Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, चैत ५, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

अनुहारको दाग

Nmb
Nmb

गोपालचन्द्र भट्टराई

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

निद्राबाट आँखा खुल्यो। उसले सुती सुती आँखा यताउती घुमायो र थाहा पायो– आफ्नै घरको बेड रुममा रहेछ ऊ। कसरी आइपुगेछ राति ऊ घरमा? कसैले ल्याइदियो कि!

रञ्जिताले तीन महिनाअघि घर छोडेर हिँडेदेखि पहिलो पटक हिजो बेलुका अफिसबाट हिँड्ने बेलामा उसले फेसबुक खोलेर हेरेको थियो।

उत्सुकतावश जब उसले रञ्जिताको प्रोफाइल हेर्‌यो, रञ्जिताको सफा, चिल्लो र सुन्दर अनुहार भएको पछिल्लो समयको फोटो देखेर आश्चर्यचकित र हैरान भयो। फोटोमा देखिएको अनुहारको ताजगी र उत्साहपूर्ण मुद्रासँग मेल खाने खालको रञ्जिताले आफ्नो प्रोफाइल स्टाटस पनि लेखेकी थिई- इफ यू बोल्ड्ली मुभ फरवार्ड, यू क्यान ओभरकम अल एड्भर्जिटिज।

यी शब्दहरू जुनसुकै प्रसंग वा अर्थमा रञ्जिताले लेखेकी भए पनि उसलाई लाग्यो- तिनीहरूले एक किसिमले उसलाई नै गिज्याइरहेछन्, च्यालेञ्ज गरिरहेछन्। भित्र कतै पोलेजस्तो, जलेजस्तो भएर ऊ छट्पटायो एकछिन र अफिसबाट सिधै बारतर्फ हानियो जलन शान्त पार्न।

साँच्चै कसरी आइपुग्यो त ऊ घरमा राति? उसलाई हो कि होइन जस्तो सम्झना भयो। हिजो राती बारबाट उठ्ने बेलामा रमेश र क्षितिजले भन्दै थिए, ‘हैन श्याम, हामीसँग गाडी छ, हामी पुर्‍याइदिन्छौं।’

उसले जोशिँदै भनेथ्यो, ‘तिमर्ले मलाई मातेको भन्ठानेको, यत्रो संगतपछि पनि श्याम सुन्दर विष्टलाई तिमर्ले चिनेकै रहेनछौ!’

मोटरसाइकल स्टार्ट गरेकोसम्म थाहा छ, त्यसपछि अहिले नै हो। पिउन पनि थोरै पिएको हो र?

ऊ यताउता चल्मलाउन खोज्यो, तर फुट्लाजस्तो भएर टाउको दुखिरहेको थियो। ऊ बेडमै लडिरह्यो। तर, कसोकसो उसले महसुस गर्‌यो कि उसको गालातिर केही अप्ठ्यारो भएजस्तो, दुखेजस्तो अनुभव भइरहेछ। यसो हातले छामिहेरेको त ऊ झसंग भयो – घाउ पो भएको रहेछ। छामेको हात आँखा अगाडि ल्याएर हेर्‍यो, हल्का रगत मिसिएको पानीजस्तो पातलो पदार्थ औंला र हत्केलामा टल्कियो।

उसले फेरि गाला माथिमाथि विस्तारै औंलाका टुप्पाहरू दौडायो घाउको फैलावट अन्दाज गर्न।

Ncell
Ncell

ए चिउँडो पनि दर्फरिएछ कि के हो? अब विस्तारै उसलाई घाउ दुख्दै गएको अनुभव भयो। उसले बेडबाटै ढल्की ढल्की दराजको ऐनामा आफ्नो अनुहार हेर्‍यो– आम्मै नि, दाहिने गाला त गजबैसँग पो तछारिएको रहेछ, छाला उप्किएर भित्रको रातो मासु देखिएको, चिउँडो पनि अलिकति खुइलिइएछ!

ऊ हैरान भयो, सुती सुती खुइय्य सुस्केरा हाल्यो र आँखा चिम्ल्यो। उसको टाउकोभरि अब रञ्जिताको स्मृति सल्बलायो।

पाँच छ महिनाअघिको एक रात पनि १२\१ बजेतिर ऊ ढुन्मुनाउँदै घरमा आएर गेटको बेल बजाएको थियो। मध्यनिद्राबाट ब्यूँझिएर माथिदेखि तलसम्मका चुकुल र चावी खोल्दै गेटसम्म आइपुग्दा रञ्जितालाई लगभग ८\१० मिनेट लाग्न पुग्यो। ऊ भने रिसले तिल्मिलायो, ‘‘एक घण्टा लाउनुपर्छ? आफूलाई यहाँ कस्तो गाह्रो भइसक्यो, उसलाई वास्ता भए पो!’

‘हेर न बोल्न सकेको, आधारातमा टन्न धोकेर डुङडुङ्ती गनाउँदै अर्काको निद्रा बिगार्नेलाई पो होला त सबैको वास्ता त, हैन?’

लोग्नेले मोटरसाइकल भित्र हुलेपछि गेट लगाउँदै रञ्जिता फत्फताई।

ऊ रेलिङ समाउँदै लुडुँला लडुँलाजस्तो भएर बल्ल बल्ल माथि आइपुग्यो र थ्याच्च सोफामा बस्यो। रञ्जिता चुपचाप किचनतर्फ गई र खाना तताउने कार्यमा लागी।

‘के गर्न लागेकी? यहाँ अलिकति हेल्प गर्थी कि भनेको, उसलाई आफ्नै धुन छ,’ ऊ करायो।

‘महासयलाई केही त हसुर्नु पर्ला नि भनेर, नत्र मलाई रहर छ र आधारातमा चुलो बाल्न?,’ स्वास्नीले जवाफ फर्काइ र फन्फनिदै लोग्ने भएतर्फ आई।

लोग्ने सकि नसकि आफ्नै लुगा खोल्ने कोसिस गरिरहेको थियो। भन्यो, ‘‘यो प्यान्ट्स तलबाट विस्तारै तानिदेऊ त।’

स्वास्नीले प्रश्नवाचक दृष्टिले लोग्नेलाई हेरी। ऊ रिसाइरहेकी थिई। लाग्नेको खुट्टतर्फ निहुरेर अलि जोडसँगै तानी, प्यान्ट्स  फुत्त निस्कियो। सोफामा बसिरहेको खुट्टाहरू केही माथि उचालिएर भुइँमा भद्रयाक्क गरेर पछारिए।

‘अइया, मारिहाली नि! दया माया नभएकाहरूलाई कोही मरोस् कि बाँचोस् के मतलब,’ उसले पीडाले मुख बटार्‍यो र करायो। स्वास्नीले अचानक देखी लोग्नेको दाहिने तिघ्रामा र घुँडाछेऊमा छाला ताछिएको छ, दर्फराएको ठाउँबाट हल्का रगत पनि आइरहेछ। तर प्यान्ट्सभित्र कसरी?

उसले आफ्नो हातमा भएको लुगा हेरी– मेरी बास्सै नि, त्यो त दुबै ठाउँमा फाटेको पो रहेछ, फाटेको ठाउँ वरिपरि रगतले समेत भिजिरहेको रहेछ!

‘हरे, शिव, शिव, यो के देख्नुपरेको! शरीरभरि चोटैचोट लिएर, रगताम्य भएर कस्तो गती बनाएको? के भएर यस्तो भयो?’

स्वास्नीको हडबडाहटपूर्ण प्रतिक्रिया निस्कियो। ऊ घुँडा टेकेर लोग्ने अघिल्तिर बसी र घाउ भएको ठाउँ वरिपरि नियालेर हेर्न थाली। स्वास्नी सँगसँगै उसले पनि आफ्नो घाउ हेरिरह्यो तर केही बोलेन।

‘हैन, के भयो भनेको, किन नबोलेको?,’ स्वास्नी फेरि कराई।

‘कति कराउँछे, देखिनौ घाउ भयो, आउँदा-आउँदै मोटरसाइकल चिप्ल्यो,’ उसले हैरान झैं भएर जवाफ दियो।

‘होस ठाउँमा भए पो लड्दैन मोटरसाइकल, रक्सीले बुद्धिविवेक सबैमा बिर्को लगाइदिएपछि यस्तै हुन्छ,’ स्वास्नी कराउँदै जुरुक्क उठी र किचनतर्फ गई।

एक छिनपछि एक जग तातो पानी, एउटा कपडाको टालो र एउटा प्लाष्टिकको बाटा लिएर आइपुगी। ‘हैन आफ्नो लिमिटको त ख्याल गर्नु पर्छ नि, कति खाँदा आफ्नो शरिरले थेग्न सक्छ, अनुमान गर्न सकिन्न?,’ ऊ फत्फताउँदै लोग्ने अगाडि बसी।

लोग्नेको खुट्टा उचालेर बाटामा राखी र तातो पानीमा भिजाएको टालोले घाउ सफा गर्न थाली।

‘त्यस्तो लागेर लडेको हैन क्या, एक्सिडेन्ट भयो त के गर्नु?,’ लोग्नेले झर्किए झैं गरी जवाफ दियो र स्वास्नीले बढी दुखाउँछे कि भनेर सतर्क भएर सफा गरेको तर्फ ध्यान दिन थाल्यो।

‘अँ, हामीलाई पनि थाहा छ, जँड्याहाले मलाई जाँड लाग्यो भन्छ र कहिल्यै? रातभर जाँड खायो, स्वास्नी कहाँ छे, के गर्दैछे वास्ता छैन। तपाईंले कहिल्यै सोच्नु भा’छ तपाईं घरमा बसिरहको बेला म यसरी नै आधारातमा रक्सीले मात्तिएर, चोटैचोट लिएर घर आउने हो भने तपाईलाई कस्तो लाग्दो हो? एक पटक घरमा फोन गर्नु छैन, घरबाट फोन गर्‍यो भने झर्किएर फोन राख्या छ, कहाँ छ, कस्तो हालतमा छ केही पत्तो छैन। के सोच्या छ हँ तपाईंले? घर व्यवहार यसरी नै चल्छ?’

स्वास्नी लोग्नेको घाउ सफा गर्दै लगातार कराउन थाली। लोग्ने चुपचाप लाग्यो। स्वास्नीको लामो भाषण सुनेर उसलाई झर्को लागेको भए पनि, दिक्दार भएको भए पनि ऊ सँग जवाफ दिने कुरै थिएन, ऊ तल परेको थियो, त्यसैले सुनिरह्यो। स्वास्नीले घाउ सफा गरेर, सुख्खा बनाएर, माथिबाट नेस्पोरिन पाउडर छरी र पातलो सेतो कपडाको कामचलाउ ब्याण्डेज लगाइदिई।

ऊ ओछ्यानमै लडिरहेको छ। रञ्जिताको स्मृति उसको मस्तिष्कभरि घुमिरहेको छ।

उसले सोच्यो, ‘अहिले यहाँ भइदिएकी भए र मलाई यो हालतमा देखेकि भए रडाको मच्चाउँथी...।’

ऊ फिस्स हाँस्यो। उसलाई फेरि रञ्जिताको सफा, चिल्लो र चमकपूर्ण अनुहार भएको फेसबुकको फोटो याद आयो। अलिकती इर्श्या, डाहा र ग्लानिभावले उसको छातीभित्र असजिलो गरायो। एक किसिमको नैराश्यताले छोपेजस्तो भयो।

एक छिनपछि सकिनसकि उठ्यो ऊ। टाउको अचाक्ली दुखिरहेकै थियो। मुख सुकेर च्याप्-च्याप् भएजस्तो भयो। फ्रिज खोलेर बोत्तलमा राखेको चिसो पानी घटघट पियो। अब के गर्नु? ऊ त्यसै अल्मलिएर उभियो। एक छिनपछि किचनतर्फ गयो र पानि तताउन खोज्यो– कुनै भाँडा सफा भए पो! चियाको कटकटाइरहेको कालो दिउरे यसो पखालेजस्तो गर्‍यो र त्यसैमा पानि तताउन बसायो।

एक छिनपछि एउटा टालो ल्याएर उसकी स्वास्नीले झैं तातो पानीमा चोपल्यो र गालामा टाँस्यो। ‘आत्था!’ आलो घाउमा चाहिनेभन्दा बढी तातो पानीको स्पर्शले यति सारो डाम्यो कि ऊ हुरुक्कै भयो। पीडाले र रिसको झोंकमा सबै तातो पानी सिङ्कमा घोप्ट्याइदियो।

‘भो बरु एक छिनपछि क्लिनिकमै जान्छु’ भनेर फेरि बेड रुममै आयो र ऐनाको छेवैमा गएर गालाको घाउको मुआयना गर्न थाल्यो, ‘हत्तेरी खत्तमै भइहाल्यो नि, के भन्ने होला साथीभाइहरूलाई पनि, हैरान हुने भइयो जवाफ दिँदा दिँदा।’

ऊ एक्लै बर्बरायो। उसले आफैंले प्रयोग गरेको हैरानी शब्दले उसलाई फेरि स्वास्नीको याद दिलायो।

हरेक दिन झैं स्वास्नीको गालाभरि निस्किएको डण्डिफोरको कमेन्ट गर्ने सिलसिलामा त्यो दिन पनि उसले भनेको थियो, ‘तिम्रो डण्डिफोर देखेर पनि हैरानै भइसकें म त।’

डण्डिफोरको बारेमा यसअघिसम्म बोल्दा कहिल्यै रिसाएर वा झर्केर जवाफ नफर्काउने रञ्जिताले त्यस दिन भने लोग्नेको बोली सुनिसक्न नभ्याउँदै झम्टेकी थिई, ‘‘तपाईंलाई के हैरानी भो भन्नुस् त, गालामा डण्डिफोर आएको छ मेरो, दुखे पनि मैलाई दुखेको छ, जे-जस्तो असर परेको छ, मलाई परेको छ! तपाईं किन जहिल्यै यही डण्डिफारको पछि लाग्नुहुन्छ?’

‘हैन, यतिका दिन भइसक्यो, यत्रो डर्माटोलोजिष्ट र स्किन स्पेशलिष्टकहाँ गइरहेकी छौ, तैपनि ठिक भएन भनेर चिन्ता लाग्यो पो भन्न खोजेको त,’ उसले स्पष्टीकरण पेश गरेथ्यो।

‘लाग्छ तपाईंलाई चिन्ता! चीन्ता लाग्नेले त उपचारको लागि सल्लाह, सहयोग र हौसला पो दिन्छ। दिनैपिच्छे ‘डण्डिफोरले तिम्रो अनुहार बिगारिसक्यो’, ‘झुर भइसक्यो,’ ‘मलाई त कस्तो अप्ठ्यारो लागिसक्यो’ भनेर कमेन्ट मात्र गरेको छ, मलाई चाहिँ चित्त दुख्दैन?,’ स्वास्नीले अहिलेसम्म मनमै राखेका कुरा खोलिदिई।

ऊ एकछिन त जवाफ दिने शब्द नपाएर अवाक भयो। एकछिन भने विस्तारै भन्यो, ‘तिमीले मलाई गलत बुझ्यौ, मैले तिम्रै राम्रोको लागि मात्र भन्ने गरेको हुँ।’

‘के को राम्रो नि? अर्कालाई होच्याएर, ‘ऐना त हेर्ने गरेकी छौ तिमी कस्तो देखिन थालिसक्यौ?’ भनेको राम्रो हो? कहिल्यै तपाईंले ‘यो औषधीले हुन्छ कि, ट्राई गरिहेर’ भनेर दिनुभएको छ? कहिल्यै यसको उपचारको बारेमा कुनै सल्लाह दिनु भएको छ? कुनै डाक्टरकहाँ लिएर जानु भएको छ? जहिल्यै किचकिच गरेको छ। मलाई चाहिँ यसको बारेमा चिन्ता छैन होला? यसैको चिन्ताले, अनुहार बिग्रेर रुपै नासिन लाग्यो भन्ने पिरले आफूलाई खानासम्म रुच्दैन। अफिसमा साथीसंगीहरूसँग कन्फिडेन्ट्ली बोल्न र व्यवहार गर्न समेत कठिन भइरहेको छ – यस्तो बेलामा लोग्नेको साथ र हौसला भए पो अलिकति आशा पनि रहन्थ्यो, म त निराश भइसकें अब त ... ।’

स्वास्नी बोल्दा बोल्दै थ्याच्च सोफामा बसेर रुन थाली।

विस्तारै बढ्दै गएको गालाको दुखाइले पुनः उसलाई वर्तमानमा फर्कायो। उसले अझै पनि सम्झन सकेको छैन कतिखेर कहाँ लड्यो ऊ र कसरी शरीरको कुनै ठाँउमा नभएर अनुहारमै चोट लाग्न पुग्यो भनेर। अब त उपचार गर्न तुरुन्तै नगई भएन। उसले एउटा टिसर्ट र ट्राउजर भिर्‍यो, विस्तारै र होसियारीपूर्वक केस मिलायो र हल्का अनुहार छोप्ने गरी बेशबल क्याप लगाएर घोसेमुन्टो लगाउँदै नजिकैको क्लिनिकमा गयो।

कुनै चोटपटक लागेर वा बिरामी भएर उपचारको लागि ऊ पछिल्लो पटक क्लिनिक गएको उसलाई सम्झना छैन। कहिलेकाहीँ रुघाखोकी, ज्वरो आउँदा वा पेट गडबडी हुँदा अरुले नै ल्याइदिएको एक दुई वटा ट्याबलेटहरू खाँदैमा उसका अहिलेसम्मका रोगहरू ठिक हुँदै आएका थिए। यही भएर रञ्जिता पटक-पटक क्लिनिक जाँदा उसलाई अनौठो लाग्थ्यो।

रञ्जिता डण्डिफोरको उपचारको सिलसिलामा धेरै पटक विभिन्न क्लिनिकहरूमा धाउने गर्थी।

एकदिन क्लिनिकबाट फर्कंदा अलि बढी समय लाग्यो उसलाई। त्यसैले, रञ्जिता घर पुग्नेवित्तिकै उसले अलि व्यंगात्मक पारामा भनेको थियो, ‘उपचारमा आज यति लामो समय लगायौ, मैले त ठान्याथें अब त्यो डण्डिफोर देख्नुपर्दैन होला...।’

‘उफ, क्लिनिकमा डाक्टर आउनै ढिला गर्‍यो त मैले के गर्नु? तर म हिजोआज सोच्न थालेकी छु डाक्टरको उपचारले भन्दा तपाईंले चुपचाप लागेदेखि चाहिँ यो चाँडो ठिक हुँदो होला। तपाईंको सधैंको गनगन र किचकिचले मेरो मानसिक तनाव बढेको कारणले म मा हर्मोनल डिस्ब्यालेन्स भएर पो यो ठिक नभएको हो कि,’ रञ्जिताले वैज्ञानिक विश्लेषण प्रस्तुत गरेकी थिई।

‘अँ अब तिम्रो गालामा मैले डण्डिफोर ल्याएर थोपारिदिएँ होला नि, मलाई पो दोष दिन्छे,’ उसले विश्लेषणउपर चित्त नबुझाएर जवाफ फर्काएको थियो।

उसकी स्वास्नीले आफ्नो  भनाइको  थप पुष्ट्याई प्रस्तुत गरेकी थिई, ‘हो त नि, तनावले हर्मोनल डिस्ब्यालेन्स हुन्छ भन्ने सुन्नुभएकै होला, सानो तनाव दिनु भएको छ यो डण्डिफोरको बारेमा तपाईंले मलाई? जहाँ पनि, जतिखेर पनि यसकै कुरा गर्‍या छ मानौं कि हामीबीचमा गर्नलाई अरु कुराहरू नै छैनन्। हुँदाहुँदा पार्टी भोजमा जाँदा, साथीभाइहरू भेट हुँदा पनि अरुले मेरो अनुहार नोटिस गरेर कुरा निकाल्नुभन्दा पहिला नै ‘रञ्जीताको अनुहारमा पनि खै हिजो आज के भएको हो यस्तो, पूरै बिग्रिसक्यो’ भनेर आफैं कुरा झिक्नुहुन्छ, अनि मलाई टेन्सन हुँदैन?,’ रञ्जिताले रुँला-रुँलाजस्तो गरेकी थिई।

‘ए त्यो त अरुले कुरा निकालेर चर्चा र बहस गर्नुभन्दा अथवा उनीहरूले कुरा ननिकाले पनि तिमीलाई हेरेर एकआपसमा खासखुस गर्न दिनुभन्दा सुरूमै कुरा निकालेर सकिदिएको नि मैले, वातावरण सजिलो पारिदिएको,’ उसले आफ्नो स्पष्टीकरण दिएथ्यो।

‘वातावरणलाई होइन, तपाईंले आफूलाई सजिलो बनाउनु भएको हो, तपाईं एकदमै इन्सेक्योर फिल गर्नुहुन्छ, बुझ्नुभो? किन त्यति कमजोर अनुभव गर्नुहुन्छ आफूलाई दुनियाँका अगाडि? के गालामा डण्डिफोर आउनु कुनै अपराध हो र त्यसका लागि अरुसँग डराउनुपर्छ? अरुले कुरा गरुन् कि खासखुस गरुन्– के मतलव? तर, वास्तवमा भन्ने हो भने तपाईंले सोचेजस्तो यस्ता स–साना कुरामा सबैले उपहास वा खासखुस गर्न थाली चाहिँ हाल्दैनन्। यो तपाईंको भ्रम मात्र हो, तपाईंले आफूलाई कमजोर महसुस गरेकाले अरुले कुरा काट्लान् कि आफ्नो बारेमा खासखुस गर्लान् कि भनेर डराउनुहुन्छ। तपाईंमा नेगेटिभिटी भरिएको छ। तर, अरु मान्छेहरू तपाईंले सोचेजस्तो खराब हुँदैनन्,’ स्वास्नीले एउटा लेक्चर जस्तै दिएकी थिई।

स्वास्नी सँगको वार्तालापको बारेमा सोच्दा सोच्दै ऊ क्लिनिक पुग्यो। ओहो, क्लिनिक त खुलेकै रहेनछ! उसले घडी हेर्‍यो, भर्खर साढे सात बजेको छ। उसले अहिले बिर्सिएको मात्र हो, आफ्नो टोलको क्लिनिक भएकोले उसलाई थाहा छ, यो सामान्यतया ९ बजे मात्र खुल्छ। अब के गर्ने होला? अर्को ठाउँ जाऊँ, यस्तो हालमा कसरी जानु? केही समय पर्खौं– उसलाई एकदम छटपटी र असहज अनुभव भइरहेछ। केही क्षणको असमञ्जस्यता पछि उसले ९ बजेसम्म घरमै बसेर पर्खने निधो गर्‍यो र अघि झैं घोसेमुन्टो लगाएर घर आइपुग्यो। 

घर प्रवेश गर्ने बेलामा देख्यो उसको मोटरसाइकलको लेगगार्ड पूरै भाँच्चिएको रहेछ र पेट्रोल ट्यांकसमेत अलिकति कुच्चिएको रहेछ। ऊ हतास र निरास भएर कोठामा आइपुग्यो। आफूलाई भुल्याउने अर्को कुनै विकल्प नपाएर थ्याच्च सोफामा बस्यो र शिथिल एवम् लाचार भावमा टाउकोमा हात राखेर झोक्राइरयो। रञ्जिताको सम्झनाले फेरि ठुङ्न थाल्यो उसलाई!

‘गालामा दाग नै त बस्दैन हो, कति त्यही कुरा गर्नुहुन्छ? यो डण्डिफोर ठिक भएपछि अनुहार सफा भइहाल्छ नि,’ सधै झैं त्यो दिन पनि उसले गालामा दाग बस्ने कुरा उठाएपछि हैरान भएर रञ्जिताले भनेकी थिई।

‘अँ, बस्दैन होला, तिमीले नै जानेकी रहिछौ, मैले डण्डिफोरले बिगारेर हेरिनसक्नु अनुहार भएका कैयौं आइमाईहरूलाई देखेको छु,’ उसले आफूले संसार देखेर जानेको ज्ञानको पोको फुकाएको थियो। यसरी त्यो दिन विस्तारै संवादले उग्रता ग्रहण गर्दै गएको थियो। घरको शान्त माहोल विस्तारै तातिँदै, चर्किँदै र च्याँठिदै गएको थियो।

त्यसको भोलिपल्ट पनि कसरी हो कसरी उनीहरूको संवादमा त्यही डण्डिफोर र त्यसले अनुहारमा उत्पन्न गर्नसक्ने सम्भावित दागकै विषयको उठान भएको थियो - ल मेरो गालामा दागै बसेछ रे सधैंका लागि, के त्यसो भए हाम्रो सम्बन्ध सकिन्छ? हामी लोग्ने स्वास्नी नै रहँदैनौं?

वादविवाद तात्तिएर चर्को रुपमा पुगेको बेला स्वास्नीले च्याँठिएर सोधेकि थिई।

उसका पनि कन्पाराका रौं तातिसकेका थिए। उसले रिसको तीव्र झोंकमा भनेको थियो, ‘अनुहारभरि सधैंका लागि काला टाटैटाटा लिएर हिँड्ने आइमाईलाई मेरी स्वास्नी हो भनेर के म जिन्दगीभरि म्वाई खाएर बसिरहुँला त? म पनि विचार गर्छु नि के गर्नुपर्छ त्यस्तो दिन आयो भने।’

‘हो आज बल्ल खोल्नु भो आफ्नो मनको कुरा, मेरो अनुहारमा डण्डिफोर आएकोले भविष्यमा म कुरुप हुन्छु भनेर अहिल्यैदेखि म बाट छुटकारा पाउने उपाय रच्न थाल्नु भएको हैन?’

‘के भविष्यमा कुरुप हुने कुरा गर्छौ? अहिले चाहिँ बडो रुपवति भएको ठान्छौ आफूलाई? मलाई लाज लाग्छ बुझ्यौ तिमीलाई लिएर इष्टमित्रहरूका अघि पर्न। तिमी वास्तवमै कुरुप भइसकेकी छौ,’ रिसको आवेगमा हठात् सबै मर्यादाका सीमाहरू तोडेर बोल्यो।

उडिरहेको चरा ब्याधाको गुलेली लागेर खसे झैं खुत्रुक्कै भई रञ्जिता त लोग्नेको यो कुरा सुनेर। उसको दृढताका साथ हालसम्म ठड्यारइरहेको आत्मसम्मान र अहमको धरोहर गर्लम्म ढल्यो। उसको दिल दिमागमा आश्चर्य र विश्मयको यती तीव्र बाढी आयो कि एक छिनसम्म के बोल्ने भनेर कुनै शब्द नै फेला पार्न सकिन उसले। कुनै पनि आइमाईलाई ‘तँ कुरुप छस्’ भन्नु भनेको सायद सबै गाली, अपमान, पीडा र तिरस्कारको पाराकाष्ठा हो, कमसेकम रञ्जिताले त्यसरी बुझी।

यतिका वर्षसम्म आफूले माया, आदर र श्रद्धा गरेको व्यक्तिले, आफूले सेवा, समर्पण र त्याग न्यौछाबर गरेको व्यक्तिले, दुःख-सुख साटेको र एक-अर्काको परिपूरक भएर बसेको व्यक्तिले हठात् यो स्तरसम्मको तिरस्कार र अपमान गरेको बोधले रञ्जिता एक पटक भावविह्वल भई। छातीभित्र उकुसमुकुस भएको पीडा विस्तारै रसाउँदै गएका उसका आँखामा देखा पर्दै गए र ऊ निर्वाधसँग खुलेर रुने अवस्थामा पुगी।

तर, दृढताका साथ उसले आफूलाई सम्हाली। उसलाई आफू अगाडि उभिएको पुरुषप्रति अचानक यति बढी घृणा अनुभव भयो कि उसले ठानी- यस्तो व्यक्तिका अगाडि रुनु, बिलौना गर्नु वा कमजोरी प्रदर्शन गर्नु भनेको आफ्नै थप अपमान गर्नु हो। अब विस्तारै उसमा शक्तिको सञ्चार भयो र उसलाई रुवाउन खोज्ने आन्तरिक कमजोरीको स्थान रिस र रौद्रताले लिँदै गयो।

एकछिनको मौनतापछि रञ्जिता यसरी बोली कि अब चुप लाग्ने पालो उसको लोग्नेको आयो। उसको हृदय यसरी तोडिएको थियो कि अब बाँकी तोडाइको उसलाई कुनै डर रहेन, उसको मन यसरी दुखेको थियो कि अब बाँकी दुखाइको उसलाई पर्वाह भएन। ऊ सारा मर्यादाका पर्खाल तोडेर बोली र हालसम्म निरन्तर भोग्दै आएको प्रताडनाको सारा भँडास निकाली। ऊ कहिले हाँसी, कहिले आफैंलाई धिक्कारी र कहिले बोल्दाबोल्दै उत्तेजनाले पागलजस्तै भई तर आफूलाई भन्न मन लागेका कुराहरू एउटै बाँकी नराखी यसरी निर्वाध भनिरही मानौं कि त्यो वर्षौंको प्रतिक्षापछि उसलाई प्राप्त भएको बोल्ने अन्तिम मौका हो।

रञ्जिताले कति र के बोलेकी थिई त्यो साँझ भन्ने कुनै साँध नै छैन। रिसको आवेगमा विनासकारी आँधी झैं भएकी थिई ऊ। स्वास्नीको एकतमासको गाली र बेइज्जती सुन्दा श्यामसुन्दर पनि ज्वालामुखी झैं तातिएको र रापिएको थियो। उसले पनि भन्ने कुराहरु कुनै बाँकी राखेन। बोलीले मात्र नपुगेर क्रोधाग्नीको राप सम्हालिनसक्नु भएको बेला प्रचण्ड आवेशमा उसले रञ्जितालाई केही लात र झापडसमेत हान्न भ्याएको थियो।

अन्तमा जब सधैंका लागि भनेर रञ्जिता हिँडी उसको घरबाट निस्केर। बल्ल उनीहरूको वादविवाद समाप्त भयो र वादविवादसँगै उनीहरुको पाँच वर्षे वैवाहिक जीवन पनि।

टाउकोमा हात राखेर झोक्राउने क्रममा कसोकसो उसको हात दर्फरिएको गालामा पुगेछ। तीक्ष्ण दुखाइको अनुभवले ऊ हुरुक्कै भयो एकपटक। नौ बज्न अझै बाँकी छ। समय कटाउने अन्य कुनै बहाना नभएर उसले टिभी खोलिहेर्‍यो, तर उसको भित्री मनको छट्पटाहट र नैराश्यताले डम्म भरिएको त्यो वातावरणमा उसले टिभीमा ध्यान केन्द्रित गर्न सकेन। बाहिर निस्केर ऊ बार्दलीमा आयो र उभियो, केहीछिन यताउता हेरेर घरको छतमा गयो र फेरि तल ओर्लियो। भर्‍याङको भित्तामा रञ्जिताले एउटा ऐना राखेकी थिई – ओर्लने क्रममा उसको अनुहार ऐनाभरि देखियो– आँखा भित्र गाडिएको, झुस्स दारी पलाएको, दुबै गालामा विभत्स तवरले घाउ भएको, कपाल जिङ्ग्रिङ्ङ परेको। आफ्नै अनुहार उसलाई अत्यन्त कुरुप लाग्यो। उसले रञ्जीताको गाली सम्झ्यो।

‘ए त्यसो भए म कुरुप छु हैन त? छालाको बाहिरी पत्र भन्दा पर्तिर नदेख्ने, भित्र कुहिएर स्याउँस्याउती कीरा परेको भए पनि बाहिरी चिल्लो र सेतो आवरण भए पुग्ने तिम्रोजस्तो बौद्धिक दरिद्रता र भावनात्मक कुरुपता त मैले कहिल्यै देखेको थिएन बुभ्यौ? हरे शिव, कस्तो मान्छेसँग सम्बन्ध जोडिन पुगेछ मेरो, कसरी बिताएँ यतिका दिन मैले यस्तो आडम्बरको पोकोसँग? स्वास्नीको अनुहारमा डण्डिफोर निस्कियो भनेर, डण्डिफोरको कारण भविष्यमा स्वास्नीको अनुहारमा दाग पो बस्छ कि भन्ने आशंकाको भरमा स्वास्नीसँग सम्बन्ध तोड्न चाहने यु ब्लडी इन्स्टान्स अफ अल्टिमेट अग्लिनेस।’

उसले लामो सुस्केरा हाल्यो र हरुवा कुकुरले टाँगमुनी पुच्छर लुकाउँदै भागे झैं आफ्नो सारा ओज, तेज, नूर, अहम् र घमण्ड लत्राउँदै हतारहतार भर्‍याङ ओर्लन थाल्यो। मानौं कि ऊ रञ्जिताको गालीबाट बच्न भागिरहेछ। तर, उसको  स्मृतिमा हालसम्म सुस्त बनेर बसिरएकी रञ्जिता अब अचानक जागेकी थिई।

ऊ चिच्याई चिच्याई उसको पछिपछि आइरही र कानै फुट्ने गरी उसको मानमर्दन गरिरही, ‘के सोच्या छौ तिम्ले? तिमीभन्दा कैयौं गुणा राम्री छु म बुझ्यौ। आन्तरिक रुपमा पनि बाह्य रुपमा पनि। तिम्रोजस्तो भ्यागुत्तो झैं फ्यात्त बाहिर निस्केको भुँडी, बल्ढ्यांग्रे कैला आँखा र मान्छेका आँखालाई नै बिझाउने घोक्रे नाक त छैन नि म सँग, न कुनै कलाको पारख गर्ने ढंग छ, न कुनै बौद्धिक उचाइ होस्, न सेन्स अफ ह्यूमर छ न कसैसँग भद्र तवरले दुई शब्द बोल्ने तरिका छ। के चाहिँ त्यस्तो विलक्षणता छ भन्ठानेका छौं हँ आफूसँग? अनुहारमा डण्डिफोर नहुँदैमा कान्तिले धपक्क बलेको रुपको राजा सम्झन्छौं आफूलाई? तिम्रो संकीर्ण सोच, तिम्रो असभ्य बोली व्यवहार र तिम्रो समग्र रुपको पुड्को र अनाकर्षक व्यक्तित्व...।’

अत्यन्त हैरानीपूर्ण प्रतिक्षापश्चात बल्ल नौ बज्यो र ऊ उसैगरी घोसे मुन्टो लगाएर गह्रौं पाइला चाल्दै क्लिनिकतर्फ हिँड्यो। उसको शरीरमा कुनै उत्साह, स्फूर्ति वा जाँगर छैन, मन उदास र भारी छ। उसको गालामा बेजोडसँग घाउ दुखिरहेको छ। दुखाइको तोडले शरीरमा ज्वरो समेत आउन थालेको छ। रातको रक्सीले शरीर शिथिल छ। टाउको दुःखिरहेको छ, त्यसमाथि आज कसरी कुन बहानाले अफिस नजाने भन्ने तनाव पनि थपिएको छ।

तर, बाहिरी पीडा वा तनावको अनुभवभन्दा उसको भित्री हृदयले अनुभूत गरिरहेको जलन कैयौं गुणा बढी छ र यही जलन असह्य भएर ऊ छट्पटाइरहेको छ। रञ्जिताको अनुहार डण्डिफोरमुक्त, सफा र उज्यालो भएको छ, ऊ जिन्दगीमा सफल हुँदै गइरहेकी छ, तर किन हो किन उसलाई आज आफू असफल भएको, लाचार, हरुवा र एक्लो भएको अनुभव भइरहेको छ।

मदमत्त भएकी हात्तीनी झैं स्मृतिबाट रणचण्डी बनेर उसको वर्तमानमा खनिइरहेकी स्वास्नीको हुँकार सुन्दै सुन्दै ऊ क्लिनिक पुग्यो। क्लिनिकको  मान्छेले लामो समय लगाएर राम्रैसित उसको ड्रेसिङ त गरिदियो तर अन्त्यमा विश्मयका साथ त्यो मान्छेले यस्तो कुरा सुनायो जसले भने उसको बचे खुचेको आत्मरक्षा गर्ने ल्याकत, हुती वा सामार्थ्य अचानक गायब गरायो। ऊ खम्बा मक्किएको घर झैं भित्रैबाट धर्मरायो र होसहवास गुम भएर ढल्न ढल्न खोज्यो।

त्यो मानिसले बतायो, ‘रेगुलर ड्रेसिङ गर्दै रहनुभयो र सतर्कता अपनाउनु भयो भने यो घाउ त एक डेढ महिनामा ठिक भइहाल्छ, तर तपाईंको गालामा एउटा गतिलो दाग चाहिँ नमेटिने गरी बस्ने भो अब!’

ऊ बेहोसीमै घर आइपुग्यो र डङ्ग बेडमा उत्तानो परेर लड्यो। उसले देख्यो– स्मृतिबाट छताछुल्ल बाहिर निस्केर स्निग्ध, सफा र सुन्दर अनुहार भएकी उसकी स्वास्नी सिलिङबाट उसैतिर फर्केर कराइरहेकी छ, ‘मेरा लागि तिमी अब सम्पूर्ण रुपमा कुरुपताले विभत्स बनाएको मासुको थुप्रोभन्दा केही रहेनौ। तिमी म सँग सम्बन्ध टुटाउन डण्डिफोरले मेरो अनुहारमा नमेटिने गरी दाग नलागेसम्म पर्खन्थ्यौ होला, तर मलाई अब पर्खनु छैन किनकि मैले देखिसकें तिमी सम्पूर्ण रुपमा एउटा कालो धब्बा भन्दा बढी केही होइन रहेछौ।’

उसले सिलिङतर्फ हेरिरहन नसकेर आँखा चिम्ल्यो। निस्सार, अर्थहीन, कुरुप र अत्यासलाग्दो निरासाले भरिएको आफ्नो अस्तित्व वोध गरेर अहिले उसलाई कहिल्यै नउठ्ने गरी निधाउन मन लागिरहेको छ।     

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १७:५५
सिफारिस
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
सांसद बनिन् सहिदकी आमा
सांसद बनिन् सहिदकी आमा
पहिलो पारलैंगिक महिला सांसद बनेर इतिहास रच्दै भूमिका
पहिलो पारलैंगिक महिला सांसद बनेर इतिहास रच्दै भूमिका
ओझन बुढाको डेरा कहाँ थियो?
ओझन बुढाको डेरा कहाँ थियो?
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

उद्रिएका सपनाहरू!
अब यो देश कविले बनाउँछ!
कामना गरौँ...
मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!
आफ्नै खोजीमा...
यहाँ न्याय पाइँदैन?
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP