सनफ्लावरको तेलमा प्याज तैरेको बास्ना भान्छा हुँदै अर्को कोठासम्म आइराखेको छ। सायद अलिकति मेथी, रातो खुर्सानी, बेसार पनि हालिसकेको थियो, नभए प्याज र तेल मात्रले यत्तिका मीठो बास्ना त नआउनु पर्ने! थालभरि पखालेको पानी निख्रिएको, काटेको आलु र बकुल्ला, प्याजसँगै मिल्न जान ठिक्क छ। ग्यास चुल्होको अर्को मुखमा दाल सिट्टी बजाउन खोज्दैछ – ‘सी.., सी..’ गर्दै, तर ईइइ... गर्न सकेको छैन। राइस कुकरको काम सुरू भैसकेको छैन।
सरिताको दुई हातलाई फुर्सद छैन। चामल पखाल्न, मसला पिस्न, तरकारी चलाउन, थाल माझ्न, गोलभेंडा पोल्न, गमलामा धनियाँ टिप्न, दालको चुल्हो सिममा राख्न। यद्यपी सबै स्वचालित जस्तै हुन्छ। खाना पकाउने काम दिन दिनै गरि आएकै हो, गर्नै पर्छ।
तर आज हात हल्लाई र खुट्टा चलाई, अनि जिउ भारी भै राखेको महशुस भैराखेको छ – सरितालाई। मनमा कुरा खेल्दैछ। प्रेसर कुकरको सी..सी.. को आवाज मै पनि अर्को कोठामा आफ्नो मोबाइलमा घन्टी बजेको सुनिन्।
‘नानु, त्यो मेरो मोबाइल लिएर आइज त।’ तारेको प्याजमा बकुल्ला ओइरिँदै मोबाइल पर्खी तर छोरी आई पुगिनन्। आफू तुरून्तै जान सकेन तर आवाज आइरह्यो। अलि ठूलो स्वरमा ‘नानु सुनिनस्? मोबाइल लिएर आइज भनेको?’
दौडेर मोबाइल ल्याई पुर्याइ। तर रिङ गैसक्यो। ‘कसको हेर त’
‘मामाघरको आमाको मम्मी।’
‘अघि नै हेर भनेको सुनिनस्। हुन दे, म अहिले गर्छु।’
भोलि आमाको मुख हेर्ने दिन। तयारी गरेर जानु पर्ने। तर यो पल्ट जान मिल्ने जस्तो छैन। वर्षको एक पल्ट आउने। तै पनि जान पाए हुने। मन खिन्न खिन्न भयो। फोन गर्छु गर्छु भन्ने भैराखेको, तर घरायसी काम, भ्याइनभ्याइ भएकोले आफैले गर्न पाएको थिइनन्| कति बेला आमासँग कुरा गरूँ भैराखेको बेला – फोनको रिङ आमाकै हो भन्ने विश्वास र कानको तीक्ष्णता प्रेसर कुकरको आवाजले रोक्ने कुरै भएन।
(आफू सानो हुँदादेखि बिहे नहुन्जेलसम्म घरमै आमाको मुख हेरिन्थ्यो। आमाले नै तयारी गरिदिनु हुन्थ्यो। बिहानै आमा नुहाउनु हुन्थ्यो। हामी दिदी, दाइ, भाइलाई पनि मुख धोइ सकेपछि सफा लुगा लगाउन दिनु हुन्थ्यो। आमाको दैनिक भगवानको पूजा सकिसकेपछि अर्को सफा पूजा थाल तयारी हुन्थ्यो। पूजा थालमा फूल, दहीमा मुछेको रातो अक्षता, पहेंलो चन्दन, धूपबत्ती र एउटा केरा एउटा सुन्तला हुन्थ्यो।
सानो कोठामा आमा चकटीमा बस्नु हुन्थ्यो। सायद आमा त्यो चकटीमा वर्षको एक पटक त्यही दिन बस्नु हुन्थ्यो। अनि दिदी, दाइ हुँदै मेरो पालो आउथ्यो – आमालाई टीका लगाई दिनेमा। आमाले दिदीलाई, आमालाई पूजा गर्नु भन्दा पहिले साइडमा राखेको सुकुन्दाको गणेशलाई पूजा गर्न सम्झाउनु हुन्थ्यो। सुकुन्दाको बत्ती पूजा नसकिउन्जेल र आफैं ननिभिउन्जेल बल्न दिनु हुन्थ्यो। हामी सबैले आमालाई पूजा गरिसकेपछि खुट्टामा ढोग्थ्यौं। आमाको ममताको कुनै चिजसँग तुलना हुँदैन। त्यो बाल्यकालको आमाको चरणस्पर्श त्यति बेला केटाकेटी रमाइलो हुन्थ्यो। तर अहिले – कहिले आउला भन्ने हुन्छ।
त्यसपछि बुबाले बाहिरबाट किनेर ल्याइदिनु भएको जेरी खान पाइन्थ्यो।
आमाको अनुहार त्यो दिन अर्कै हुन्थ्यो – खुसी, सन्तुष्टि, सुखी, उज्यालो। )
‘त्यो आमाको अनुहार मलाई हरेक दिन हेर्न मन छ। होइन भने भोलिको दिन त पक्कै हेर्न मन छ।’ मनमनै सरिताले गुनिन्|
यी कुरा मनमा आइराख्दा पनि खाना बनाउने काम रोकिएको थिएन। आखिर सरिता पनि त अहिले आमा नै हुन् नि – छोराछोरीको खाना, परिवारको खानाको जिम्मेवारीमा आमाको ममत्व नै त हो।
दाल, तरकारी, भातको बन्दोबस्त भैसकेपछि अचार बनाउन बाँकी राखेर आमालाई फोन गर्न बसिन् सरिता।
‘हेल्लो, आमा ढोग गरें।’
‘भाग्यमानी। अनि के छ तेरो खबर ?’ आमाले उताबाट भनिन्।
‘ठीक छु आमा, खाना बनाई राखेकोले फोन उठाउन पाइनँ, अघि।’
‘होइन, ठीक छ।’
‘अनि सन्चै हुनुहुन्छ आमा ?’
‘सन्चै छु। भोलि त आउन पाउँदैनस् होला। तेरो दिदी पनि आउन पाउँदिन रे। केही चलेको छैन, लकडाउनले।’
‘त्यही त आमा। के गर्ने, के गर्ने। तपाईंको ज्वाइँलाई मोटरसाइकलमा पुर्याइदिनु न भनेको। जवाफै दिन सक्नु भएन,’ खिन्न हुँदै सरिताले भनिन्।
‘हुन दे, यसपालि। पर्दैन आउन। मेरो निधार खाली हुँदैन। तेरो भाए छँदैछ। अर्को वर्ष भै हाल्छ नि। त्यही पनि यो लकडाउन खुलेपछि भेटौंला।’
‘खोइ आमा। नियास्रो लागि राखेको छ,’ सानो स्वरमा भनिन्।
‘बरू केटाकेटीको ख्याल राख्नू। सासूको लागि सबै बन्दोबस्त राम्रो गरिदिनु – ज्वाइँको ख्याल राख्नू।’
‘हस् आमा।’
कुरा हुँदै थियो।
‘बुहारी, खाना खाने बेला भयो ?’ सासूको आवाज आयो।
‘ल आमा, अहिले फोन राख्छु। भोलि गर्छु,’ फोन राख्दै भान्सातिर जाँदै सासूलाई उत्तर दिइन् ‘भयो आमा, अचार बनाउँछु, आइहाल्नुस्।’
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
सरिता पढाउन जानु पर्दैन, उनका श्रीमान शेखर अफिस जानु पर्दैन, केटाकेटीको स्कुल छैन। सबै घरमै भएको दिन आमालाई पनि रमाइलो लाग्यो। हुन त आफ्नो छोरी पनि आउन पाइनन् तर यो वर्ष बुहारी घरमै हुने भइन्। सबै घरमै भएको हुनाले आमाको पूजा बिहानै गर्ने भइयो।
सरिताले पूजाको सर्धान, धूपबत्ती, फलफूल, मिठाइ, सगुन सबै तयार पारिन्। श्रीमान पनि तयार भए। आमा बेग्लै खुसी।
आमालाई पूर्वतिर फर्काएर बसाइन्। शेखर पश्चिमतिर पलेंटी कसेर बसे। करुवाको स्वच्छ पानीले सबैतिर छर्के। सुकुन्दाको गणेशलाई पूजा गरे।अनि आमालाई श्रद्धापूर्वक पूजा गरेर, फलफूल, मिठाइ, सगुन दिए र अन्तिममा ढोगे।
‘ल आऊ, सरिता तिमीले पनि आमालाई पूजा गर,’ शेखर ले भने।
सरिता केही अचम्म, केही दोधार तर धेरै खुसी देखिइन्। सासूलाई पूजा गरेर ढोगिन्।
‘भाग्यमानी भएस, बुहारी। आज मेरो छोरी पनि तिमी, मरेर गएको शेखरको बुवा पनि तिमी, मेरो बुवा आमा पनि तिमी। भगवानले तिमीलाई सधैं सुखी राखोस्।’
४ वर्षे छोरा दिदीलाई उछिन्दै ‘ह्याप्पी मदर्स डे’ भन्दै सरितालाई एउटा कागज थम्याए। कागजमा कत्र्याक कुत्रुक गर्दै तानिएको रेखाले आफ्नै चित्र बनाएको रहेछ। अनि साइडमा आफू र दिदीको चित्र। तल दिदीले सिकाएर लेखेको ‘HAPPY MOTHERS DAY’
८ वर्षे छोरीले बुवासँग मिलेर हजुर आमाको थैलीमा दुइटा किट क्याट चकलेट हिजै राखेर ठीक पारेकी थिइन्।
छोरी पनि बिस्तारै आएर ‘ढोग गरें मम्मी’ भन्दै एउटा सानो थैली हातमा दिइन्।
शेखरले मोबाइलमा मेसेन्जरको भिडिओ अन गरेर सरितालाई आमासँग कुरा गर्न मिलाइ दिए।
सरितालाई यो वर्ष आमाको मुख हेर्ने दिनमा छुट्टै अनुभूति भयो।