काजलले झ्याल खोलेर हेरी। उसैगरी हावा चलिरहेछ, मन्द मन्द। लमतन्न सुतेको कालो सडक नियाल्छे, बीच बीचमा खाल्टाखुल्टी झ्यालटुङ खाइरहेछन्, बिफरले डामेको गालाजस्तो। फिटिक्कै चहल पहल छैन। चारैतिर शून्यतामा हराएको छ वातावरण।
उस्को मन ढक्क फुल्छ, कता-कता अदृश्य भयले उस्को मनलाई चरप्पै गाज्छ। टाढा बासको झ्याङमा एकहुल काग झुत्ति खेलीरहेछन्। उस्को मन केही चलायमान हुन्छ। एक बाहन परबाट कोकोहोलो छोड्दै आइरहेछ। हेर्दा हेर्दै त्यो बाहन उस्कै झ्याल अगाडिको बाटो काटेर जान्छ। ऊ त्यो बाहनमा लेखेको दुई शब्द पढ्न भ्याउछे 'सब-बाहन'। उस्को मुटुले ठाउँ छाड्यो। हत्त न पत्त झ्याल ड्याम्म थुनेर सोफामा थचारीइ।
काजलको दिमाग भाउन्न भयो, उस्ले फ्रिज खोली। चिस्याएको वाइन गिलासमा खन्याइ र एक सट स्वाट्ट पारी, आज उस्को मन फिटिक्कै ठेगानमा छैन। दराजबाट फटाफट कपडाहरु झिक्न थाली।
साडी, लेहेंगा, वानपिस, मिनिस्कट, पाइन्ट पलङमा डुंगुर लाग्दै गयो, अझ उस्को चित्त बुझेको छैन। ऊ अरु खोतल्दै छे। कुनै लुगा जीउमा टसाएर जाचाउँछे, कुनैलाई लागाइ टोपल्छे, चित्त बुझ्दैन अनि काडेर मिल्काउछे थुप्रोमा। दराजको लुगाको चाङ रित्तिदै छ अनि बोत्तलको वाइन निख्रिदै।
'आहा! क्या राम्रो नाची मोरीले' कमलीलाई सबैले त्यसै भन्थे। हुन पनि कमलीले कम्मर मर्काउदा, हातले हाउभाउ गर्दा र गीत र मादलको तालमा मन्टो चाट्टक्कै काट्दै फनन नाच्दा सबै दर्शक मन्त्रमुग्ध हुन्थे। अभिभावक र शिक्षकहरु सबै कमलीको नाचको प्रतिक्षामा हुन्थे।
उस्का साथी संगिनीलाई त्यो नाचको क्षणमा कता कता पोलेर आउथ्यो, भित्र भित्रै आमिलिन्थे। कमलीको चर्चा दिन हफ्ता हुँदै कहिलेकाहीँ त महिनौ दिनसम्म रग्मगाई रहन्थ्यो। सबैको आँखाको नानी थिइ, त्यसैले उस्को चर्चाले गाउँको सिमाना नाघेको थियो।
राति-राति बन्दुक भिरेका राता मान्छेहरु घच्घच्याउन आउथे। हामीसँगै जानुपर्छ, क्रान्तिको गीत गाएर आँधी ल्याउनु पर्छ भन्दै जोर गर्थे अनि तिनै मध्ये कसैले भन्थ्यो- 'भो भो कम्रेड, अलि काँचै छ।' भोलिको दिन झन् काहालीलाग्दो हुन्थ्यो। पूरा गाउँ समाज नै आतंकित हुनेगरी पल्टन परेड खेलेर जान्थ्यो।
त्यो बादलले घामलाई पूरै घुम्टो ओडाएको दिन कमली हराएको खबर एक कान दुई कान हुँदै डढेलो झैँ फैलियो। मान्छेहरुले विभिन्न लख काट्ने सुविधा पाए। पानी पधेरो, चौतारो, मेला-पातमा उस्कै कुरा काटियो। त्यही दिनबाट रात दिनको परेड क्रमशः कम हुँदै गयो। कमलीको परिवारलाई मुखले राम राम भनेपनि धेरैपछि मात्र कमलीको कुरा काट्ने नित्य कर्मले बिदा लियो।
कमलीमा नाचगानको हुटहुटी थियो, आफ्नै नातेदार साखुल्ले भएर अनेक ओली सपना देखाएपछि उस्ले गाउँ छोडेकी थिइ। तर पाइला पाइलामा सन्झौता गर्नुपर्ने बिडम्बनामा अन्जान थिइ। महानगरको तम्तमाइलो रङरसको तुवालो भित्र फसेपछि उस्का मनका सपनाहरु अधुरा रहे। कमली तुवालोको चक्रभ्यूबाट निस्कन सकिन, फस्दै फस्दै पूरै गाडीइ, काजल बनेर।
काजल स्टेजमा चढी, एउटा हात कम्मरमा राखी, अलिकती झुकी, अर्को हत्केला बङ्गाएर कुर्सन हानी बुढी औँला ओठमा छुवाएर त्यो हातलाई दर्शकतिर फाली। सबै चिच्याए- काजल काजल...। उस्ले भिजेको कपाललाई घरि अगाडि घरि पछाडि गराउदै सप्तरंगी बत्तीको मादकतामा कम्मर मर्काइ। ग्राहकहरु आइ गैरहे, मध्यरातमा बार बन्द भयो। उस्लाई एउटा भ्यानले बन्द गरेर उस्को बन्द कोठामा छाडीदियो। ऊ पसारियी बिहानीपख। दुनियाँको दिन उस्को रात, दुनियाँको रात उस्को दिन उस्को खप्पर। क्रम चलिरह्यो।
काजलले बाँकी वाइन घटक्क पारी। 'साला खाते जिन्दगी' सायद आफैलाई सरापी। गाउँमा समयले न जङ्गल पस्नु न घर बस्नु बनायो। उस्लाई त्यही भएर काँचो उमेरमा ठेट्ना निर्णय गरेकी थिइ। उस्ले फ्रिज टटोली, खोजेको जिनिस थिएन। ऊ भाउत्तेर सानो भान्सामा खोज्न थाली एक मिनरल वाटर, भेटी साइली दिदीको भट्टीको।
एक गिलास खन्याइ र घट्टक्क हानी अनि मुख बिगारी। 'पियोर भन्थिन् साइली दिदी, इस् पियोर' आफैलाई लोपरी। आज त खुल्यो की! उस्ले बारमा फोन गरी, फोन उठेन। 'थुक्क खाते, उस्लाई पर्दा- नानु प्लिज एउटा आइटम मात्र। आधा घण्टा मात्र भएपनि मिलाउ न प्लिज भनेर दश बिन्ती गर्थ्यो खाते। बेकारमा यो फोनको रिंग ब्याक टोन भाइरस रे। मिची मिची रे। सामाजिक दूरी के जाइ के जाइ दिमागै खराब गर्यो' ऊ भुत्भुताई।
काजलको मन अस्थिर भयो। टिभी खोली, टिभीले पनि नैतिक शिक्षा फलाकी’रा छ। दशैँमा यो गर्नुस् यो नगर्नुस्, फलाना ठाउँमा जानुस्, ढिस्काना ठाउँमा नाजानुस्। उस्लाई झन्का छुट्यो र फेरि लुगाको थुप्रो गिजोल्न थाली। उस्का आँखा पुरानो जामामा पर्यो। त्यो जामा च्याप्प समातेर छातीमा टाँसी च्वाप्प म्वाइ खाइ।
त्यो जामा ऊ गाउँबाट भागेको बेलाको थियो। ऊ दिमागमा जोर लगाएर सम्झिन्छे- घटस्थापनाको आघिल्लो दिन डाँडामा कटुवाल कराएको थियो। घटस्थापनाको दिन उस्का बा र गाउँलेहरु बाटो सफा गर्न भेला भएका थिए। उस्लाई पनि स्कुलमा बोलाइएको थियो। स्कुलमा कसैले कमेरो पोते, कसैले रातो माटोले लिपे, कोही अंगार कुटेर कालोपाटीमा पोत्दै छन्।
पालेदाइ कुखुराको मासु भुट्दै छन्, एकैछिनपछि सबैले दशैँको छुट्टी पाए। सरहरु मासु चिउरा भकुर्दै थिए, कमलीलाई शंकर सरले सोधे- 'खान्छेउ कमली?'
'नाइ खान्न' कमलीले जवाफ दिइ र मुखफोरी- 'सर बाहुन भएर पनि...' वाक्य पूरा नहुँदै सरले भने- 'लाटी, कुखुरो छुन पो हुन्न त, खान त भाईहाल्छ नि!' नभन्दै सरले छोएका थियनन्, चम्चाले खाएका थिए। कमलीले मनमनै भनी- 'कत्ती बाठा।'
त्यो साँझ घरमा निकै रमाइलो भयो। बाले सबैका लागि लुगा ल्याइदिएका रहेछन्। कमलीको लागि टि-सर्ट र जामा। भोलिपल्ट बिहानै कमली साने दर्जीकोमा पुगी। सानेले ओर्काइ फर्काइ नाप लियो र भन्यो- 'पर्सी आउ।'
पर्सिपल्ट बिहानै कमली पुगी साने दर्जिकोमा। पोका त फुकाकै रहेनछ। दिनभरि बसी, अरुहरु पनि बस्नी धेरै थिए। सानेले उस्को जामाको पोको छुन भ्याएन। साँझ झमक्क हुँदा घर पुगी र एक सर्को गाली खाइ आमाको। कमलीले रुन्चे अनुहार लाएर दिनभरिको कथा सुनाइ।
कमलीको आमा पड्किन्, 'कम्तिको छ त्यो ध्वासे साइदुआ, क्याट क्याट आउनेको गर्छ पहिला, बाली घरेको थन्क्याउँछ। मंसिरमा बाली पाक्न पाउदैन, टुपुलक्क टुपुल्किन्छ।'
कमलीको बाले बीचमै टोके- 'ल ल, धेरै नफत्की। म भोलि आफै जान्छु।'
कमलीका बाले सानेलाई भने- 'किन हो त नि हाम्रा नानीको जामा नसिलाम्नी?'
'के गर्नु बाराजु, मेसै साँ सिलारा’छु।'
'ल ल, तेरो मेसो मलाई थाहा छ! एक पाथी धान बढाइदिम्ला, छिट्टो अर्दे।' कमलीका बाले त्यति कानेखुसी गरेपछि रातसाँझ गरेर त्यो जामा घर पुर्याउदा बत्ती बाल्ने बेला भईसक्या थियो।
कमलीले हतार-हतार जामा लाउन लागी। आमाले ठाडै टोकिन्- 'के अलछिन्ना लाउनलाई होस् र! रात बिखामा थपक्कन राख, फूलपातीको दिना लाउलिस मैलिन्च।' त्यति भएपछि उस्को जामा लाएर फूर फूर नाच्न लागेको मन फतक्कै भएको थियो।
कमली आतितका सम्झनाबाट बाहिर आइ, काजलले जामा भेटेकी थियी। उस्ले जामा ओर्काइ फर्काइ हेरी, कोठाभरि धुवाँ र एक तमासको तम्तमाइलो गन्ध रग्मगाइ रहेको थियो। उस्को दिमागले चक्कर खायो, ऊ एकतमासले धुवाँ उडाइरहेकी थिइ। आँखाले बर्खाको भाका हालीसकेको थियो। उस्ले मन मुटुलाई थाम्न सकिन अनि आँखाको भाकामा भाका मिलाइ। ऊ अब डाँको छोडीरहेकी थिइ।
उस्का डाँको, धुवाँ र तम्तमाइलो गन्धसँगै कोठाभरि रग्मगाइ रह्यो। उस्ले सकी/नसकी त्यो जामा लगाइ, उस्को जीउले भर दिएन। बिछाउनामा पल्टेर रोइ रही। कतिखेर भुसक्कै निदाइ थाहै पाइन। कमलीले बा, आमा, गाउँघर छोडी इमान जमान बाँकी राखिन। आफूलाई हराएर काजल बनी तर उस्को दशैँको जामाले उस्को जीउमा चपक्क समातेर टाँसीरह्यो।