धेरै भयो
आजकल जीवन दुखेको छैन
न त आनन्दमा छु भनेर घोषणा नै गर्न सक्छु
जहाँ म उभिएको छु
यो एउटा संघार होला 
पूरानो र नयाँ बीचको संघार
पूर्वीय र पाश्चात्य बीचको 
सभ्य र असभ्यको
अग्रगमन र पश्चगमनको
अनुकूल र प्रतिकूलको 
जीवित र मृतकको 
सायद
पुरुष र महिला बीचको संघार पनि हो यो 
यो संघारमा संकट छ
र त्यही संघारमा म पनि छु 
हो, म संकटमा छु। 
लामो समय भयो
कसैलाई फोन गरेको छैन
नसम्झेर होइन 
नचाहेर पनि होइन
पुरातन र आधुनिकताको संघारमा फसेर होला
रेडियोको आविष्कार मन पर्छ
टेलिभिजनको आविष्कार पनि मन पर्छ
तर टेलिफोनको आविष्कार त्यती मन पर्दैन 
बरु चिठ्ठी लेख्न मन पर्छ
ठेगाना पठाइदिनु होला 
लामो समय भयो
कसैलाई भेटेको छैन
भेट भएकाहरुले याद गर्नुस् त
भेटमा धेरै बोलिनँ होला म 
बोल्दिनँ भनेर नबोलेको होइन
शब्दहरु बिनाकै सम्बन्धहरु गाँस्न मन पर्छ 
तपाईंको आँखामा आँखा जुधाएर हेरिनँ होला
आँखा-आँखाबीच साटिएका साना-साना पलहरु सत्य लाग्छन्
मेरो कविता पढ्ने एउटा साथीले भन्छ
तपाईंको हरेक लेखमा अस्तित्वको संकट भेटिन्छ
उसैले भनेपछि थाहा पाएँ
अस्तित्वकै संकटमा रहेछु सायद
तर प्रश्नहरु भने त्यती छैनन आजकल
गुमनाम जालोमा
कुवाको भ्यागुता बनी पौडिरहेको छु
थाहा पाइरहेको छु कुवा बाहिर पनि संसार छ
तर बाहिर र भित्रको संकटमा फसिरहेको छु
कुवा बाहिर पनि के नै पो छ र?
जालो भित्रै पनि त ब्रह्माण्ड छ
त्यो देख्ने आँखा भने उघारिएका छैनन्। 
खै के लेखुँ?
मिलाएर लेख्नु छैन 
केवल पोखिनु छ 
सडकमा बिस्कुन पोखिए सरी 
केही दानाहरु चराहरुका चुच्चाले च्यापेर लैजालान्, सन्तानको पेट भर्लान्
केही दानाहरु बटुवाहरुको बुटले किचिएर फुटिजालान्, माटो बन्लान्
र केही दानाहरु मटोमा मिसीएर बिरुवा बनी उम्रिएलान्
बस यत्ति...।