कविता
टन्टलापुर घाममा, तिम्रो उपस्थितिले शीतल बनाउँछ
किसान, निलो आकाशमा तिम्रै आगमन को प्रतीक्षा गर्दछ
चित्रकार, तिम्रै आकृति पछ्याउँदै मनमोहक चित्र कोर्दछ
गीत संगीतकार, तिम्रै बयानको सुमधर गीत रचना गर्दछ
भन
बादल, तिमी किन यति प्रिय, सबैको लागि
न तिम्रो निश्चित आकार छ, न ठेगान
न तिम्रो निश्चित रंग छ, न सुवास
अझ रिसायौ भने डरलाग्दो आवाजमा कडकिन्छौ
आकाशमै करेन्ट प्रवाह गराई दिन्छौ
धरतीमा आइपुगे जीवात्मालाई नि परलोक पुर्याइ दिन्छौ
कहिलेकाहीँ तिम्रो रिसले यो धरतीका धेरै चिज बगाएर समुन्द्रमा पुर्याइ दिन्छौ
उस्तै परे महिनौ दिन हराएर खडेरी नि लाइ दिन्छौ
भन
बादल, र पनि, तिमी किन यति प्रिय
तिम्रो आफ्नै रंग छैन, तर पनि प्रस्तुत हुन्छौ
कहिले सुनौलो, कहिले रातो, कहिले पहेंलो
कहिले कपास जस्तो सेतो, कहिले गाढा खैरो, छिरबिरे खैरो, खैरो मा सेतो घेरो
मनमोहक रंग तिम्रो, वर्णन गर्न कति गाह्रो, गाह्रो
त्यस्तै, आकार पनि अनेक
कहिले सेता पहाड जस्ता लाग्ने, कहिले समुन्द्रका लहर
कहिले खेतका गह्रा जस्ता भने, कहिले अन्तरिक्ष यात्रामा जान लागेका बथान आत्मा हरूका जत्था
समग्रमा भन्नुपर्दा
मानौ सम्पूर्ण प्रकृति त्यहीँ, हाम्रो रमाइला कल्पना पनि त्यहीँ
भन
बादल, तिमी किन यति प्रिय
छल पनि त तिमी कति गर्न जान्नेछौ
कालै भएर पानी पारौला जस्तो देखिन्छौ, तर एक्कै छिन गड्यामगुडुम मात्र गरेर बेपत्ता हुन्छौ
एक छिन एउटा आकारमा हुन्छौ, अर्को क्षण अर्कै, कुनै जादूयी खेलौना जस्तो
कहिले जनावर, कहिले प्रकृति, कहिले मानव, कहिले भगवान, जे सोच्यो त्यही
सेतै राम्रो देखि रहेथ्यौ, केही क्षणमै सुनौलो, अर्को क्षण रातो हुँदै, विस्तारै अँध्यारो अनि अदृश्य
चन्द्रमा लाई घुम्टो ओढाइ रहन्छौ, थाहै हुन्न कति बेला हराइ दिन्छौ
लजालु चन्द्रमा, हँसिलो मुद्रामा प्रकट गराउन
बादल, तिमी किन यति प्रिय
तिम्रो अवतार हेरेर,
प्रेमील जोडी मायाको गहिरो सागरमा डुबी रहन्छन्, कसम खान्छन्, एक अर्कामा लिन हुन्छन्
तिम्रो रंग हेरेर,
चित्रकार अनेकन सुन्दर चित्रकला तयार पार्छन्, र पनि कहिले अघाउँदैनन्
तिम्रो जल सिंचन ले,
धरतीका हरेक जिवात्मा हरू खुसी हुन्छन, शीतल अनुभव गर्छन, नाच्छन, गाउँछन
तिम्रै पर्दा बनाएर,
चन्द्र, सूर्य, हिमाल, पहाड, लुकामारी खेलि रहन्छन
मानिस,
गीत कोर्छन, संगीत भर्छन, लयमा गाउँछन
साहित्य कोर्छन, स्वैर कल्पनाका कथा भन्छन, छुन खोज्छन
घामको रापले कति पोल्छ होला तिमीलाई
हावाको बेगले कति उडाउला तिमीलाई
कयौं कोश को यात्राले कति थकाउला तिमीलाई
उचाई को चिस्यानले कति सताउला तिमीलाई
धरतीको धुलो धुँवाले कति चिलाउला तिमीलाई
अय्या, आत्थु, स्यु, स्यु, ह्याँछ्यू
केही नगरी
आत्मा हुनेले भन्दा बेसी आत्मीय छहारी दिने बादल
तिमी अत्ति नै सुन्दर छौ, शीतल छौ, विशाल छौ
र तिमी
साह्रै नै प्रिय छौ