यो देशभित्रै लुकेको एउटा त्यस्तो ठाउँ छ
जति गहिरो भेरी होला उति गहिरो घाउ छ
पीडा अनि दर्दको शिर छुन्छ कर्णाली
काठमाडौँमा हाँस्छन् ठुला, रुन्छ कर्णाली।
क्षेत्रफलमा ठुलो अनि जनसंख्यामा सानो
न त सितो जनताले न पाका छन् छानो
विकृतिका दाग कहिले धुन्छ कर्णाली?
काठमाडौँमा हाँस्छन् ठुला, रुन्छ कर्णाली।
अन्त चिल्ला काला सडक कर्णालीमा भिर
सरकारको ध्यान कहिल्यै जान्न त्यता तिर
सडक यातायातको अभाव गुन्छ कर्णाली
काठमाडौँमा हाँस्छन् ठुला, रुन्छ कर्णाली।
तुइन चढी जान्छन् स्कुल गाउँका बाबुनानी
मूकदर्शक सरकार हेर्छ संकोचै नमानी
आँसुका भेल अझै कति थुन्छ कर्णाली?
काठमाडौँमा हाँस्छन् ठुला, रुन्छ कर्णाली।
औषधि र सुविधाको अभावले गर्दा
उपचार पाएका छैनन् आपत्-विपद पर्दा
कहिलेसम्म यसरी चुप हुन्छ कर्णाली?
काठमाडौँमा हाँस्छन् ठुला, रुन्छ कर्णाली।
सम्भावना अथाह बोकेको छ यसले
तर पनि अर्घेलो बनाको छ देशले
प्रगतिको पथ कसरी चुन्छ कर्णाली?
काठमाडौँमा हाँस्छन् ठुला, रुन्छ कर्णाली।
हामी बोल्ने राष्ट्र भाषा जन्मेको यो ठाउँ
विकटताको सूचिमा परेको छ नाउँ
अझै पनि कति विकट हुन्छ कर्णाली?
काठमाडौँमा हाँस्छन् ठुला, रुन्छ कर्णाली
काठमाडौँमा हाँस्छन् ठुला, रुन्छ कर्णाली।