कहाँ मिल्छ र पैसाले संसारमा सबैथोक किन्न
आत्मसन्तुष्टि नभए सुखले पनि पार्न सक्छ खिन्न
जतिसुकै सुन्दर किन न होस् त्यो बिरानो ठाउँ
स्वर्गभन्दा महान् हुन्छ आफू हुर्किएको गाउँ।
परदेशमा आफ्नो रहर बेचेर के कमाउँछौ अनि?
आफ्नै माटोमा बाँचे पो हुन्छौँ है संसारकै धनी
गोर्खालीको सन्तान हौँ हामी गोर्खाली हो नाउँ
स्वर्गभन्दा महान् हुन्छ आफू हुर्किएको गाउँ।
सबैजना मिलेर अघि बढे मान्नु पर्दैन कुनै डर
एकताको शक्ति देखाउन कसौँ है अब कम्मर
पाउँदिन यस्तो शान्ति म विश्वको जताततै जाऊँ
स्वर्गभन्दा महान् हुन्छ आफू हुर्किएको गाउँ।
अग्ला शिखर, विशाल पहाड, ठुला-ठुला भीर
चढ्न सक्ने क्षमता भएका हामी नै हौँ आखिर
ओखती यही हरियो वनमा छ लागे पनि घाउ
स्वर्गभन्दा महान् हुन्छ आफू हुर्किएको गाउँ।