पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुरू गराउन यहाँका पर्यटन व्यवसायीले लामो समय प्रयास गरे।
विमानस्थल सञ्चालनमा आएको वर्षौंसम्म नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा उनीहरूको चिन्ता एउटै थियो— अन्तर्राष्ट्रिय विमानस्थल बनेर मात्र के गर्ने, त्यसबाट पोखराले अपेक्षित लाभ लिन सकेन।
कहिलेकाहीँ हुने चार्टर्ड उडानले पनि उनीहरूको चिन्ता मेटाउन सकेन। त्यसपछि व्यवसायीले आफै पहल गर्ने निर्णय गरे। उनीहरूको प्रयासपछि गत सेप्टेम्बर २३ देखि फ्लाई दुबईले पोखरा–दुबई नियमित उडान सुरू गर्यो।
यो पोखराका लागि प्रतीक्षित उपलब्धि थियो। तर विमानस्थलमा अन्तर्राष्ट्रिय विमान अवतरण गराउनु र उडानलाई व्यावसायिक रूपमा टिकाइराख्नु फरक चुनौती हुन्।
उडान सुरू गराउन सफल व्यवसायीका अगाडि अब अर्को प्रश्न छ— जहाज नियमित रूपमा भरिने गरी यात्रु कहाँबाट ल्याउने?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक अनुसार सेप्टेम्बर २३ देखि नोभेम्बर १५ सम्म, ५४ दिनमा दुबईबाट ८ हजार ७५६ जना यात्रु पोखरा आएका छन्। त्यस्तै ५ हजार ५१३ जना पोखराबाट बाहिरिएका छन्। दुवैतर्फ गरी १४ हजार २६९ जना (शिशु यात्रुसहित) ले यात्रा गरेका छन्।
मौसमका कारण सेप्टेम्बर २५ मा एक दिन उडान रद्द भएको थियो। बाँकी ५३ दिन उडान सञ्चालन भएको विमानस्थलको विवरण छ। यस अवधिमा पोखरा आउने यात्रु संख्या दुबई जानेभन्दा ३ हजार २४३ ले बढी छ।
विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीका अनुसार सुरूका दिनमा पोखरा आउने यात्रु बढी देखिनुको एउटा कारण चाडपर्व हो।
'रोजगारीका लागि दुबई पुगेका नेपाली दसैं–तिहार मनाउन स्वदेश फर्किएकाले आगमनतर्फ चाप बढेको हो,' उनले भनिन्।
यसले उडानप्रति यात्रुको आकर्षण देखाए पनि यसको व्यावसायिक भविष्यका लागि दुवैतर्फ निरन्तर यात्रु माग आवश्यक छ। विशेषगरी पोखरा र आसपासका पर्यटकीय गन्तव्यमा विदेशी पर्यटक ल्याउन सकिएन भने स्थानीय पर्यटन क्षेत्रले यो उडानबाट लिन सक्ने लाभ सीमित हुन सक्छ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार उडान सुरू हुनुअघि व्यवसायीले एयरलाइन्सलाई पर्याप्त यात्रु जुटाउन सकिने विश्वास दिलाएका थिए। अब त्यो प्रतिबद्धता व्यवहारमा प्रमाणित गर्नुपर्ने समय आएको छ।
'फ्लाई दुबई पोखराबाट नियमित उडान गर्न तत्पर छ। एक वर्षका लागि टिकट बुकिङ खुला हुनु भनेको विमान कम्पनी नियमित उडान गर्न इच्छुक छ भन्ने हो,' श्रेष्ठले भने, 'विमानलाई आवश्यक न्यूनतम यात्रु संख्या पुग्यो भने अब उडान रोकिने अवस्था आउँदैन।'
राजदूतसँगको भेटबाट सुरू भएको पहल
पोखरा–दुबई उडानको पहल सन् २०२५ जुन १० मा संयुक्त अरब इमिरेट्स (युएई) का राजदूतसँग भएको भेटबाट अघि बढेको थियो।
श्रेष्ठले होटल संघका केन्द्रीय सदस्य विप्लव पौडेल र भरतराज पराजुली तथा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीलगायत व्यवसायीसँग अनौपचारिक छलफल गरेका थिए। त्यही क्रममा दुबईसँग नियमित हवाई सम्पर्क स्थापित गर्न राजदूतलाई भेट्ने प्रस्ताव राखिएको थियो।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि व्यवसायी आफैले पहल नगरे नियमित अन्तर्राष्ट्रिय उडान सम्भव नहुने श्रेष्ठको तर्क थियो।
त्यसपछि कलाकार समिम खानको सहयोगमा व्यवसायीले युएईका राजदूतसँग भेट्ने व्यवस्था मिलाए। उनीहरूले पोखराबाट दुबई नियमित उडान सञ्चालन गर्न आवश्यक सहजीकरण गरिदिन आग्रह गरे। प्रस्तावप्रति सकारात्मक देखिएका राजदूतले त्यसको दुई दिनपछि दूतावासकै पहलमा युनिभर्सल ट्राभलका निर्देशक परासर प्रसाईसँग छलफलको व्यवस्था मिलाइदिए।
प्रसाई फ्लाई दुबईसँग सम्बन्धित व्यावसायिक प्रतिनिधि हुन्। त्यसपछि नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष अर्जुनप्रसाद शर्मासहितको सहभागितामा एयरलाइन्सका प्रतिनिधिसँग पटक पटक बैठक भए।
श्रेष्ठका अनुसार पोखराबाट पर्याप्त यात्रु उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने विषयमा एयरलाइन्सले आफ्नै अध्ययन गरेको थियो। व्यवसायीले पनि यात्रु जुटाउने प्रतिबद्धता जनाएपछि उडानको प्रक्रिया अघि बढेको थियो।
'फ्लाई दुबईले पोखराबाट नियमित उडान गर्दा यात्रु पाइन्छन् कि पाइँदैनन् भनेर धेरै अध्ययन गरेको थियो। हामीले पनि धेरै छलफल गरेर यात्रु संख्या पुर्याउने प्रतिबद्धता जनायौँ,' श्रेष्ठले भने, 'त्यसपछि मात्र उडान सम्भव भएको हो।'
उनका अनुसार एयरलाइन्सले नियमित उडानका लागि विमानका ७० देखि ८० प्रतिशत सिट भरिनुपर्ने बताएको थियो। व्यवसायीले त्यो लक्ष्य पूरा गर्न सकिने विश्वास दिलाएका थिए।
फ्लाई दुबईको बोइङ ७३७ म्याक्स ८ विमानमा १६५ सिट क्षमता छ। श्रेष्ठका अनुसार प्रत्येक उडानमा कम्तीमा १०० यात्रु भए नियमित उडान टिक्न सक्छ।
नेपाली यात्रुको भरमा उडान
अहिले पोखरा–दुबई उडानमा नेपाली यात्रुको हिस्सा ठूलो छ। रोजगारीका लागि दुबई तथा अन्य खाडी मुलुक पुगेका नेपाली, विदेश जाने विद्यार्थी र अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने नेपालीले यो रूट प्रयोग गरिरहेका छन्।
पोखराबाट दुबई हुँदै अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका र बेलायत जाने यात्रु पनि बढिरहेको श्रेष्ठ बताउँछन्। दुबईलाई ट्रान्जिट बनाएर विभिन्न देश पुग्न सकिने भएकाले पोखरा र आसपासका जिल्लाका बासिन्दालाई काठमाडौं पुगेर अन्तर्राष्ट्रिय उडान लिनुपर्ने बाध्यता घटेको उनको भनाइ छ।
फ्लाई दुबईको अन्तर्राष्ट्रिय सञ्जालले पोखरालाई विभिन्न गन्तव्यसँग जोड्न सक्ने व्यवसायीको अपेक्षा छ। तर नेपाली यात्रुको आवागमनलाई मात्र आधार बनाएर पोखराको पर्यटनले ठूलो लाभ लिन सक्दैन। त्यसका लागि विदेशी पर्यटकलाई पनि यही उडानबाट पोखरा ल्याउनुपर्नेछ।
विमानस्थलको तथ्यांक अनुसार ५३ दिन सञ्चालन भएका उडानमा दुबई हुँदै १ हजार ३५ जना विदेशी पोखरा आएका थिए भने ८८४ जना विदेशी बाहिरिएका थिए। नेपाली यात्रुको तुलनामा विदेशी यात्रुको यो संख्या निकै कम हो।
यसको अर्को पाटो अन्नपूर्ण संरक्षण क्षेत्रमा देखिन्छ। अक्टोबरमा मात्रै उक्त क्षेत्रमा ४१ हजार ७५८ विदेशी पर्यटक पदयात्राका लागि आएका थिए। गण्डकी प्रदेशका पाँच जिल्लामा फैलिएको अन्नपूर्ण क्षेत्रमा आएका यी पर्यटकमध्ये अधिकांश काठमाडौं हुँदै पोखरा आएका थिए।
उनीहरूलाई दुबई हुँदै सिधै पोखरा आउने विकल्पबारे जानकारी दिन सके उडानको पर्यटकीय उपयोग बढ्न सक्ने व्यवसायीको भनाइ छ।
पोखराको चुनौती यात्रु संख्या बढाउनु मात्र होइन, काठमाडौं हुँदै नेपाल प्रवेश गरिरहेका पर्यटकलाई पोखरालाई नै प्रवेशद्वार बनाउन प्रोत्साहित गर्नु पनि हो।
ट्राभल कम्पनीका प्याकेज र बजार विस्तार
नाट्टा गण्डकीकी अध्यक्ष संगीता पौडेलका अनुसार पोखराका ट्राभल कम्पनीले नियमित उडानलाई सफल बनाउन नेपाल घुम्न आउने विदेशी र दुबई घुम्न जाने नेपालीका लागि छुट्टाछुट्टै प्याकेज बिक्री गरिरहेका छन्।
गण्डकी प्रदेशमा नाट्टामा आबद्ध १६३ वटा ट्राभल कम्पनीले यसमा काम गरिरहेको उनले बताइन्।
पोखराबाट दुबई घुम्न जान चाहनेका लागि पाँच दिनको प्याकेज करिब एक लाख ५० हजार रूपैयाँमा तयार गरिएको छ। नेपाल घुम्न आउने विदेशीका लागि भने उनीहरूको समय, रूचि र भ्रमण गन्तव्य अनुसार प्याकेज बनाइएको छ।
'पोखरा–दुबई उडान सुरू भएपछि हामीले नेपाल घुम्न आउने र दुबई घुम्न जाने यात्रुका लागि छुट्टाछुट्टै प्याकेज बनाएर बिक्री गरिरहेका छौं,' पौडेलले भनिन्, 'अहिलेसम्मको बुकिङ उत्साहजनक छ। तर नेपाल आउने विदेशी पर्यटकको संख्या बढाउन अझै प्रचारप्रसार आवश्यक छ।'
उनका अनुसार ट्राभल कम्पनीले टिकट बिक्रीमा मात्र सीमित नभई पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन पनि ध्यान दिनुपर्नेछ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फ्लाई दुबईको नियमित उडानलाई पोखराको पर्यटन विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। उडान सुरू भएपछि पर्यटन व्यवसायी उत्साहित भएको र यसको निरन्तरताका लागि निजी क्षेत्रसँगै सरकारको पनि सक्रिय भूमिका आवश्यक रहेको उनले बताए।
'फ्लाई दुबईको नियमित उडान सुरू भएपछि पोखरा आउने पर्यटकको चाप बढेको छ। व्यवसायी उत्साही छन्,' सुवेदीले भने, 'यसलाई नियमित बनाउन सरकारको पनि भूमिका देखिनुपर्छ।'
सरकारी छुट र विमानस्थलको सम्भावना
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले विदेशी एयरलाइन्स आकर्षित गर्न अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीलाई ल्यान्डिङ र पार्किङ शुल्क निःशुल्क गरेको प्रवक्ता रेग्मीले बताइन्। विमानस्थलले यात्रु दस्तुर मात्र लिइरहेको उनको भनाइ छ।
उनका अनुसार दुबई विश्वकै महत्वपूर्ण हवाई ट्रान्जिट केन्द्र भएकाले पोखराबाट अन्तर्राष्ट्रिय यात्राका लागि नयाँ सम्भावना खुलेको छ।
'पोखराबाट दुबई मात्र होइन, अन्य देश जाने यात्रु पनि यही उडान प्रयोग गरिरहेका छन्। यहाँ आउने यात्रु पनि खुसी देखिन्छन्,' रेग्मीले भनिन्, 'दुबई विश्वकै ट्रान्जिट हब भएकाले यो उडान नियमित हुने हाम्रो विश्वास छ।'
विमानस्थलमा रहेको बोर्डिङ ब्रिजले पनि यात्रालाई सहज बनाएको उनले बताइन्। विमानको ढोकाबाट टर्मिनल भवनसम्म सिधै पुग्न सकिने सुविधाले वृद्धवृद्धा र अपांगता भएका यात्रुलाई विशेष सहजता दिएको उनको भनाइ छ।
फ्लाई दुबईको उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति अन्य एयरलाइन्सको चासो पनि बढाएको रेग्मीले बताइन्। तर त्यसका लागि पोखरा र आसपासका पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय प्रचारप्रसार आवश्यक छ।
'नेपाल आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउँछन्,' उनले भनिन्, 'अब काठमाडौं हुँदै पोखरा आउनेभन्दा सिधै पोखरा आउने वातावरण बनाउन सक्नुपर्छ। त्यसो गर्न सकियो भने पर्यटकको चापले पनि उडानलाई नियमित राख्न मद्दत गर्छ।'
चार्टर्ड उडानको अनुभव र नियमित उडानको चुनौती
पोखराले यसअघि चीनको सिचुवान एयरलाइन्समार्फत चार्टर्ड उडानको अनुभव लिइसकेको छ। त्यति बेला चीनबाट १ हजार २०० पर्यटक पोखरा ल्याउने लक्ष्यसहित प्रवर्द्धन गरिएको थियो। तर उक्त प्रतिबद्धता अपेक्षाअनुसार पूरा हुन सकेन।
चार्टर्ड उडानको प्रवर्द्धनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित व्यवसायी र जनप्रतिनिधि चीन पुगेका थिए। उनीहरूले प्याकेज अनुसार शुल्क तिरेर यात्रा गरेका थिए।
श्रेष्ठका अनुसार सिचुवानको चार्टर्ड उडानका लागि सरकारी निकाय र निजी क्षेत्रले जति सक्रियता देखाएका थिए, अहिले नियमित उडानको प्रवर्द्धनमा त्यस्तो उत्साह देखिएको छैन।
'सिचुवान एयरलाइन्सको चार्टर्ड उडानका लागि व्यवसायीदेखि जनप्रतिनिधिसम्म लर्को लागेर चीन पुगेका थिए,' उनले भने, 'अहिले नियमित उडान भइरहेको छ, तर त्यसलाई प्रवर्द्धन गर्न त्यति सक्रियता देखिएको छैन।'
नियमित उडान सफल बनाउन पोखराका व्यवसायीको प्रयास मात्र पर्याप्त नहुने उनको भनाइ छ। प्रदेश र स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड तथा पर्यटनसम्बद्ध संस्थाले पनि बजेट छुट्ट्याएर अन्तर्राष्ट्रिय बजारमा पोखराको प्रचार गर्नुपर्ने उनले बताए।
श्रेष्ठले गण्डकी प्रदेशका ११ जिल्ला र छिमेकी लुम्बिनी प्रदेशसम्म पुगेर पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न प्रोत्साहन गर्ने अभियान चलाउनुपर्ने बताए।
मध्यपूर्वका दुबई, ओमान, कतार, कुवेत र बहराइनमा रहेका नेपाली समुदायलाई लक्षित गर्नुका साथै त्यहाँका विदेशी नागरिकलाई पनि पोखरा र मुक्तिनाथ भ्रमणका लागि आकर्षित गर्न सकिने उनको भनाइ छ।
'पोखराबाट उडौं, पोखरामै ल्यान्ड गरौं भनेर गण्डकी र लुम्बिनीमा अभियान चलाउन आवश्यक छ,' श्रेष्ठले भने, 'यसमा व्यवसायीले मात्र होइन, प्रदेश र स्थानीय सरकारले पनि सहयोग गर्नुपर्छ।'
***