साबुन पानीले मिचिमिची
हात धोऊ भन्नी।
धारामा भने पटक्कै
पानी दिन नसक्नी।।
बाहिर हिँड्दा
मास्क लाऊ भन्नी।
मास्क चाहिँ कुन पैसाले
कहाँ बाट हो किन्नी।।
बाहिर केही छोएसी
स्यानिटाइजर दल भन्नी।
कोही छ मलाई यहाँ
स्यानिटाइजर दिनी।।
कोरोनाको शंका लागेमा
सेल्फ आइसोलेसनमा बस भन्छौ।
एउटै कोठामा बस्नु पर्ने हाम्रो बाध्यता
भन तिमीले कहिले बुझ्छौ।।
कसरी कायम हुन सक्ला
तिमीले भनेको सामाजिक दूरी ।
यही झुपडी नि उडाउने डर छ
आयो भने नि सानै हुरी।।
जो जहाँ छौ,त्यहीँ बस भन्छौ
हामी कहाँ के खाएर बाँच्नी।
भारतले पाल्न सक्दिनँ घर जाऊ भन्यो
तिमी भने हामीलाई सीमाना मै रोक्नी।।
स्वाभिमानको कुरा गर्छौ
देशभक्ति,राष्ट्रियताको गफ छाँट्छौ।
तर दीनदु:खी निमुखा आफ्नै नागरिकलाई
आफ्नै देश छिर्न किन रोक्छौ।।
अर्बौं रकम छुट्ट्याएका छौ रे
कोरोनासँग जुध्न।
किन सक्दैनौ हामीलाई देशमै ल्याई
क्वारेन्टिनमा राख्न।।
तिम्रा सूचना तिम्रा उपदेश
होलान् जनहितमा जारी।
हामी दीनदु:खी निमुखा गरिबलाई
त्यो सुन्दा,पढ्दा,हेर्दा मनै हुन्छ भारी।।
यस्ता अर्ति,उपदेश नदेऊ हामीलाई
दिन नसक्ने भए कुनै राहत।
यी व्यंग्य हुन्छन् ,अपमान हुन्
मन हुन्छ हाम्रो धेरै आहत।।