‘पट्याक पट्याक’ चप्पल पट्काउँदै दिले, हुल नजिक आई पुग्यो। आफूले चिनेको दाइ र केटाहरूलाई देखेर उसको अनुहारमा चमक आयो।
‘तपाईंहरू नि घर हिँडेको हो, दाइ?’ गोरो अनुहार, पातलो ज्यान, भर्खर १३ - १४ को हुँदो हो दिले।रातो गोल गला टिसर्ट, दुवैतिरको काखीमा झोलाको खकनले मुजा परेको छ।
चप्पल लगाएको खुट्टाको कुर्कुच्चासम्मै पुरानो जिन्स पाइन्ट लत्रिएको छ। आफूभन्दा ठूलै देखिने झोला पछाडि भिरेकोले ज्यान सकसले सोझ्याएको देखिन्छ।
दिलेसँगै उसको साथी हर्के पनि छ।
‘अँ.. तँ पनि हिँड्न लागिस् ?’ ३० वर्ष जतिको जगतले सोध्यो।जगतसँग ६ जना अरू केटा पनि छन्।
‘अँ दाइ, गाउँ हिँड्न लागेको। सबै हिँड्न थाले, यहाँ काम नि भएन। खानेकुराको जोहो गर्न नि गाह्रो हुने भो। त्यही भएर।’ दिलले एकै सासमा भन्यो।
‘ल ल हिँड। सँगसँगै रमाइलो पनि हुन्छ,’ जगतले भन्यो।
जगतको साथीले सोध्यो ‘तँ चिन्छस् ? यो फुच्चेलाई। अनि तिमीहरूको घर कहाँ नि?’
‘रामेछाप, दाइ।’ दिलेको साथी हर्केले जवाफ दियो।
(गौशालाको मुख्य सडकमै हिँड्दैछन् – यी केटाहरू। संयोगले दिले र हर्केले जगत र अरू दाइ भेटे। दाइहरू चाबहिलतिरबाट आउँदै थिए। सबैसँग पछाडि भिर्ने झोला छन्। अनुहार निराशासँगै आशा मिश्रित छन्।)
‘दाइ यो गाडीसाडी केही नचल्दा, हामीलाई पुलिसले त समाउँदैनन् नि?’, चिन्तित हुँदै हर्केले भन्यो।
‘हैट, मूला। कहाँ समाउँछ ? घर जाँदा नि समाउँछ ?’ जगतको साथीले फूर्तिका साथ ढाडस दियो।
अलि ढुक्क भयो हर्के।
(जहिले गाडी हिँड्ने रोड, अहिले केही पिकअप बाहेक अरू गाडी थिएन।खाद्यान लेखेका। त्यसैले कालोपत्रे सडकमै हिँड्दै छन् केटाहरू। सर्याक सर्याक आवाजका साथ्। कोही कोही मात्र फुटपाथतिर।)
बिहानको उज्यालो, घाम उदाउनै लागेको। शीतल वातावरण। चराचुरुंगीको आवाज पनि। दायाँ-बायाँ ठूला ठूला घर तर चहलपहल छैन। पसलहरू सबै बन्द।
एयरपोर्ट, तीनकुने, कोटेश्वर हुँदै भक्तपुरको सल्लाघारी पुग्दा घाममाथि आइसकेको थियो। चैतमै भए पनि गर्मी महशुस भएको छैन। बिहानको घाम पनि न्यानो।
भक्तपुर जाने तीन दोबाटोमा पुलिसले सोध्यो ‘कहाँ जान लागेको केटा हो?’
‘घरतिर जान लागेको, सर।’ जगतको अर्को साथीले जवाफ दियो।
‘कहाँ हो घर ?’
‘सिन्धुली।’
‘अनि कहिले पुगिन्छ त ?’ पुलिसले अचम्म मान्दै सोध्यो।
‘जहिले पुगिएला। ३ दिन त लाग्ला कि ?’ जगतले भन्यो।
‘अनि यही बाटो हिँडेको ?’
‘के गर्नु त दाइ ? गाडी छैन। छोटो बाटो नि थाहा छैन। अनि बाटैबाटो हिँड्नु परिगो |’
अर्को पुलिस आएर अलि ठूलो स्वरमा सोध्यो ‘अनि यसरी हुल गरेर हिँडे कोरोना सर्छ त केटा हो।’ ‘एक ठाउँबाट अर्को ठाउँ जानु हुँदैन भन्ने थाहा छैन?’
‘खै ? थाहा न–थाहा। काम छैन – पैसा छैन।पैसा नभएपछि, मुखमा माड छैन।नगएर के गर्नु ?’ अर्को केटाले जवाफ फर्कायो।
‘अनि तिमीहरूको घरमा को को छन् त ?’
‘छन् नि बुवा आमा,परिवार, केटाकेटी।’
अघिसम्म अलि पछाडि उभिएका दिले र हर्के पनि अगाडि आए।
‘जान दिऔं, सर, यिनीहरूलाई अहिले। बिचराहरू। समय नै यस्तै छ।’
जगतको साथीको मोबाइल बज्यो। ‘अँ, आज हिँडेको। पर्सिसम्म आइपुग्छु कि?’
दिलेको न आफ्नो मोबाइल न घरमा मोबाइल। चुपचाप कुरामात्र सुन्यो।
साँगाको उकालो।अनि घाम। अघिसम्म न्यानो लागि राखेको घाम भाते ढिकुरको उकालोदेखि नै दिक्क लाग्दो गर्मी भैसकेको छ। घामकै तातोले मात्र होइन, हिँडाइले ज्यानको तातो नि बाहिर निस्क्यो।
नलिन्चोक हुँदै पलाँसे काटेर दुई घुम्तीपछिको ठूलो घुम्तीमा सुस्ताउन डिलतिरको ढुंगामा बसे सब।
मिनरल वाटरको बोतलमा भरेको पानीले घाँटी भिजाए। पश्चिमतिर घरैघरका बाक्ला सहर देखिए।वरिपरि डाँडा। बीचमा ठूलै घना बस्ती। यत्तिका घर एकै ठाउँमा कहिले याद थिएन।
काठमाडौं उपत्यका – मन्जुश्रीले चोभार डाँडा नकाटेको भए यी घरहरूको सट्टा कमलका फूलहरू हुन्थे कि? अनि, हाँसहरू जल विचरण गरिरहेका। स्वयम्भूको डाँडा, एउटा थुम्को रूखको जंगलबाहेक वरिपरिका ताल माथिमाथि मात्र मान्छेका घरहरू हुन्थे होला।
‘ओहो! हामी त्यति टाढाबाट हिँडेर आइयो है?’ दिलेले छक्क परेर हेर्दै भन्यो।
‘उ… त्यो काठमाडौं, अनि त्यो भक्तपुर, उ .. त्यो पारि डाँडाबाट नागढुंगा भएर पोखरा निस्किन्छ। अनि त्यो बीचमा घर नभएको लामो बाटो जस्तो छ नि, त्यो एयरपोर्ट। प्लेन नि देखिन्छ। देखिस?’ जगतले दिलेलाई बेलिविस्तार लगायो।
‘देखें दाइ।’
‘अनि नि, है दाइ, रिजपमा दोलालघाट आउँदा यहाँ आइपुग्न आधि घण्टा नि लाग्या थिएन है हाम्लाई?’ दिलेले मन्द मुस्कानमा भन्यो। ‘झन् दाइको हँकाइ त, तुफान जस्तो।’ दिलेले पुरानो कुरा सम्झँदै भन्यो।
‘तैले नि मेरो माइक्रोमा काम गरेर कति घुम्न पाइस है?’
‘तपाइको माइक्रो ?’ जिस्क्याउने मुस्कान दिएर लामो लेघ्रो तान्यो।
‘अनि मैले हाँक्दा मेरो भएन त?’
‘त्यसो भए म त मालिक। म त झन् पैसा उठाउँथे।’
‘तँलाई साँच्चि साहुले पैसा दियो ?’ जगतले सोध्यो।
कुरा सुन्नेबित्तिक्कै सानो मुख भयो दिलेको।
‘दिएन, लोभी साहूले,’ रिस पोख्दै भन्यो।
‘अनि अहिले पैसा छैन तँसँग ? घरमा के भन्छस् त बाउआमालाई ?’
‘बाउ त छैन। आमा, भाइ बैनी छन्।’
‘अनि आमालाई झन् दिनु पर्दैन त ?’
जहिले पतरपतर बोल्ने, हाँसी राख्ने, जिस्किराख्ने,चंचले दिलेको अनुहार एकाएक मलिन भयो। आमा सम्झेर।
‘घरबाट काठमाडौं आएको एकै वर्ष त भयो। दुई वर्ष अघि बाउ बित्यो। गाउँमा आमा, सानो बहिनी र भाइलाई छोडेर हिँडेको। स्कुल पनि छोड्यो। आमाले सानै छस्, के गर्छस्, काठमाडौंमा भनेको थियो। जे भए नि गरौंला भनेर आएको थियो। काम त के नै पाइन्थ्यो र। उमेर नै होइन काम गरि खाने। र नि कहिले होटल, कहिले मोटरसाइकल पसल हुँदै माइक्रोमा यात्रु चढाउने र उतार्ने अनि पैसा उठाउनेमा रमाउन थालेको थियो। गाउँकै चिनेको दाइले गर्दा यति भएको। तिनै पनि होटलमा भाँडा माझ्ने।)
‘किन रून्चे मुख लाउछस् है दिले ?’ अलि ठूलो स्वरमा मायाले हकार्यो जगतले।
चुप लागेर बस्यो, दिले।
‘ला पान सय रुपे। लगेर आमालाई दिएस्।’
‘पर्दैन दाइ। मैले पनि यसो उसो गरेर पन्ध्र सय बचाएर राखेको छु।’
‘ठीक छ तेरो पन्ध्र सयमा मेरो पान सय थप्दे आमालाई। तैले मसँग ३ महिना काम गर्या छस्।हिसाब किताबमा तँ इमान्दार थिइस्। फेरि म तेरो दाइ जस्तै हुँ नि।’
दुई थोपा आँसु तुरूक्क चुहाँउदै हात लम्कायो दिलेले। जगतले नि थाम्न सकेन।
हर्के र अरू केटाहरू झ्यांगतिरबाट पाइन्टको फस्नर लगाउँदै आए।
‘ए, हिँड्ने होइन केटा हो ? यस्तरी त कहिले पुग्नु हो ?’जगतका साथी कराए।
सबै जर्याक जुरूक्कक उठेर हिँड्न सुरू गरे।
भैंसेपाटी, जनागाल, बनेपा हुँदै धुलिखेल आइपुगे।
‘ए दिले, तेरो चप्पल छिन्या हैन? त्यहाँ जुत्ता राखिरा रैछ। जा त हेर।’
धुलिखेल बसपार्कमा स्थानीय युवाहरूले स्व:स्फूर्त रूपमा पैदल यात्रुलाई पानी, चाउचाउ, बिस्कुट, दाल्मोट बाँडिरहेका रहेछन्।नजिकै फोटो खिच्न नपाउने सर्तमा लगाउनु हुने जुत्ता पनि बाँडेका रहेछन्। दिले जस्तै कसैको चप्पल चुँडिएका, कसैको जुत्ताले दुखाएको आदि गाह्रो परेकोलाई धेरै मद्दत पुगिराखेको थियो। दिलेले नजिक गएर आँखा डुलायो।एक जोर स्पोर्ट्स जुत्ता तानेर हेर्यो।
‘लगाएर हेर बाबु, ठीक भयो भने लगाएर जाऊ,’ एक स्थानीय युवाले भने।
दिलेको खुट्टा चप्पल छोडेर जुत्ताभित्र पस्यो। सजिलो लाग्यो। स्पोर्ट्स जुत्ता देखेर मन पनि फुरुंग भयो।
हर्केले पनि नियाल्यो र अर्को जोर भेट्टायो।
‘तिमीलाई पनि मन पर्यो भने लगाऊ बाबु। पैसा लाग्दैन,’ भन्दै अर्को युवाले जुत्ताहरूमा स्प्रे गरे।
जगत र साथीहरू एकछिन बसे। शरीरको थकान, निधारका मुजा, सुकेका ओठ, पसिनाले भिजेका कन्चट, नाक र गाला बीचको लेप्रिएको रेखीले प्रष्ट देखिन्थ्यो।
‘तपाईंहरूले त्यो पानी, दालमोठ बिस्कुटको झोला लिनु भए हुन्छ है,’ नाक मुख छोपेर मास्क लगाएका एउटी बहिनीले मिनरल वाटरको बाकस र प्लास्टिकको झोला झोलाको पोका देखाएर भनिन्।
थकित अनुहारमा थोरै असामाञ्जस्यता, थोरै खुसी, धेरै कृतज्ञता झल्कियो। कता कता भित्रैदेखि आफ्नै परिवार भेटे जस्तो अनुभूति गरे।
‘भयो बहिनी।हामीले पनि बोकेर आएका छौं। बरू पानी एउटा लिन्छु नि है?’
दिले र हर्के जुत्ता लगाएर दाइहरू भएकोतिर आए– मख्ख पर्दै।
‘ओ, हिरो भइस् एई केटा हो। तेरो जिन्स् त्यो स्पोर्ट्समा क्या सुहायो।’ जगतको साथीले भन्यो।
दिलेको दिल एकै छिन भए नि गार्डेन गार्डेन भयो।
अलि पर त्यस्तै हिँडेर आएका अर्को समूह थकान मार्दै रहेछ। महिला केटाकेटी पनि। एक महिलाको काखमा सानो बालक कहिले रूँदै कहिले झिजो मान्दै रहेछ।
दिलेले सानोमा आफ्नो भाइ आमाको काखमा लडिबुडी खेलेको सम्झ्यो।
फेरि सम्झ्यो, यति सानो बच्चालाई बोकेर कसरी हिँडेर आइपुगे होला। आफ्नो गाह्रो त छँदैछ।
अनायास जगतलाई भन्यो।
‘दाइ, त्यो साहूको माइक्रो आज एक दिनको लागि हामीलाई दिएको भए, यी सप्पैलाई राखेर हुँइक्याइ घर घर पुर्याइदिनु हुन्थ्यो।’
‘म त सा..ला.. सुको पैसो नि लिन्नथें।’