हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं नियमित सिधा उडान पुन: सुरू गर्ने भएको छ।
एयरलाइन्सले असोज १२ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच उडान सञ्चालन गर्ने जनाएको छ।
एयरलाइन्सका अनुसार सुरूमा उक्त गन्तव्यमा सातामा दुई उडान हुनेछन्।
काठमाडौं–सांघाई उडान प्रत्येक सोमबार र शुक्रबार तथा सांघाई–काठमाडौं उडान मंगलबार र शनिबार हुनेछ।
काठमाडौं–सांघाई उडान साँझ ६:२५ बजे प्रस्थान गरी भोलिपल्ट बिहान २ बजे सांघाई पुग्नेछ भने सांघाईबाट बिहान ३ बजे उडेको विमान बिहान ७:१० बजे काठमाडौं आइपुग्नेछ।
यात्रुको माग र उडानमा यात्रु भरिने अवस्थाका आधारमा उडान संख्या बढाउने विषयमा समीक्षा गरिने एयरलाइन्सले जनाएको छ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–सांघाई उडान पुन: सञ्चालनले नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्धलाई जोड्ने काममा योगदान गर्ने बताएका छन्।
काठमाडौं–सांघाई–काठमाडौं उडानका टिकट हिमालय एयरलाइन्सका टिकट काउन्टर, आधिकारिक ट्राभल पार्टनर, कम्पनीको वेबसाइट तथा मोबाइल एपमार्फत बुक गर्न सकिनेछ।