‘बाबा, यो कस्तो छ, हेर्नुस् त।’ ८ वर्षे छोरी दौडिँदै आइन्, देब्रे हातमा कापी र दाहिने हातमा सिसाकलम लिएर।
उसले भर्खरै बनाएको फूलको चित्र छ। गमला, फूलको बोट, कुनै ठूलो, कुनै सानो पातहरू, एउटा ठूलो हाँसी राखेको फूल – उसकै अनुहार जस्तो।
फोटोको जस्तो प्राकृतिक नदेखिए पनि अबोध, सुन्दर हातले कलिलो दिमागको कल्पनाको फूललाई छिर्केमिर्के धर्काहरूले मिलाउँदै कोरिएको चित्र बाबाको दृष्टिमा कुनै कलाकारको चित्रभन्दा राम्रो देखे।
‘ओहो ! कस्तो राम्रो।’ बाबाले हातमा लिई हेरें।
दिदीको चित्र बाबाले खुसी भएर हेरेको, प्रशंसा गरेको सानो भाइलाई थाहै नपाई रिस उठिहाल्यो।
४ वर्षको सानो भाइले पनि एउटा कापीमा डटपेन समाएर गोलो गोलो घुमाउन थाल्यो र एक्कै छिनमा बाबाको अगाडि आएर देखाउन आइ पुगे ‘बाबा, ई।’ अनुहारमा आफूले पनि बनाएको गर्व गर्दै देखाए।
एउटा बांगो गोलो, दुइटा बांगा रेखा हेरेर बाबा मख्ख परे।छोरालाई जुरूक्क काखमा उठाए। सानो भाइ मख्ख पर्दै भुइँमा उभिएकी दिदीलाई हेरे।
कोरोनाको कारण घरमै बसेका बाबाले प्रशस्तै समय पाए, आफ्नो छोराछोरीसँग समय बिताउन। अरूबेला शनिबार एकदिन मात्र हुन्थ्यो घरमा बिताउने, त्यो पनि कहिले कहाँ कहिले कहाँ हुन पुग्थ्यो।
आज छोराछोरीको चित्र बनाउने होडदेखि,एउटा कोठाबाट अर्को कोठामा लखेटा लखेट, एउटै चिज दुबैलाई चाहिँदा झगडादेखि, बिस्कुट बाँडेर खाएको सम्ममा आफू पनि सम्मिलित हुन पाउँदा खुसी छ।
‘छोरी, बाबालाई चिया खान आउनुस् भन’ अर्को कोठाबाट मम्मीको आवाज आयो। ‘हजुरआमालाइ पनि चिया लगिदेउ।’ छोरी दौडिँदै अर्को कोठामा पुगी।
आज दोस्रो हप्ता भैसकेको थियो सबै घरमै बसेको। ३ कोठाको बासस्थान। एउटा भान्सा, दुइटा सुत्ने कोठा, एउटा बाथरूम। हजुरआमा सुत्ने कोठा, बैठक पनि, टिभी कोठा पनि।
माथिल्लो तलामा अर्को परिवार, तल्लो तलामा अर्को। पानी तान्ने, तरकारी किन्न जाने, लुगा सुकाउन जाने जस्ता तलमाथि गर्नुपर्ने काम बाहेक अरूबेला तलमाथि पनि त्यति भेटघाट हुन छोड्यो। एकले अर्कोलाई देख्यो भने पनि तर्केर हिँड्ने, कम बोल्ने भैसकेको छ।
‘बाबा, भोलिलाई त तरकारी किनेर ल्याउनु पर्छ है।’ भान्साबाट मम्मीको आवाज आयो।
‘खोई तरकारी पनि के ल्याउनु ? गेडागुडी नै पकाए भैहाल्यो नि।’ बाबाले झिजो माने।
‘कत्ति खानु त्यही गेडागुडी। यसो बेलुका बाहिर जाँदा पसलमा पाइन्छ होला नि साग, बन्दा, केही हरियो परियो।’
‘सबै सुक्न लाग्या पाइन्छ। त्यही बकुला, केराउ, पहेंलो पहेंलो हुन लाग्या साग।’ दिक्क मान्दै उत्तर दिन्छन् बाबा।
‘भैगो, भरे यही बेच्न ल्यायो भने मै किन्न जान्छु। चिया खान आउने होइन ? चिया चिसो हुन् लागिसक्यो।’
'पर्दैन तिमी, जानलाई। मै जान्छु। धेरै जना बाहिर जानु हुन्न। सकेसम्म एक जनाले मात्र किनेर ल्याउने हो। त्यही पनि पैसा, सामानबाट पनि भाइरस सर्न सक्छ रे। सब पखाल्नु पर्छ है। '
'बाबा म पनि जान्छु नि हजुरसँग बाहिर।' छोरी अनुरोध गर्छे।
'जानुहुन्न छोरी अहिले, भोलि पर्सी जाउँला।'
'कत्ति दिन भैसक्यो कोठामै बस्या, कस्तो दिक्क लागिसक्यो।'
'अहिले जानुहुन्न के। रोग सर्छ बाहिर।' छोरी लाडिन्छे।
'कोलोना सल्छ, है बाबा ?' भाइ अघि सर्छ, दिदीलाई सम्झाउन।
'थाहा छ मलाई पनि। कोरोनालाई कोलोना रे।'
'बाबा, ग्यासलाई पनि एक पल्ट फोन गर्नु नि है।' मम्मीले अर्को काम सम्झिन्छे।
'खोइ ग्यास पनि आधा मात्र दिन्छ रे।'
'आधा भए नि ल्याउनै पर्यो, बीचमा सकियो भने गाह्रो हुन्छ। ग्यास पनि पखालेर मात्र भित्र ल्याउने है?'
'बुहारी, त्यो टिभीमा एकपल्ट भजनलाई देऊ त। यो कोरोना सुन्दा सुन्दा दिक्क लागिसक्यो,' हजुरआमा अर्को कोठाबाट बोल्नुभयो।
छोराछोरीसँग रमाइरहेका बाबा, आफ्नो आमाले अर्को कोठाबाट भजन हेर्ने मन गरेको सुनेर आमा भएको कोठामा पुगे, र टिभीको च्यानल परिवर्तन गरिदिए।
मोबाइल हेर्दै आमा छेउ बस्न गए।
'आमा यो कोरोना भन्ने थाहा छ ?'
'खोइ, तिमीहरूले भन्दा भन्दा, टिभीमा सुन्दा सुन्दा के जाति भाइरस अनि महामारी भन्ने थाहा पाएको छु। यस्तै महामारी हामी सानो हुँदा सुनेको थिएँ।'
'के महामारी आमा ?'
'हैजा आएको थियो। निक्कै मान्छे मरेको थियो।फलानो गाउँमा यति मर्यो, ढिस्कानो गाउँमा यति मर्यो भन्थे। कति पूजा गरे, कति मंछाए। तर पनि धेरै मरे।'
'है आमा, कसैलाई सराप्नु पर्यो भने "हैजाले तुरून्तै लगोस्" भनेर भन्थे रे।'
'हो नि। त्यस्तै बिफर पनि थियो। मान्छेको रूप नै कुरूप पारिदिन्थ्यो।शितला माईको पूजा गर्थ्यो।अहिले त्यस्तो छैन, तर यो के जति हो कोरोना रे।'
'हो नि आमा, यो त झन पृथ्वीको झन्डै सबै भागमा पुगेको छ। कत्ति मान्छे मरिसक्यो संसारमा।उता अमेरिकातिर नि धेरै देखिएको छ।'
'हरे शिव। यसो पूजाआजा गरेको छैन, देवीदेवतालाई ? कुन चाहिँ दैवीप्रकोप हो यो ?'
'हैन आमा, यो त भाइरसले गर्दा भएको नि त। चीनबाट सुरू भएको। यो सरूवा रोग हो।हात धोएर, अरूसँग सम्पर्कमा नआएर यो रोग सर्नबाट बच्न सकिन्छ।'
'लौ तिमीहरू नै जानुन्। नारायण।'
भान्साबाट मम्मी आइपुगिन् चियाको ग्लास लान। केटाकेटी, बुढा घरमै भएपछि एक छिन् फुर्सद थिएन मम्मीलाई।बिहान पकाउ ख्वाउ, दिउँसो पकाउ ख्वाउ, राति पकाउ ख्वाउ, सरसफाइ गरिदेउ, लुगा धोई देउ। यत्तिकै। कसैलाई केही गरिदेउ भन्यो – उल्टो।अनि खटपट।
'हामी कहाँ नि कत्ति बढेछ कोरोना है? अहिले अमेरिकामा त धेरै गाह्रो भैराखेको छ रे नि त होइन ?' गिलास उठाउँदै मम्मीले बाबातिर हेरेर भनिन्।
'हो, सबैतिर बढेको मात्र खबर छ।यो फेसबुक हेर्यो त्यही, युट्युब हेर्यो त्यही, अनलाइन खबर सबै त्यही। जति हेर्यो त्यति डर लाग्ने।'
'अनि किन झुण्डी राख्नु पर्यो नि त्यही मोबाइलमा। अलि अलि भान्सामा मद्दत गरे त डर पनि हुँदैन नि।'
'हो बुढी हो। यो खबर जति हेर्यो त्यति गाह्रो। कहिले सरकारले यो गरेन कहिले त्यो गरेन। गरे भने नि ढंग पुर्याउँदैन। ऊ अहिले भ्रष्टाचार भयो रे।'
'यस्तोमा त भ्रष्टाचार नगर्नु पर्ने हो। यति बेला भ्रष्टाचार गर्नेलाई त कोरोनाले नै लगोस्। यसको पाप त लाग्छ लाग्छ।'
'जसले जे गरे नि नगरे नि तिमी, हामी घरभित्रै बसौं क्यारे। हामीले सक्ने यही हो।'
'अँ, हामीलाई त तै सजिलो छ, हाम्रो काकाको छोरीलाई कति गाह्रो।'
'अँ, हो नि है। नर्स होइन ? बिचरा। दिनदिनै अस्पताल जानुपर्छ। अझ को संक्रमित हो? थाहा नपाएसम्म आफूलाई पनि सर्ने खतरा।'
'जान्न भन्न नि मिलेन। हुन त नर्स, डाक्टर स्वास्थ्यकर्मीहरूको कामै त्यही हो।'
'तर सरकारले उनीहरूको सुरक्षाको चाहिँ व्यवस्था गर्नैपर्छ।'
'आज एक पटक फोन गर्नु है काकाको छोरीलाई, म पनि एक छिन कुरा गर्छु।'
अझै कति दिन बित्ने हुन् यिनै कोठामा।