ब्यास आउनु परेन
दिव्यदृष्टि दिन
धृतराष्ट्रलाई जस्तै
सुनाउने संजयको
आवश्यक पनि परेन
आफ्नै हातको
आफ्नै काखको
अनि आफ्नै
टेबलको
दिव्यदृष्टिबाट
हेरिरहेका छौँ
सबैले
कुरुक्षेत्रको लडाइँ।
हरेक युगमा
दृष्टि भए पनि
नभए पनि
धृतराष्ट्रहरू अहंकारी नै
हुँदा रहेछन्
दुर्योधनहरूको तुजुक
उस्तै हुँदो रहेछ
अनि
पाण्डव पनि
स्वार्थी हुँदा रहेछन्
र
लडाइँमा पठाउँदा रहेछन्
सबैले अभिमन्युहरूलाई मात्र।
कलिला अभिमन्युहरूको
रगतको आहालमा
मुछेको माटोले
बन्दो रहेछ हरेक युगमा
हस्तिनापुरको दरबार
अनि राज्यारोहण
हुँदो रहेछ महाराजाहरूको।
आफ्नै हातको
आफ्नै काखको
अनि आफ्नै
टेबलको
दिव्यदृष्टिबाट
हेरिरहेका छौँ
कुरुक्षेत्रको लडाइँ
र
देखिरहेका छौँ
कुनै दाग
नलागी
कुनै तार नभाँची
जस्ताको तस्तै
राज्य सञ्चालनका
उकालो ओरालो
बाङ्गाटिङ्गा
अनि
उखडबाखड
बाटोहरूमा
कुपन्डोलबाट जसरी गए
उसै गरी फर्केका
सुरही र छाताहरूले
खेपिरहेको निर्मम
प्रहार।
हाम्रो हातमा भएको
दिव्यदृष्टिले
दर्शन गराइरहेको छ
पुस्तौँ देखिका
लोकतन्त्रको दस्ताबेज
जोगाएका जस्ताका पाताहरू
अग्निमा
आफैँ दन्किएका।
त्यस्तै
शासकका तीन पुस्तासँग
प्रजातान्त्रिक लडाइँ लड्ने
लौह पुरुषको साक्षीको
दहन।
दर्शनको जडशूत्रमा
आम जनतालाई बाँध्ने होइन
जनताको भलोको लागि दर्शन
भन्ने आफ्नो वाणीमा
जनताको बोली मिसाउँदै
अभिमन्युहरूलाई प्रश्न गर्न
सिकाउँदा सिकाउँदै
षडयन्त्रमा त्रिशूलीको
सिकार भएको
उसैको नाम
भित्तामा समेत बढी भएछ
र कोट्याउँदै छन्
अनि
आस्थाका
मूर्तिहरूका नाकमा
जुत्ता बर्साउँदै छन्।
आफ्नै हातको
आफ्नै काखको
अनि आफ्नै
टेबलको
दिव्यदृष्टिबाट
हेरिरहेका छौँ
कुरुक्षेत्रको लडाइँ।
द्रौपदीको वस्त्र हरण
भएपछि
पाँच गाउँ दिए पनि युद्ध
रोकिन्थ्यो र?
काठ चोरहरूलाई वन हेरालो
बिरालाहरूलाई दूध कुरुवा
र
ब्वाँसाहरूलाई बाख्राको खोर
जिम्मा दिएर
आफूहरूको अगाडि पछाडि
बाँदर (हनुमान) नचाएपछि
युद्ध त हुनु थियो
तर दूरनियन्त्रक यन्त्र
कहाँ हुन्छ
थाहा थिएन र?
आफ्नै हातको
आफ्नै काखको
अनि आफ्नै
टेबलको
दिव्यदृष्टिबाट
हेरिरहेका छौँ
सबैले
कुरुक्षेत्रको लडाइँ।
लडाइँ गरिरहेछन्
सबै
छलको, ढाँटको,
हल्लाको, बलको र
घातको
ठड्याउँदै
चोर औँला अर्कोलाई
तर साहस छैन
कसैमा हेर्न
आफू कति ओभानो
छु
त्यसैले
बर्बरिकलाई खोज्न चाहन्नन्
उनीहरू
त्यसैले लगातार लडिरहन्छन्
अहंकारी धृतराष्ट्रहरू
तुजुक बढेका दुर्योधनहरू
स्वार्थी आजका पाण्डवहरू
झोले दुष्शासनहरू
र
बगाइरहन्छन्
निर्दोष अभिमन्युहरूको
रगत।
हामी
आफ्नै हातको
आफ्नै काखको
अनि आफ्नै
टेबलको
दिव्यदृष्टिबाट
हेरिरहन्छौँ
हेरिरहन्छौँ
कुरुक्षेत्रको युद्ध।