कावा खाइरहेछ, नीलो आकाशमा
कसैको गुलेलीबाट छुटेको मट्यांग्राले
छ्यास्स प्वाल पारीदिएपछि,
फन्फनी खाँदै,
बुढो बकैनाको रुखमा ठोस्सिन्छ।
लट्टाइवालाको झट्काइले
पुच्छर ठाडो हुन्छ,
कसो कसो फुत्किन्छ अनि
आकाशमा धर्मराउछ,
चंगा हो ऊ।
ढलपल ढलपल, दायाँ र बायाँ
फन्फने खाँदै, आकाशिन खोज्छ
उस्को गति ऊ नियन्त्रित छैन,
ऊ त हावाको बेग र
लट्टाइवालाको खिचाइमा,
निर्भर छ, कसो कसो ऊ
तागत लाउने दुष्प्रयास गर्छ,
फेरि त्यही, फन्फने नियती
चंगा हो ऊ।
फन्फनाउनु अनि फेरि
आकाशिनु, कदाचित कोही
सिंगोरी खेल्न, आएछन् भने,
ढ्याक् हान्नु काट्नु या काटिनु
त्यसरी झड्काएको छ,
बेसोमती अब काट्नुको विकल्प छैन,
निलै निल, चोट र डाम
तर आकाशिनुको विकल्प छैन,
चंगा हो ऊ।
अभ्यस्त छ ऊ
काट्नु या काटिनु,फस्नु या फसाउनु
रुनु या रुवाउनु, हाँस्नु या हँसाउनु,
गगनमा नाच्दै रमाउछ
या गगनचुम्बी महलमा,
खसेका छन अरु फत्रक, फत्रक
ऊ आकाशिइ रहन्छ
चंगा हो ऊ।
कोही पानी जहाजमा सवार छन्
कोही छन मेट्रोमा,
कोही सरर केबुलकारमा
हावाले पनि बिजुली फालेकै छ,
फोहरले पनि स्टोभ बालेकै छ
अन्डरपास र फ्लाइ ओभरमा सरर
मटर कुदेकै छ।
ह्याप्पी नागरिक टन्न बोकेकै छन्
पीडा या बेदनाको भारी,
गरिब देशको अनागरिक
ऋण होस् या दुखमा बुडिरहेछ,
अनागरिक ङिच्च दाँत देखाउँदो छ,
तर चंगा हो ऊ, उडिरहेछ।