बुटवलको आकाशमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ।
लुम्बिनी इगल एयर एडभेन्चर प्रालिले बाबु एडभेन्चर प्याराग्लाइडिङ प्रालि स्याङ्जाको प्राविधिक सहयोगमा आइतबार परीक्षण उडान गरेको हो।
आइतबार रूपन्देही र पाल्पाको सिमाना रहेको नुवाकोट डाँडाबाट परीक्षण उडान गरिएको थियो।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने नुवाकोट डाँडाबाट बुटवल उपमहानगरपालिका वडा नं. १३ बदेल पोखरीसम्म सफलतापूर्वक परीक्षण उडान गरिएको लुम्बिनी इगल एयर एडभेन्चर प्रालिका अध्यक्ष डा. किसन थापाले बताए।
थापाका अनुसार आइतबार प्याराग्लाइडिङका ७ जना पाइलटले नुवाकोट डाँडाबाट उडान गरी बुटवल बजार अवलोकन पछि बंदेल पोखरीमा लगेर सफलतापूर्वक अवतरण गरेका थिए।
सात जना पाइलटले दुई दुई पटक गरी १४ पटकको परीक्षण उडान सफल भएपछि बुटवलमा प्याराग्लाइडिङको व्यावसायिक उडान गर्न सकिने आशा जागेको उनले बताए।
‘परीक्षण उडान सफल भएपछि अबको केही समयपछि बुटवलमा व्यावसायिक उडान सुरू गर्ने योजना बनाएका छौँ,’ थापाले भने।
थापाका अनुसार लुम्बिनी इगल एयर एडभेन्चर प्रालिले प्याराग्लाइडिङका लागि बुटवल क्षेत्रमा विगत १० वर्ष भन्दा पहिलेदेखि अध्ययन गर्दै आएको थियो।
लामो समयको अध्ययनपछि परीक्षण सफल भएको उनले बताए।
‘यो स्थानमा अध्ययन गर्न थालेको १० वर्षभन्दा बढी भयो, विज्ञ पाइलटहरूको टोलीलाई लिएर यो क्षेत्रका सबैजसो अग्ला डाँडाहरूमा पुगेर अध्ययन गरेका छौँ, विगत १० वर्ष भन्दा पहिलेदेखि नै अध्ययन सुरू गरे पनि पछिल्ला चार पाँच वर्षदेखि भने निरन्तर यसैमा लागेका थियौँ। हेर्दै जाँदा नुवाकोट डाँडाबाट उडान गर्न सकिने सम्भावना देखेर यसैमा परीक्षण गरिएको हो। पहिलो पटकमै परीक्षण सफल भएको छ। अब छिट्टै नै व्यावसायिक उडान सुरू गर्छौं,’ थापाले भने।
१० वर्ष पहिले गुल्मीको भार्सेमा पनि आफूहरूले नै परीक्षण उडान गरेपछि त्यो ठाउँमा होमस्टे सञ्चालन भइरहेको भन्दै उनले यसबाट मनग्गे आम्दानी गर्ने भन्दा पनि केही युवाहरूलाई रोजगारी दिन सकिने बताए।
‘बुटवलमा प्याराग्लाइडिङ सुरू गराएर मनग्गे आम्दानी गरौँला भन्ने भन्दा पनि यहीँका केही युवाहरूलाई रोजगारी दिने र बुटवलको पर्यटन प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य हो,’ थापाले भने।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएर गरिएको परीक्षण उडानका लागि बुटवल उपमहानगरपालिका, तिनाउ गाउँपालिका, सम्बन्धित वडा कार्यालयहरू र सामुदायिक बनहरूबाट समेत सहकार्य भइरहेको उनले बताए।
‘नयाँ ठाउँमा पहिलो पटक उडान गर्दा त्यहाँको पहाडको अवस्था, हावाको बहाव तथा अवतरण गर्ने स्थान समेत कस्तो छ भन्ने पहिचान गर्नुपर्ने हुन्छ, बुटवल ती सबै चिजमा अनुकूल देखिएको छ,’ उनले भने।
बुटवल उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष झविलाल थापाले वडा कार्यालयको समेत सहकार्यमा परीक्षण उडान गरिएको र प्याराग्लाइडिङको व्यावसायिक सञ्चालनपछि बुटवलको पर्यटन क्षेत्रमा नयाँ गन्तव्य थप हुने बताए।
सर्वोच्च शिखर सगरमाथादेखि प्याराग्लाइडिङ गरेर विश्व कीर्तिमानी कायम गरेका सानुबाबु सुनुवारले पहाडी क्षेत्रमा मात्र नभई नेपालमा हिमाल र तराई क्षेत्रमा पनि प्याराग्लाइडिङ गर्न सकिने बताए।
‘बुटवलमा गरिएको परीक्षण सफल भएपछि समथर भूमिबाट पनि प्याराग्लाइडिङ गर्न सकिन्छ भन्ने पुष्टि भएको छ,’ सुनुवारले भने।
विभिन्न ४१ देशमा २५ हजार भन्दा बढी घण्टा प्याराग्लाइडिङको अनुभव लिइसकेका सुनुवार बुटवल साहसिक प्याराग्लाइडिङको नयाँ गन्तव्य बन्न सक्ने बताए।
लुम्बिनीलाई केन्द्र बनाएर बुटवल, पाल्पा, अर्घाखाँची, स्याङ्जा पोखरासम्म हवाई पर्यटनको विकास गर्न सकिने उनले बताए।