी परिवर्तन गर्न अपिल गरेका थिए।
उक्त अपिलपछि विदेश भ्रमण गर्ने भारतीयमध्ये केही स्वदेशमै रोकिएका छन्, केही डलरमा भुक्तानी गर्न नपर्ने नेपाल जस्ता गन्तव्यतर्फ आकर्षित भएका छन्।
यसैबीच पोखरामा भारतीय पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको छ।
-ink-1780224771.jpeg)
कसाइड क्षेत्रमा भारतीय सवारी साधनहरू नेपाली सवारीसाधनसँगै समान रूपमा देखिन थालेका छन्। भारतीय गाडीको लर्कोले साँघुरा सडकमा जामसमेत हुन थालेको छ।
फुटपाथदेखि फेवाताल किनारसम्म भारतीय पर्यटकको उपस्थिति नेपालीभन्दा बढी देखिएको व्यवसायीहरू बताउँछन्।
भारतका दिल्ली, उत्तर प्रदेश, विहार लगायत राज्यहरूमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेका बेला पोखरा उनीहरूका लागि शीतल गन्तव्य बनेको छ।
पोखराको लेकसाइडस्थित बरपिपल रिसोर्टका सञ्चालक जितु गुरूङका अनुसार विगत दुई सातादेखि होटलहरू लगातार भरिएका छन्। ४५ कोठा भएको रिसोर्ट अझै एक सातासम्म पूर्ण बुकिङमा रहेको उनले बताए।
'गर्मीबाट बेहाल भएका भारतीय पर्यटक अहिले पोखरा ओइरिएका छन्,' उनले भने, 'यहाँको हावापानी र प्राकृतिक सौन्दर्यमा उनीहरू रमाएका छन्।'
होटल क्रिष्टल प्यालेसका सञ्चालक नेत्रप्रसाद पौडेल 'रमेश' का अनुसार उनको होटल दुई सातादेखि भरिभराउ छ। पाहुनामध्ये करिब ६० प्रतिशत भारतीय छन् भने बाँकी नेपाली र बंगलादेशी पर्यटक छन्। होटल अझै केही दिन पूर्ण रूपमा बुक रहने उनले बताए।
उनका अनुसार भारतमा बढ्दो गर्मी मात्र होइन, सरकारी बिदा पनि पोखरा आउने पर्यटक वृद्धिको कारण हो।
'गर्मी छल्न आउने अधिकांश भारतीय पर्यटक मुक्तिनाथ पुगेर फर्किन्छन्,' उनले भने, 'पहिलो पटक आउनेहरू यहाँको मौसम, सुविधा र प्राकृतिक सौन्दर्यबाट प्रभावित हुन्छन्।'
-ink-1780224771.jpeg)
होटल संघ पोखराका कोषाध्यक्षसमेत रहेका रमेशका अनुसार पर्यटकस्तरका होटलहरूमा अहिले ९० प्रतिशतभन्दा बढी अकुपेन्सी छ।
नेपाली पर्यटकको संख्या पनि उल्लेख्य छ, विशेषगरी लगातार चार दिनको बिदाका कारण। तेस्रो विश्वका पर्यटक र चिनियाँ पर्यटक भने न्यून छन्।
व्यवसायीहरूले भारतीय पर्यटक वृद्धिको कारण बहुआयामिक रहेको बताएका छन्।
मध्यपूर्वमा जारी युद्ध, एसियाका अन्य देशहरूमा बढ्दो गर्मी, तथा नेपाल यात्रा सजिलो हुनु प्रमुख कारण मानिन्छ।
'दुबई जाने भारतीय पर्यटकहरू पनि अहिले नेपाल आइरहेका छन्,' रमेशले भने, 'भारत सरकारले डलर सटहीमा गरेको कडाइ, नेपालमा भारतीय रूपैयाँ र क्युआर भुक्तानीको सुविधा, भिसा नलाग्ने व्यवस्था र आफ्नै गाडी लिएर आउन सकिने कारणले नेपाल आकर्षक बनेको छ।'
नेपालका सडक सुधार भएको कारण पनि निजी सवारीसहित यात्रा गर्न चाहने परिवार र युवाहरू उत्साहित भएका छन्।
पोखरा आउने अधिकांश पर्यटक वीरगञ्ज र सुनौली नाका हुँदै प्रवेश गर्छन्।
होटल संघका अनुसार पोखरामा १,२०० पर्यटकस्तरका होटल छन् र करिब ४० हजार बेड क्षमता छ। पर्यटन क्षेत्रमा करिब ६ खर्ब रूपैयाँ लगानी रहेको अनुमान छ।
ट्रेकिङ सिजन सकिएपछि भारतीय पर्यटकको वृद्धि व्यवसायीका लागि महत्वपूर्ण राहत बनेको छ।
पर्यटन व्यवसायीहरूका अनुसार अफ सिजनमा देखिएको यो चाप विगतको प्रवर्द्धन अभियानसँग पनि जोडिएको छ।
होटल संघ पोखराले भारतका विभिन्न शहरमा वर्षौंदेखि 'चलिए पोखरा' अभियान सञ्चालन गरेको थियो।
'गर्मी से बेहाल, चलो नेपाल भन्ने नारा हामीले भारतका सहरहरूमा पुर्याएका थियौं,' रमेशले भने, 'त्यसको प्रभाव अहिले देखिएको हुन सक्छ।'
यो अभियान कोभिड–१९ पछि पर्यटन बोर्डको कार्यविधिका कारण रोकिएको छ।
भारतमा प्रवर्द्धन गर्न दूतावासमार्फत सम्झौता गर्नुपर्ने र कार्यक्रम खर्च उतै पठाउनुपर्ने नियमका कारण विनियोजित बजेट खर्च हुन नसकेको उनले बताए।
गत वर्ष ३५ लाख र यस वर्ष २५ लाख रूपैयाँ विनियोजन भए पनि बजेट फ्रिज भएको छ।
उनका अनुसार प्रवर्द्धन अभियान पुनः सुरू गर्न सकिए अफ सिजनमा पनि पर्यटक निरन्तर आउन सक्ने सम्भावना छ।
उत्तर प्रदेशका राजेश भोरा मिहिरले नेपाल यात्रा सहज भएको बताए।
'डलर चाहिँदैन, क्युआर र भारतीय रूपैयाँ चल्छ,' उनले भने, 'आफ्नै गाडी लिएर आउन पाइने भएकाले सजिलो छ।'
भारतका प्रधानमन्त्री मोदीले डलर बचत गर्न गरेको अपिल पनि आफूले त्यही सन्दर्भमा बुझेको उनले बताए।
'प्रधानमन्त्रीले अत्यावश्यक बाहेक विदेश नजान भन्नुभएको हो,' उनले भने, 'नेपाल आउन डलर चाहिँदैन।'
-ink-1780224771.jpeg)