रात छिप्पिँदै जाँदा चारैतिर सन्नाटा छाएको थियो। आर्सीको मनभित्र भने भावनाहरूको ठुलो तुफान चलिरहेको थियो। कोठाको झ्यालबाट छिरेको चन्द्रमाको मधुरो प्रकाशमा उनको काँपिरहेको छाया स्पष्ट देखिन्थ्यो। त्यो काँप डरको थिएन। त्यो त एउटा मान्छेप्रतिको आकर्षण र अन्योल थियो। जसले उनको जीवनको परिभाषा नै बदल्न लागिरहेको थियो। ती व्यक्ति अरू कोही नभएर 'सुब्बा साहेब' थिए।
यी दुईको सम्बन्ध कुनै सिनेमाको कथाभन्दा कम थिएन। सामाजिक सञ्जालमा सामान्य 'हाई' बाट सुरु भएको कुराकानी बिस्तारै रातको गोप्य प्रतीक्षामा बदलियो। आर्सी स्वभावैले लजालु र अलि डराउने स्वभावकी थिइन्। उनलाई लाग्थ्यो; केही बोल्दा वा लेख्दा कतै नराम्रो हुने त होइन? उनी म्यासेज टाइप गर्थिन्। र पठाउनुअघि नै मेटाइदिन्थिन्।
सुब्बा साहेब भने निकै प्रस्ट र निडर स्वभावका थिए। आर्सीको यो दोधारेपन देखेर उनले सधैँ हौसला दिन्थे। उनले भन्ने गर्थे, ‘तिमीले सोचेजस्तो कसैसँग बोल्दैमा नराम्रो हुँदैन। मानिस जो जहाँ, जति बेला पनि काम लाग्न सक्छ। तिमीलाई मसँग कुरा गर्दा नराम्रो लाग्दैन भने किन डराउनुपर्यो?’
उनको यो दृढताले बिस्तारै आर्सीको मनको पर्खाल भत्काउन थाल्यो। मेसेन्जरमा कुरा गर्दागर्दै एकदिन सुब्बा साहेबले सिधै कल गरे। आर्सीको सातो गयो। फोनको स्क्रिनतिर हेर्दै गर्दा उनको मुटुको धड्कन यति तीव्र भयो कि बाहिरै सुनिएला जस्तो भयो। फोन एक पटक बज्यो, दुई पटक बज्यो... अन्ततः चौथो पटकमा फोन उठाइन्।
फोन उठ्ने बित्तिकै सुब्बा साहेबले जिस्क्याउँदै भने, ‘हजुर मात्र के भनेको? किन तिमी यस्तो के? बोल्दैमा केही हुँदैन। मैले तिमीलाई के नै गर्छु र?’
उनको त्यो आत्मीय र भरोसायुक्त स्वरले आर्सीको डरलाई पगालिदियो। सुब्बा साहेबले थपे, ‘धन्यवाद आर्सी! आज तिम्रो स्वर सुन्ने मौका दियौ।’ एउटा कलले उनीहरूबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्यायो।
प्रेमको सर्त, ‘नपढे भाँडा माझ्नुपर्छ!’
सुब्बा साहेबको प्रेम गर्ने तरिका अलि फरक थियो। उनी केवल 'आई लभ यु' भनेर बस्ने मान्छे थिएनन्। उनी आफैँ लोक सेवाको अधिकृत पदका लागि कडा तयारी गरिरहेका थिए। उनले आर्सीलाई सधैँ आत्मनिर्भर बन्न दबाब दिन्थे। उनले आर्सीलाई आफ्नो 'जिमेल आइडी' दिएका थिए र समय-समयमा नोटहरू पठाउने, म्यासेजमा पढाइको कुरा सोध्ने गर्थे।
उनले आर्सीलाई सम्झाउँदै भन्थे, ‘आजको समाजमा सरकारी जागिर भनेको स्थायित्व र सम्मान हो। म चाहन्छु तिमी मेहनत गर र सफल बन। म तिम्रो साथमा छु।’
कहिलेकाहीँ आर्सीले, ‘हजुर खाली पढ मात्रै भन्नुहुन्छ’ भनेर गुनासो गर्दा उनी कडा रूपमा जिस्क्याउँथे, ‘लौ त नपढ, तिमीलाई म माया गर्दिनँ। नपढेपछि भोलि भाँडा माझ्नु, लुगा धुनु र भात पकाउनु मात्रै गर्नुपर्छ है! अनि थाहा पाउँछौ!’
यो कठोर देखिने बोलीभित्र आर्सीलाई सफलताको शिखरमा देख्ने एउटा प्रेमीको निःस्वार्थ सपना लुकेको थियो।
डिजिटल माध्यमबाट सुरु भएको मायाले जब भौतिक रूप लिने निधो गर्यो तब दुवैको उत्साहको सीमा रहेन। भेट्ने ठाउँ तय भयो बन्दिपुरमा। गुलाबी कुर्था र सुरुवालमा सजिएकी आर्सी जब सुब्बा साहेबको अगाडि पुगिन् तब उनको मुटुको गति फेरि तीव्र भयो।
सुब्बा साहेबले मुस्कुराउँदै आर्सीको हात समाते। सबै डर हराएर गयो। उनको न्यानो स्पर्श, ठट्टा गर्ने बानी र रमाइलो स्वभावले आर्सीलाई मन्त्रमुग्ध बनायो। कल्पनाको सानो संसार बिस्तारै यथार्थमा परिणत हुँदै थियो। उनीहरूले सँगै सफलता हासिल गर्ने, सँगै सङ्घर्ष गर्ने र सँगै खुसी साट्ने वाचा गरे।
सङ्घर्षको फल र साझा सफलता सुब्बा साहेबले दिनरात नभनी आर्सीलाई नोटहरू बनाइदिने, मार्गदर्शन गर्ने र हौसला दिने काम जारी राखे। आर्सीले पनि उनको विश्वासलाई टुट्न दिइनन्। अन्ततः सुब्बा साहेबको साथ र आर्सीको मेहनतले फल पायो। आर्सी सफल भइन्।
यो कथा दुई व्यक्तिबिचको प्रेमको मात्र होइन। यो त विश्वास, अनुशासन र एकअर्कालाई अगाडि बढाउने प्रेरणाको पनि हो। सुब्बा साहेब र आर्सीले प्रमाणित गरे कि प्रेमले मानिसलाई कमजोर बनाउँदैन। सही मान्छेको साथ भयो भने यसले जीवनलाई सफलताको उचाइमा पुर्याउँछ। उनीहरूको प्रेम 'माया' मात्रै थिएन। त्यो त साझा सङ्घर्ष र सफलताको एउटा सुन्दर प्रतिफल थियो।