महिला पर्यटन व्यवसायी सञ्जालले पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले कोशी प्रदेशमा प्रवर्द्धनात्मक भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।
नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालित कार्यक्रममा पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीहरूले इलामको श्री अन्तु, बराहक्षेत्र, कोशी ब्यारेजलगायत गन्तव्यको अवलोकन गर्दै स्थानीय सरकार, पर्यटन व्यवसायी र समुदायसँग पर्यटन विकासका सम्भावना र चुनौतीबारे छलफल गरेका हुन्।
श्री अन्तुमा आयोजित कार्यक्रममा सञ्जालकी अध्यक्ष जया बरालले कोशी प्रदेश प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको बताउँदै कृषि पर्यटन, स्थानीय संस्कृति र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिइन्।
उनले पर्यटन क्षेत्रका विद्यमान चुनौती समाधान गर्न सरकारी र निजी क्षेत्रबीचको साझेदारी अझ सुदृढ हुनुपर्ने उल्लेख गर्दै पर्यटनलाई स्थानीय आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गर्न सबै सरोकारवालाको साझा प्रतिबद्धता आवश्यक रहेको बताइन्।
कार्यक्रममा स्थानीय पर्यटन व्यवसायीहरूले पूर्वी नेपालका कम परिचित गन्तव्यहरूको प्रभावकारी प्रवर्द्धन गर्न सके ग्रामीण क्षेत्रमा पर्यटनको लाभ विस्तार हुने धारणा राखेका थिए। सहभागीहरूले पर्यटन पूर्वाधार विकास, होमस्टे प्रवर्द्धन तथा स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्।