इजरायली नागरिक ७१ वर्षीया मार्गालिट शाचार पूर्ण दृष्टिविहीन हुन्।
नेपाल पर्यटन बोर्डमा बुधबार आयोजित संवाद कार्यक्रममा उनले अन्नपूर्ण पदयात्राको अनुभव सुनाउँदै नेपालको प्रकृति थेरापीका लागि उत्कृष्ट गन्तव्य भएको बताएकी छन्।
आफ्नो पदयात्रा अनुभव सुनाउँदै मार्गालिटले नेपालमा पदयात्रा गर्नु आफ्ना लागि साहसिक यात्रा मात्र नभई 'हिलिङ एरिया' बनेको बताइन्।
इजरायली सेना र गाजा क्षेत्रमा 'मनोवैज्ञानिक थेरापिस्ट' का रूपमा लामो समय काम गरेकी मार्गालिटले आफ्नो ७०औं जन्मदिन गत वर्ष अन्नपूर्ण सर्किटको पदयात्रा गर्दै मनाएकी थिइन्।
७०औं जन्मदिन नेपालमै पदयात्रा गरेर मनाउन पाउँदा आफू निकै खुसी भएको उनले बताइन्। उनले प्रत्येक जन्मदिनलाई जीवनको नयाँ अनुभवसँग जोड्ने गरेको सुनाइन्।
'७० वर्ष विशेष उमेर हो। जन्मदिन मनाउन ट्रेकिङ गर्नु मेरो लागि उत्सवजस्तै हो,' उनले भनिन्, 'गत वर्ष अन्नपूर्ण सर्किट पूरा गरेँ र यसपटक अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रा गरेँ। पदयात्रा कतिपय अवस्थामा जोखिमपूर्ण पनि थियो, तर मलाई यो यात्रा निकै आनन्दपूर्ण लाग्यो।'
नेपालमा पदयात्रा गर्दा आफूलाई निकै सहज र सकारात्मक महसुस भएको मार्गालिटले बताइन्।
'नेपालमा ट्रेकिङ गर्नु मेरो लागि राम्रो थेरापीजस्तो भयो। यसले मलाई हलुका महसुस गरायो,' उनले भनिन्।
दृष्टिविहीन भए पनि पदयात्राका क्रममा आफूले प्रकृतिलाई फरक ढंगले अनुभव गरेको उनको भनाइ छ।
'मैले अन्नपूर्ण पदयात्रा यति कठिन होला भनेर सोचेकी थिइनँ। तर आफूलाई विश्वस्त बनाएर बिस्तारै एक–एक पाइला अघि बढाएँ,' उनले सुनाइन्, 'म देख्दिनँ, त्यसैले बाटो अप्ठ्यारो होला भन्ने पूर्वानुमान मलाई हुँदैन र समय बितेको पनि त्यति महसुस हुँदैन। यसले मेरो यात्रालाई सहज बनायो।'
नदीको कलकल, बाँसको सुगन्ध, हावाको स्पर्श तथा प्रकृतिका ध्वनिले आनन्दित बनाएको उनको अनुभव छ।
आगामी वर्ष आफ्नो छोरीको ५०औं वर्षगाँठ मनाउन नेपाल आउने र लाङटाङ पदयात्रा गर्ने योजना रहेको उनले सुनाइन्।
नेपाल र नेपालीप्रति सम्मान र प्रशंसा व्यक्त गर्दै उनले नेपालीहरूको सहयोगी र आत्मीय व्यवहारले यात्राका क्रममा आफूलाई 'रानीजस्तो' अनुभूति भएको बताइन्।
नेपाली संस्कृति, खाना र स्थानीय अतिथिगृहको अनुभव पनि निकै राम्रो रहेको उनले उल्लेख गरिन्।
'आफ्नो जीवन आफूले सक्ने गरी पूर्ण रूपमा बाँच्नुपर्छ,' उनले भनिन्।
दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई नेपाल भ्रमण र पदयात्राका लागि प्रेरित गर्दै मार्गालिटले नेपाल सुन्दर गन्तव्य भएको र यहाँको प्रकृतिले सकारात्मक ऊर्जा प्रदान गर्ने बताइन्।
कार्यक्रममा नेपालस्थित इजरायली दूतावासका चार्ज द' अफेयर्स जनान मिशलेब–बेबारले मार्गालिटको अनुभव आफूहरूका लागि पनि प्रेरणादायी भएको बताइन्।
'प्रकृति आँखाले मात्र देखिने होइन, महसुस पनि गर्न सकिन्छ भन्ने सन्देश दिएको छ,' उनले भनिन्।
मार्गालिटको यात्राले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई पनि साहसका साथ यात्रा गर्न प्रेरणा दिने उनको भनाइ छ।
'मार्गालिटले गर्न सक्नुभयो भने अन्य दृष्टिविहीन व्यक्तिहरूले पनि यस्ता अनुभव लिन सक्नुहुन्छ। उचित सहयोग र आत्मविश्वासका साथ नेपालका पदयात्रा गन्तव्य सबैका लागि अनुभवको अवसर बन्न सक्छन्,' जनानले भनिन्।
मार्गालिटको अनुभवले नेपालमा समावेशी र पहुँचयोग्य साहसिक पर्यटनको सम्भावनालाई उजागर गर्नुका साथै दृष्टिविहीन तथा अपांगता भएका यात्रुका लागि पर्यटन केवल सम्भावना मात्र नभई जीवनलाई नयाँ ढंगले अनुभव गर्ने माध्यम हुन सक्ने उनले बताइन्।
कार्यक्रममा नेपाल नेत्रहीन संघका समावेशी सल्लाहकार खोमराज शर्माले मार्गालिटको यात्राले फरक क्षमता भएका व्यक्तिहरूका लागि प्रेरणा बनेको बताए।
'दृष्टिविहीन व्यक्तिलाई निश्चित रूपमा थप हेरचाह र सहयोग आवश्यक पर्छ। तर अपाङ्गता कुनै पनि सम्भावनाको अन्त्य होइन। हरेक अपांगताभित्र पनि सम्भावना हुन्छ,' उनले भने।
प्रकृतिलाई केवल आँखाले हेरेर मात्र नभई स्पर्श, ध्वनि र अनुभूतिबाट पनि अनुभव गर्न सकिने उनले बताए।
सन् २००३ देखि ट्रेकिङ गाइडका रूपमा कार्यरत शिवप्रसाद अधिकारीले दृष्टिविहीन पर्यटकलाई पदयात्रा गराउनु चुनौतीपूर्ण भए पनि उचित तालिम, आपसी समझदारी र सहयोगबाट सम्भव हुने बताए।
सन् २०१४ देखि आफूले इजरायलबाट आएका पर्यटकहरूको समूहलाई नेपालमा पदयात्रा गराउँदै आएको उल्लेख गर्दै उनले अपांगता भएका व्यक्तिका लागि थप सहयोग र पहुँचयोग्य पर्यटन पूर्वाधारमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिए।