कविताः
आजकाल आमा बिहानै
मन्दिरको घण्टी बजाउँदिनन्
पुराणका श्लोकहरू गुनगुनाउँदिनन्
भजन–कीर्तनमा जाँदिनन्
जे-जे पहिला गर्थिन्, त्यो गर्दिनन्।
आजकाल त आमा बिहान बिहानै
समाचार फतफताउँछिन्
मेरो ढोकामा ढकढकको अलार्म बजाउँछिन्
भन्छिन्, 'उठ, कति सुतेको?'
म भन्छु, 'लकडाउन'।
अनि आमाको नयाँ पुराण सुरू हुन्छ
लकडाउन भनेको घर बस भनेको हो।
'कुम्भकर्ण बन्' भनेको होइन।
हो आजकाल
आमाको दिमागमै घण्टी बजेको छ
उनको पुराणका श्लोकहरू फेरिएका छन्
खै! आमा त अर्कै भएकी छिन्
उनी भन्छिन्,
'यो बेला भाइरस चिन्ने बेला हो
हामी भाइरोलोजिष्ट हुने बेला हो।'
आमा भन्छिन्,
यो बेला लकडाउन भनेको मास्क लगाऊ भनेको हो
मुखमा ताल्चा लगाऊ भनेको होइन।
नजिकै नबस् भनेको हो
मान्छेदेखि टाढिनु भनेको होइन।
लकडाउन भनेको सडकमा ननिस्किऊ भनेको हो
नचलमलाई कुँजिएर बस् भनेको होइन।
साबुनपानीले हात धुनु भनेको हो
दिमागमा खिया लगाऊ भनेको होइन।
लकडाउन भनेको मनभित्र घर बसाऊ
घरको चउर हेर भनेको हो,
पुरानै चस्मा लगाऊ भनेको होइन।
आँखाकै नानी फेर भनेको हो।
यो बेला घरभित्रै अनेकन घण्टी बजिरहेछ
त्यो सुन, कानमा फलामे मास्क लगाऊ भनेको होइन
हेर, लकडाउन भनेको
सेल्फ क्वारेन्टाइनमा बस मात्र भनेको हो
झनै बढी जिम्मेवार होऊ भनेको हो
मनावतालाई आइसोलेसनमा राख भनेको होइन।
हो यो बेला भाइरस सलबलाएको छ
र खोज्दैछ मानव शरीर
खोज्दैछ स्वास नली र फोक्सो
जुध्नु नै छ, जित्नु नै छ यो लडाइँ
यद्यपी, म जन्मिनुभन्दा कैयौं वर्ष अघिदेखि
सलबलाइरहेकै छ भाइरस।
खै! साल र गते त कसैले भनेनन्
सायद, त्यो बेला सल्लेरी डाँडोमा हिमपात वर्षेको हुनुपर्छ
जमुने फाँट खडेरीले तर्सेको हुनुपर्छ
हो त्यही बेलादेखि यो विशाल ब्रमाण्डमा
सलबलाइरहेकै छ भाइरस।
धर्मको नाम गरेका, जातको थर बोकेका
रङको गल्बन्दी भिरेका, विभेदको पछ्यौरी ओढेका
शक्तिको स्वाद चाखेका, सत्ताका उन्माद बोकेका
यो बेला भाइरस चिन्ने बेला हो
हामी भाइरोलोजिष्ट हुने बेला हो।
आमा प्रश्न गर्छिन्,
सजिवलाई निर्जिव बनाउन लागि पर्ने
भाइरस कसरी निर्जिव हुनसक्छ?
यो निर्जिव होइन, यसमा जीवन पनि छैन
जीवनविहिन सजिवता झन् खतरनाक हुन्छ।
खतरनाक हुन्छन्, मान्छेका रूप धरेका भाइरसहरू
झन् खतरनाक हुन्छन् श्रीपेच लगाएका भाइरसहरू
अझै खतरनाक हुन्छन् श्रीपेचका पेच खुस्केका भाइरसहरू।
आमा भन्छिन्, 'हामीले बुझ्नुपर्छ,
किन चप्पलहरू खाली खुट्टै सडकमा निस्के?
किन सडकहरू बाटो बिनै घर फर्के?'
म सोध्छु, 'चप्पललाई भाइरससँग डर नलागेको हो?'
'होइन, जीवनलाई सबैभन्दा माया गर्ने उनै चप्पल हुन्
त्यही चप्पलले हो सडक बनाएको, घर बनाएको
खेत बनाएको, मिल बनाएको,
समाज बनाएको, सभ्यता बनाएको,
सरकार बनाएको, सत्ता बनाएको
जीवन बनाउनेले नै हो, जीवनको सबैभन्दा माया गर्ने।
भोक भाइरल भएपछि रन्थनिएर
जीवनलाई माया गरेरै निस्केका हुन् सडकमा
जीवनलाई आदर गरेरै खोजेका हुन् घर, चप्पलहरूले
हामीले चिन्नुपर्छ ती भाइरसहरू
जसले चप्पलहरूलाई चुनावको तुना भिराएर
समृद्धि र साथको तलुवा बनाए
चप्पलहरू फेरे र जुत्ता भिरे
यो बेला भाइरस चिन्ने बेला हो
हामी भाइरोलोजिष्ट हुने बेला हो।
आमा भन्छिन्,
'मलाई कता कता अर्को विश्वयुद्ध सुरू भएझैं लाग्छ
विश्व सर्वशक्तिमानको तक्मा भिरेर
चिलहरूले मान्छेको मासु लुछेजस्तो लाग्छ।'
म आमालाई थमथमाउँछु, 'मान्छेको मासु होइन होला!'
आमा आफैं बराबराउँछिन्,
नत्र मानवतामाथि किन भाइरसजन्य राजनीति गर्थे?
किन सिंगो समयलाई आइसोलेसनमा राख्थे??
यो बेला भाइरस चिन्ने बेला हो!
हामी भाइरोलोजिष्ट हुने बेला हो!!
twitter @kedarstha