'भोलि जसरी पनि पुग्नु छ त्यहाँ...
अर्को महिना त्यहाँ पुग्नु छ...
अर्को वर्ष त जसरी पनि पुग्नै छ त्यहाँ...'
तिमीलाई केही-कोही सम्झने फुर्सद कहाँ छ र !
घडीको काँटा पछाडि नफर्किए झैं पछाडि कहाँ फर्कन्छौ र !
तिमी,
जो हिँडिरहेछौ निरन्तर 'मास्टर प्लान'को कंक्रिट बाटो
सफलताको नशाले लरबरिएका
तिम्रा प्रत्येक पाइलैपिच्छे कुल्चिइन्छन्-
सम्झनाका प्रतिछायाहरू, सम्झनाका प्रतिध्वनीहरू
तिमीलाई सम्झनै छैन-
प्रेमको अनुरोधमा फुलेका मुस्कान कुन घुम्तीमा छुटिगए
प्रेमको अनुरोधमा खसेका आँसु कुन एयरपोर्टमा बिलाइगए
बाआमाको आँखाले खोजिबस्ने तिम्रो चेहरा कस्तो थियो ?
क्याफेहरूमा घन्टौं कुरिबस्ने मानिसप्रति तिम्रो सम्बोधन के थियो ?
-तिमीलाई सम्झनै छैन
तिमी,
जो दौडिरहेछौ आफैंलाई बिर्सिएर !
उज्यालोको खातिर आगो नजिक गइरहेको पुतली झैं बिर्सिरहेछौ-
मेरो घर त बगैंचामा हो !
मेरो संगत त फूलहरूसँग हो !!
तिमीलाई यादै छैन-
हिँड्नुअघि पुच्छर हल्लाएर कुइँकुइँ गरिरहेको कुकुरको नाम
तिमीसँगै अस्ताउने र उदाउने विरालोको आदत
यादै छैन-
हजुरआमाका ओंठ थर्थराउँदा निस्कने लोककथाहरू
तिम्रा स-साना पैतालाले टेकेको हजुरबाको काँध
स्कुलको त्यो अन्तिम दिनमा ढाडमा क-कसले लेखेका थिए नाम ?
तिम्रा असफल कोसिसमा ढाड थपथपाउने हात क-कसका थिए ?
-तिमीलाई यादै छैन
तिमी दौडिरहेछौ निरन्तर...
जहाँ 'सम्झौता' भन्ने कुनै शब्द छैन, छैन 'त्याग' भन्ने कुनै वचन
जहाँ 'विश्राम' भन्ने कुनै स्टेसनै छैन
-तिमीलाई त कसैगरी संसार जित्नु छ
तर, एक दिन तिमीसामु प्रश्न उभिनेछ,-
'आखिरमा जित्नु केका लागि?'
'आखिरमा प्राप्ति कसका लागि?'
त्यस दिन...
निकै निराश हुनेछौ तिमी, उदास हुनेछौ
पत्तो पाउनेछौ- 'अहो, जिन्दगीलाई त धेरै पर छुटाइसकेँछु !'
त्यसपछि तिमीलाई-
केही सम्झनाहरू सँगै लैजान मन लाग्नेछ
केही यादहरू सँगै लैजान मन लाग्नेछ
सँगै लैजान मन लाग्नेछ, केही प्रेमिल सम्बन्धहरू
र, एक दिन मात्र भए पनि...
र, एक घण्टा मात्र भए पनि...
र, एकै मिनेट मात्रै भए पनि...
-मीठा स्मृतिहरू सम्झन समयको भिख मागिरहेका हुनेछौ
तर, यतिन्जेलसम्ममा मृत्युले तिम्रो चिहान खनिसकेको हुनेछ।