सोच्ने गर्थ्यौं कहिले आउला घरै बस्ने दिन?
कहिले छुट्ला १०-५, हतारोको क्षण?
कहिले पाउँला आनन्दीको रमाइला ती बिदा?
कहिले होला परिवारै सँगै बस्ने छिन ??
मलाई लाग्छ ईश्वरले सुने हाम्रा कुरा
हाम्रो पूजा, हाम्रो भक्ति खुसी भए उनी ।
पठाइदिए ‘कोरोना’लाई पृथ्वीमा अनि
सूचना त्यो दिए उनले घरै बस भनी ।।
घरै बसे छुने छैन ‘कोरोना’ ले अब
सर्ने छैन रुघाखोकी, ज्वरो ‘भाइरस’को।
तपाईं स्वस्थ, तपाईं शुद्ध, परिवारै खुसी
सुखशान्ति खोजौं अब घरैभित्र बसी ।।
सकाऊँ अब बाँकी कुरा पतिपत्नीबीच
माया बाँडौं, खुसी साटौं छोराछोरीसित।
खेल्न सक्छौं थुप्रै खेल घरैभित्र बसी
सिक्न सक्छौं नयाँ कुरा इन्टरनेट खोली ।।
फिलिम हेरौं, चित्र कोरौं, कविता नि लेखौं
किताब पढौं, ज्ञानगुन बाँडीचुँडी बसौं।
मेलमिलाप गरौं अब घरझगडाको
प्रगाढ पारौं, अझै थपौं श्रेणी मित्रताको ।।
विदेशतिर छरिएका बन्धुबान्धव मित्र
अब आउँछन् हामीसँगै हाम्रै कोठाभित्र।
खोलौं एकाउण्ट फेसबुक, भाइबर, च्याट जति
कुरा गरौं, सेयर गरौं धितै मर्ने गरी ।।
तपाईंका लागि हामी जिउज्यान दिन्छौं
पेशा हाम्रो चिकित्सकको, बिदा कहाँ पाउँछौं ?
हाम्रो सट्टा पनि अब, रमाइलो गर्नुस्
बिन्ती गर्छौं, करै जोडी, घरैभित्र बस्नुस् ।।