'अस्पतालको शौचालयमा ५/६ महिनाको जस्तो देखिने मृत नवजात शिशु छ' एक जना शौचालय प्रयोगकर्ता महिलाले नर्सिङ इन्चार्जलाई जानकारी दिइछन्।
तत्काल त्यो सूचना पुलिसलाई पुग्यो।
अस्पतालमा यस्ता घटना भैरहन्छन्। त्यस्ता कुकर्म गर्ने दण्डित हुन्छन्/ हुँदैनन्; अस्पताललाई जानकारी हुँदैन। रेकर्ड पनि हुँदैन। अनुसन्धान पुलिसले गर्छ।
ट्याक्सी चालक भएकाले पैसाका लागि जस्ता पनि ग्राहक बोक्नुपर्छ। खासमा मान्छे बोकेको होइन। पैसा बोकेको हो। मान्छेलाई पैसासँग तुलना गर्छु। हरेक ग्राहक पैसा हुन्। पैसा कमाउन पठाओ र इनड्राइभ दुवै एप प्रयोग गर्छु। यसले ग्राहक र चालकबीच द्वन्द्व कम गराएको छ। प्रविधिलाई धन्यवाद छ।
'यति दिन्छु' भन्छन् पुरानो पुस्ताका ग्राहक। 'हस्' भन्दै अफलाइनमा गइन्छ। गन्तव्यमा पुर्याइदिँदा कुनै–कुनै ग्राहकले धन्यवाद दिँदै टिप्स दिन्छन्। कोही गुनासो र गाली गर्छन्। भाडा धेरै भयो, ठगी गरेको, जान चाहेको ठाउँमा नलगेको आदि–आदि।
बेला–बेलामा ट्याक्सीबाट ओर्लेर टाप ठोक्ने ग्राहक पनि भेटिन्छन्। दुःख खेर जान्छ। सडकमा ट्याक्सी छोडेर पछाडि–पछाडि दौडने कुरा हुँदैन! अचम्म–अचम्म र अनौठा घटनाको अनुभूति हुन्छ। आफ्नै रकम लुटेर भाग्छन्। ज्यान जोगाउनै मुस्किल हुन्छ कहिलेकाहीँ।
दैनिकी र जागिर नै यही हुनाले जे जस्तो भए पनि सहनुपर्छ। जस्ता ग्राहक भेटे पनि पैसा हो भनेर बोक्नुपर्छ। मान्छे चिन्न सकिँदैन। मान्छेको निधारमा लेखेको हुँदैन। सभ्यदेखि असभ्य सबै चढ्छन्। ख्यालै हुँदैन। तर पनि कुनै–कुनै ग्राहक अलिक स्मरणयोग्य हुन्छन्। त्यस्ताको सम्झना भैरहन्छ।
बिहान खान खाएपछि चोकमा निस्केर ग्राहक कुरेको। मरे कोही आएनन्।
'हैन, के भएको क्या आज?' सोच्दै थिएँ सिटमै निदाएछु।
त्यस्तै बेलुकाको ४ बजेको थियो। सडकमा अलिक भिडभाड थियो। अफिस समयमा त्यो स्वाभाविक हो। एक जना अन्दाजी २५/३० वर्षकी महिला पेट समाउँदै 'आईया' र 'आथ्था' गर्दै अस्पताल छिटो पुर्याइदिनू भनेर कराई। 'बस्नु' भन्दै ट्याक्सी हुइँक्याएँ। अस्पताल पुर्याइदिएँ।
वाक गर्न खोज्दै थिई। हत्तपत्त मैले प्लास्टिक दिएँ। वाक गरी त्यसमा।
'अस्पताल लैजान सहयोग गर्ने कोही छैनन्?' सोधेँ मैले।
'कोठामा बस्छु। नयाँ कोठा सरेको हो। कोही चिनेको छैन,' जबाफ दिई उसले।
होला जस्तो लाग्यो। अस्पतालको इमर्जेन्सी गेटमा छाडिदिएँ। इमर्जेन्सीमा आफन्त नभए पनि बेवारिसे मानेर उपचार हुन्छ। शायद उसको पनि भयो होला।
पार्किङमा गएर बसेँ। कस्तो लोदर लाग्छ कहिलेकाहीँ! अस्पताल जाँदा पनि फर्किने 'टिप' समयमा पाइएन। ३ घण्टासम्म ग्राहक कुरेर बसेँ। आएनन्। जानुपर्यो भनेर बिस्तारै गेटतिर निस्कँदै थिएँ। त्यही महिला 'मलाई लगिदिनू' भन्दै आई।
अचम्म! 'कति छिटो सन्चो भयो?'—प्रश्न सोधेँ।
टाउको मात्र हल्लाई। ट्याक्सीमा बसी। 'आइया' भने जस्तो सुनेँ मैले।
'अघिकै ठाउँमा पुर्याइदिनू'।
'हस्' भनेँ। घर पनि त्यतै पर्थ्यो मेरो। ठिकै भयो। आज दिनभरि त्यही महिलालाई लाने–ल्याउने काम मात्र भयो। फर्किंदा अलि सन्चो भए जस्तो देखिन्थी।
'बिस्तारै जानू' भनेँ मैले।
'हस्' भन्दै ट्याक्सीबाट ओर्लेर गई। कता गई याद भएन मलाई।
ट्याक्सीको सिटमा रगतको टाटा देखेँ।
'छ्या! मरेस्!' रातको १० बजेको थियो। घर गएँ। ज्यादै कम पैसा कमाएँ आज। मन अलि खल्लो भयो।
घरमा पुगेर पनि त्यो महिला सम्झिरहेँ। यो सहरमा कसले कसलाई चिन्छ र? उसलाई यो ठाउँमा कहिल्यै देखेकै थिइनँ। चिनिनँ।
ट्याक्सी चलाएदेखि १२०० मात्र कमाएको त्यही १५ गते मात्र हो। त्यसभन्दा अघिपछि २००० भन्दा कम कमाएको छैन। त्यो १० दिन अगाडिको सम्झना फेरि आयो।
सधैँको बिहानझैँ ट्याक्सी चोकमा निकालेँ। निकाल्ने बित्तिकै ट्राफिकले ट्याक्सी समायो। साँचो माग्यो। दिएँ।
'किन?'—प्रश्न गरेँ।
एक दिन रातो बत्ती वास्ता नगरी हिँडेको थिएँ, त्यही पो हो कि भन्ने लाग्यो। गल्फत्ती गर्दै गर्दा पुलिस आयो। ट्राफिकले पुलिसलाई जिम्मा दियो।
'म जता भन्छु, त्यतै ट्याक्सी चलाउनू' आदेश दियो।
'किन यसो गर्दैछ पुलिस?' भनेर अलि हतास भएँ।
ट्याक्सीमै पुलिस बस्यो।
'अस्पताल लैजाऊ' भन्यो।
अस्पताल पुर्याएँ।
अस्पतालमा काम रहेछ कि मोराको! 'आज सुख्खा बनाउने भो'—मनमनै सोचेँ।
अस्पताल पुगेपछि—'रगत दिनू। रगत टेस्ट गर्नुपर्छ' भन्यो पुलिसले। अब भने पूरै अल्मलिएँ। रगत दिन मानिनँ! अस्पतालको शौचालयमा भेटिएको शिशुको हत्या दुरूत्साहनको कागज देखायो। त्यसमा मलाई जोडिएको रहेछ। परेन फसाद!
'खुरूक्क रगत दिनू!' फेरि भन्यो।
प्रतिकार गरेँ तर सकिनँ।
'रगत परीक्षण गर्दैमा केही हुन्न गर्नूस्' भने अस्पतालका कर्मचारीले।
रगत दिएँ।
केही घण्टा यतै बस्न भन्यो पुलिसले।
सयौँ बिन्ती गरेँ पुलिसलाई। छोड्दै छोडेन। मानेन। महिलालाई अस्पताल पुर्याएको र घर लगेको सिसिटिभी फुटेज देखायो। छागाबाट खसेँ। धिक्कारें मनलाई। कस्तो ग्राहक फेला पारेछु त्यो दिन?
केही घण्टापछि रिपोर्ट आयो। ब्लड ग्रुप र डि.एन.ए. मसँगै मिल्यो रे!
'हैन, के हुँदैछ? पुलिसले फसाउन लागेको त होइन? मेलमतो त छैन?' प्रश्न उब्जिए। पुलिसप्रति शंका लाग्यो।
विद्यमान प्रमाणका आधारमा दोषी देखायो मलाई। निरीह भएँ! चौकी लग्यो। कराएँ म।
'होइन कि होइन' भनेँ। केही लागेन। चौकीमा पुगेपछि पुलिसले सबै बेलिबिस्तार लगायो। भोलिपल्ट अदालत लग्यो।
घरमा के भन्नू? श्रीमती र छोराले पटक–पटक फोन गरे।
'कता हो?' 'हिजो पनि आउनु भएन।' के भयो? के भन्ने भन्ने भयो। लाज मर्नु भयो। जिल्ला बाहिर गएको हुनाले एक–दुई दिन लाग्छ भनेर ढाटिदिएँ। मनमा जलन थियो। खाँदै–नखाएको विष लागिराछ। 'हे भगवान! बचाउनूस् मलाई!' भगवान पुकारेँ।
पुलिसले अहिलेसम्म त्यो महिलालाई भेट्न सकेको रहेनछ। कुन गल्लितिर छिरी, पुलिसले पत्ता लगाएन। मलाई त झन् थाहा नै छैन। शौचालयमा मिलेमतोमा बच्चा छोडाएर भगाएको आरोप मलाई छ।
'ड्राइभर मात्र हो क्या म!'। पुलिस मरे मान्दैन। 'हे दशा! कस्ता–कस्ता ग्राहक भेटिन्छन्! पापी आजै मरिजाओस्!'
खासमा बच्चा अवैध रहेछ। बच्चा फ्याक्न स्थानीय मेडिकलमा किनेर के जाति… औषधि खाइछे। दुखाइ सहन नसकेर मर्छु जस्तो लागेछ। ज्यान बचाउनको लागि अस्पताल गएकी होली त्यो पापी।
उपचारको प्रक्रिया सुरू नगर्दै शौचालय जाँदा मरेको बच्चा जन्मिएछ। नत्र डाक्टरले केही लेख्थे होलान्। डाक्टरको केही रिपोर्ट छैन। उपचार गराएको प्रमाण पनि छैन। कसैले थाहा पाउँदैन भनेर शौचालयमा शिशु छोडेर भागेकी हुन सक्छे। अनुमान लगाएँ। घर फर्किँदा पूरै अनुहार सलले छोपेर ट्याक्सी चढेकी थिई। अहिले पो याद आयो।
धेरै दिनको सिसिटिभी निगरानीपछि ट्याक्सी र मलाई पुलिसले पक्राउ गर्यो। पक्राउपछि सबै कुरा बुझेँ। चौकी लगेको भोलिपल्ट अदालत पेश गर्यो। अदालतले ७ दिनको म्याद दियो। ट्याक्सी पनि चौकीमा छ। म पनि चौकीमा छु। हत्या दुरूत्साहनको अभियोग छ मलाई। लाज लागिराछ।चौकीमा कोही चिनेका छन् कि भनेर हेर्छु, कसैलाई देखिनँ। अलि सहज भयो। फस्न पनि कस्तो ठाउँमा फसेको क्या?
पुलिससँग बेस्सरी 'तँ तँ, म म' गरेँ। ट्याक्सी चलाएर खान नसकिने भो। गाह्रो र झ्याउँ छ क्या ट्याक्सी चलाउन।
'म हुँदै होइन, त्यो झुट हो, त्यो महिलालाई अस्पताल पुर्याएर ल्याएको मात्र हो। कुनै दोष छैन मेरो। चिन्दा पनि चिन्दिनँ।' त्यो पापिनी! नर्क जाओस् भन्दै पुलिससँग कराउँदै थिएँ। ट्याक्सीको ढोकामा ढकढक आवाज आयो। झस्किएँ म। आँखा मिच्दै हेर्दा गर्भवती महिला अगाडि देखेँ।
'खाली हो?' सोधी उसले। 'नाइँ, नाइँ… म जान्नँ!' 'कस्तो मात्तेको ट्याक्सी ड्राइभर!' भन्दै कराई।
म भने अझै सपनासँग आत्तिराछु। डराइराछु।