नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्ष पदमा पर्यटन व्यवसायी तथा एभरेस्ट मिराकल ट्राभल्स एण्ड टुर्सका सञ्चालक भरत जंग पाण्डेले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
नाट्टा नेपालको पर्यटन व्यवसायीहरूको अग्रणी तथा प्रतिनिधिमूलक संस्था हो।
नेपालको पर्यटन उद्योगमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका पाण्डे अनुभवी, शिक्षित, दूरदर्शी तथा व्यावसायिक नेतृत्वका रूपमा परिचित छन्।
पर्यटन व्यवसाय सञ्चालन, संस्थागत विकास, अन्तर्राष्ट्रिय साझेदारी विस्तार तथा उद्योगका विविध पक्षमा उनले हासिल गरेको अनुभवले उनलाई पर्यटन व्यवसायीहरूमाझ एक विश्वासिलो र सक्षम नेतृत्वका रूपमा स्थापित गरेको छ।
पाण्डेले नाट्टा को २०२०–२०२२ कार्यसमितिमा सदस्यका रूपमा सेवा दिँदै संस्थाको संस्थागत विकास, व्यवसायीहरूको साझा हित संरक्षण तथा पर्यटन क्षेत्रका विविध मुद्दामा सक्रिय भूमिका निर्वाह गरका थिए।
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै पाण्डेले नाट्टा लाई अझ सशक्त, आधुनिक, प्रभावकारी तथा सदस्यकेन्द्रित संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले पर्यटन व्यवसायीहरूको हकहित संरक्षण, सरकार तथा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय, पर्यटनसम्बन्धी नीतिगत सुधार, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, डिजिटल रूपान्तरण, युवा उद्यमीहरूको नेतृत्व विकास तथा सदस्य सेवाको गुणस्तरीय विस्तारलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन्।