संसदको दुई तिहाई बहुमतले
(प्रतिपक्ष सहित )
पारित गर्यो एउटा प्रस्ताव र
घोषणा गर्यो डोजरलाई
राष्ट्रिय वहाक,
विकासको मेरुदण्ड,
मानव इतिहासकै अनुपम
आविष्कार
त्यसको भोलिपल्ट प्रधानमन्त्रीले
उद्घाटन गरे भब्य डोजर अभियान
डोजरहरु उक्ले पहाड,
पर्वतका मुटुहरुमा र
खोतल्न थाले विकास
र समृद्धिको नविन ट्रयाक
तर,कुनै एक निर्जन जंगलमा
केही बुढा रुखहरु उभिए
डोजरको विरोधमा
आफ्नो १५० वर्षे गर्विलो इतिहासको
हवाला दिदैँ
जरो गाडिएको जंगल नछोड्ने प्रण
गरे रुखहरुले
सत्तासिन समृद्धिका ठेकेदार र
कथित विकासविद्हरुले तुरुन्तै
रुखहरुलाई
विकास विरोधी र देशद्रोही
घोषणा गरे
बलात् हत्या गरियो
बुढा रुखहरु र तिनको संघर्षशील
इतिहासको र
निर्माण भयो समृद्धिको बहाक
द्रुत मार्ग
मार्गका दुवैतिर निर्माण गरिए
भब्य गमलाहरु र
रोपिए रुखहरु
जसको तल ठूलो अक्षरमा लेखियो
'वनजंगलको संरक्षण गरौँ
हरियाली प्रवर्द्धन गरौँ'
उद्घाटन समारोहमा सडकको
हरियालीबात वशीभूत प्रधानमन्त्रीले
सडकको नामाकरण गरे
हरित मार्ग।