बिहानै ‘स्टाइल हेयर काँटिंग सैलुन’ को दुकान खुल्यो। श्याम ठाकुर एक कवलको दुकानको दुबै खापा खोलिसकेपछि फल्चा र अगाडिको ढुंगा छाएको सडक बढार्दैछ।
हातमा स्टिलको गिलास लिएर तातो चिया सुरुप्प पार्दै बेकुलालले सोधे ‘ओहो ठाकुर भाइ, आज निक्कै दिनपछि पसल खोल्यौ त।’
‘के गर्नु साहुजी, ए कोरोनाले सबै दुकान बन्द गरिदिए। अब खोल्न मिल्छ भन्ने सुनेको थिएँ। त्यसैले खोलि रहेको छु।’
घुम्रिएको कपालमा तेल लगाएर कोरेको। बीचमा सिउँदो पारेर आधी कान छोपेको कपाल, कन्चट र निधारमाथि केही सेता भैसकेका। पेट नलागेको शरीरमा धर्के सर्टले पाइन्टले फस्नरसम्म छोपेको। टोलकै दर्जीले सिलाएको पाइन्ट पनि मोटो गोलाइकै। खुट्टामा चप्पल।
श्याम ठाकुर को कपाल काट्ने दुकान यो टोलमात्र होइन परपरकै टोलमा पनि फेमस। ३० वर्ष भयो यो टोलमा आएको। कपाल काट्नै नजानेको बेलामा काकाले लिएर आएको काठमान्डुमा। ५ वर्ष सँगै राखेर सिकाएका थिए, काकाले कपाल काट्न। खान बस्न फिरी।
यो टोल पुरानो, साँघुरो र ढुंगा छाएको सडक भएकोले मोटर आउन पाउँदैनथे। घरहरू पनि कुनै पुराना, कुनै नयाँ। अरूबेला निस्फिक्री मान्छे हुन्थे। टोलमा सबैजसो आवश्यक पसल थिए। किराना, रेडिमेड, बिजुलीको सामान, मोबाइल, कपडा, तरकारी, ब्युटी पार्लर।
तर अहिले, खाली खाली। एक दुइटा किराना र तरकारीबाहेक अरू सबै पसल बन्द।
‘अनि आउँछ त ग्राहक?’
‘खै? साहुजी, अब भगवान भरोसा। कपाल त सबैको लामो भएकै होला।’
भित्रबाट स्टिलको गिलासमा पानी ल्याउँदै सबैतिर छर्के। त्यसपछि भित्र गए र भगवानका फोटा सफा गरे। नबुझिने गरेर मन्त्र पनि पढे। अगरबत्ती सकिएको याद भएन।
‘साहुजी, अगरबत्ती एक बट्टा दिनुस त।’
साहुजीले सिन्का धुप एक बट्टा दिँदै सोधे, ‘सलाई पनि चाहिन्छ?’
‘छ, साहुजी।’
‘आज ग्राहक नआए, मै पहिला आउँछु है?’
‘भैहाल्छ नि।’
बेकुलालको किराना पसल दिनदिनै खुल्छ। चिनी, दालदेखि सलाई, साबुन सबै पाइन्छ। बिहान केही समय भीडभाड नै हुन्छ। यद्यपी अरू बेलाजस्तो होइन। सबै ग्राहक केही हच्केकोजस्तै देखिन्थे। तर बानी पर्दै गए पछि पहिला जस्तै। कसै कसैले ‘स्यानिटाइजर छैन?’ भन्थे, कसैले ‘यो पैसाबाट नि सर्छ रे’ भन्थे। बिहानको १० बजे पछि पसल बन्द हुन्छ।
टोलमा डेरामा बसेका धेरै घर हिँडिसकेका थिए।
तीन घरपरको रेडिमेड पसलको दिदी पनि किराना पसलमा आइन।
‘ओहो, ठाकुर दाइ। आज त पसल खोल्नु भएछ।’
‘के गर्ने बहिनी, यो दुकान बन्द भएको पनि ३ हप्ताबेसी भैसक्यो। आज पनि खै पुलिस आउने हो कि? खोल्न मिल्छ भनेर सुनेको, त्यसैले खोल्दैछु।’
‘त्यसो भए मेरो श्रीमानलाई पनि पठाइदिन्छु।’
‘अनि केटाकेटी ?’
‘केटाकेटीको कपाल नि लामो भएको थियो। श्रीमानले नै काटी दिनुभो।’
‘लौ, अनि कस्तो भो त?’ हाँस्दै भने श्यामले।
‘ए, केटाकेटीलाई चलिहाल्छ नि।’
‘टाटेपाटे भो होला। अनि श्रीमानलाई पठाइदिनुस है बहिनी,’ अलि राम्रैसँग हाँसे।
‘हस हस’ भन्दै उनी किराना पसल छिरिन्।
एक जना २० वर्ष जतिको केटा आइपुगे। किराना पसलमा भीड देखेर सैलुनमा छिरे। ऐनातिर हेर्दै कपाल मिलाउँदै टाउको हल्लाए।
‘कपाल काट्ने हो भाइ?’
‘होइन, दाइ। हुन दे। अहिले लामो भएर केही भा छैन।’
श्यामकोमा कपाल काट्ने अरू केटाहरू कोही छैनन्। सबै गाउँ हिँडिसके। काम पनि नभएर, कमाइ पनि नभएर। यत्तिका दिनसम्म बन्द त श्यामले कहिल्यै बेहोरेको थिएन। दशैंतिहारमा नि चलिहाल्थ्यो। आन्दोलनको बेलामा पनि मिलाई-मिलाई भित्रभित्रै भए पनि कपाल काटेर सेवा दिएकै थिए। र आफ्नो पनि जीविका चलेकै थियो। तर यो कोरोना महामारीमा त एकसुको काम भएन। यस्तो दिन आउँछ भनेर कसलाई थाहा थियो र।
मनमा कुरा खेलाउँदै हातमा सुर्ती माड्दै थिए।
‘अनि दाइ कपाल काट्दा कोरोना सर्दैन?’ केटाले जान्ने भएर सोधे।
‘कहाँ सर्छ कोरोना, कपाल काट्दैमा?’ अलि ठूलो स्वरमा उत्तर दिए, ‘मलाई छ र थोडी, सर्न? यहाँ कैंची चलाउनै पाएको छैन। तौलिया दराज भित्रै बन्दको बन्दै। अनि कहाँबाट सर्छ?’
ठूलो स्वर सुनेर केटो अलि हच्किए।
‘हैन दाइ, सर्न सक्छ भनेको,’ भन्दै फुत्त निस्किए।
श्याम सुर्ती च्याप्दै बाहिर उभिए।
पल्लो गल्लीको माल्दाइ लुखुरलुखुर हिँड्दै थिए। सैलुन कटेर केही पर पुगेको पनि फर्केर आए।
‘कत्ति दिन भो, कपाल काटौं भनेको। आज खुलेको रहेछ।’
‘बस्नुस, बस्नुस।’
‘अनि सफा त छ? फेरि कोरोना…’
प्रश्न टुंग्याउन नपाउँदै श्यामले उत्तर दिए, ‘म सफा गरिहाल्छु। कैंची, काँगियोलाई साबुन पानीले धुन्छु नि। अनि हात पनि। यी, मास्क पनि लगाउँछु।’
‘अनि यो तौलिया, अगाडिको कपडा नि?’
‘आजभोलि घाटीमा तौलियाको सट्टा कागजको ब्याण्ड राख्छु, खोलेपछि फाल्न मिल्छ। अनि अगाडिको कपडा पनि अर्कै छ। स्यानिटाइजरको स्प्रेले सफा गर्छु। तपाईंको मास्क त छँदैछ।’
‘यस्तो त पहिला थिएन नि होइन?’
‘छ न त छ, अहिले सबै चिज, साबुन पानी वा स्यानिटाइजरले सफा गरेको। पहिला स्यानिटाइजर थिएन। अहिले किनेर राखेको।’
‘बेस।’
‘कपाल धेरै लामो त छैन रहेछ,’ भन्दै कुनाको सानो बेसिनमा कैंची, काँगियो साबुन पानीले धुन थाले।
‘अँ, लकडाउन हुनुभन्दा केही दिनअगाडि मात्रै काटेको थिएँ। आजभोलि त त्यो मेसिनले पनि घरमै काट्ने रहेछ।’
‘हाम्रो त कामै नहोला कि के हो,’ पीर मिसिएको हाँसोमा भने।
‘कहाँ सबैले मेसिन चलाउँछन् त। जान्नु नि पर्यो नि।’
‘खै के, खै के। यो कोरोनाले सब उथलपुथल भयो।’
‘अनि आज दिनभर खोल्नु हुन्छ त?’
‘हेरौं। १० बजेतिर बन्द गर्छु कि?’
बिस्तारै श्यामको शिल्पी हातको जादुमा कैची नाच्न थाल्यो ‘च्वाइक.. च्वाइक.. चक..चक..चक’ गर्दै।