कविता
बादलुको घुम्टोले छेक्यो
तिम्रो बाटो,
हिजाबले मायालुको मुहार,
जुनकिरीको संगीतमा
गुनगुनाउन सकिनँ
आकाशको तारा, झरेको तालमा
तिम्रो आगमनको
प्रतिक्षा गर्न सकिनँ।
बिहानीको झुल्कोले तिर्मिरायो
जुनको आँखा,
हिजाबले छेकेको चन्चल नयन,
हिलोमा कक्रक्क परेको गुलाब झैँ
पीडालाई गाँठो पारी
मुस्कुराउन सकिनँ।
नदीको बयली खेल्ने रहर
तुहाउने पहाडको फेदी,
हिजाबले रोकेको मधुर मुस्कान
फूलै फूलको संसार, ताराहरुको पुञ्ज
रंगी बिरंगी बत्तीहरुको झिलिमिली
मन बहलाउन सकिनँ।
निधारमा लरक्क सप्तरंगी
शोभा तिम्रो मुहारको,
म कैदी नम्बर २०७७
निलो आकाश हेर्छु
कालो बादल देख्छु
तिम्रो खाली निधार हेर्छु,
मेरो निरस औँला देख्छु
तिम्रो मुस्कान सजाउन सकिनँ।
बादलुको घुम्टोले छेक्यो
तिम्रो बाटो,
हिजाबले मायालुको मुहार
जुनकिरीको संगीतमा...
म कैदी नम्बर २०७७।