‘मलाई माफ गरिदेऊ यार, म अब हाम्रो रिलेसनलाई अगाडि बढाउन सक्दिनँ। तिमी र तिम्रो यो दोहोरो चरित्र... सहन सक्ने क्षमता मसँग छैन।’
सबिताले मेरो मोबाइल स्क्रिन मेरो आँखा अगाडि देखाउँदै भनिन्।
एक्कासि हडबडाउँदै मैले आफ्नो खल्ती छाम्न पुगेँ तर मोबाइल मसँग थिएन। मेरो मोबाइल सबिताको हातमा कसरी पुग्यो थाहा नै भएन र मोबाइलमा मेरो इन्स्टाग्राम अकाउन्टको च्याट बक्स खुला थियो।
मेरो हातमा भएको कफीको कप काँपेर भुइँमा खस्यो। कफीका काला टाटा भुइँभरि पोखिए, ठिक त्यसै गरी, जसरी मेरो पहिलो प्रेमको संसार क्षणभरमै भत्किँदै थियो।
बाहिर फेब्रुअरीको चिसो हावा चलिरहेको थियो। ठ्याक्कै एक वर्षअघि, फेब्रुअरी १३ का दिन यही 'मनसुन क्याफे' मा हाम्रो पहिलो भेट भएको थियो। प्रेमको 'प' सम्म नबुझेको म, सबितालाई देखेपछि मात्र प्रेमको वास्तविक गहिराइमा डुबेको थिएँ। तर आज त्यही फेब्रुअरीको महिना हाम्रो अन्त्य बन्दै थियो।
‘सबिता, कम्तीमा मेरो कुरा त सुन! तिमी यो जुन च्याट देखिरहेकी छौ यो च्याट मैले गरेको होइन!’
‘मैले आफ्नै आँखाले च्याट पढेँ, गोपाल!’ उसले आँसुले भरिएका आँखाहरूले मलाई हेर्दै भनी, ‘तिम्रो इन्स्टाग्राम एकाउन्ट मसँग छैन भन्दैमा अरूसँग बोलेर मलाई धोका दिनुपर्ने आवश्यकता पनि त थिएन, के यी तिम्रै शब्द होइनन्? संसारको अगाडि मलाई आफ्नो प्रेरणा भन्ने मान्छेले इन्स्टाग्रामको इनबक्समा अर्कै केटीसँग बोल्ने के जरुरत थियो? मलाई लाग्थ्यो तिमी मलाई माया गर्छौ, तर तिमी त मेरो भावनासँग खेलिरहेका रहेछौ। म यो शङ्का र अपमानको बिचमा बाँच्न सक्दिनँ।’
उसको यो गहिरो शाब्दिक चोटले म निःशब्द भएँ। विडम्बना के थियो भने, त्यो मेरै एकाउन्ट भए तापनि, मेरै आइडी भए तापनि मैले सविता बाहेक अरूसँग बोलेको थिइनँ। म्यासेज पनि गरेको थिइनँ तर एक्कासि मेरो आइडीबाट अर्कै केटीसँग बोलेको च्याट कहाँबाट आइपुग्यो म अचम्ममा पुगेँ र न उनलाई प्रमाण दिन मसँग प्रमाण पनि त थिएन।
एक्कासि याद आयो, मेरो यो आइडी त मेरो परम मित्र शिशिरसँग पनि छ। उसलाई पनि यसको पासवर्ड दिएको थिएँ। के ऊ बोलेको त होइन? पक्का ऊ नै बोलेको होला। कति हरामी छ । १०० वटा रावण मरेपछि जन्मिएको होला कि क्या हो!
तर उसलाई मेरो आइडीबाट अर्को केटीसँग बोल्ने के जरुरत पर्यो? कि ऊ हामीलाई छुट्टाउन चाहन्छ?
मेरो दिमागमा आफ्नै साथीप्रति पनि नकारात्मक सोच आउन लाग्यो तर कुनै प्रमाणबिनै आफ्नो सबैभन्दा नजिकको साथीमाथि शङ्का गर्नु पनि त अर्को अन्याय थियो। सम्बन्धहरू धोकाले भन्दा शङ्काले टुट्छ। म प्रेमिका गुमाए पनि साथी गुमाउन चाहन्थिनँ।
अनि सबितालाई यो आइडीबाट बोल्ने म होइन शिशिर हुन सक्छ भन्न लागेको थिएँ, उनले मलाई आफ्नो सफाइ पेस गर्ने एउटा मौकासमेत नदिई क्याफेको ढोका खोलेर बाहिर दौडिई।
म कराएँ, चिच्याएँ, उसको पछि-पछि सडकमा दौडिएँ। बाहिर बाक्लो कुहिरो थियो। मैले सबितालाई भेटाउन सकिनँ। मेरो आँखा अगाडि डरको कालो तुवाँलो नाच्न थाल्यो। रोकिएर फोन गरे मलाई ब्लक गरेकी रहेछ, मेसेज गर्न लागे हरेक माध्यमबाट ब्लक भइसकेको रहेछु।
एक्कासि मुटु यसरी दुख्यो कि मलाई सास फेर्न गाह्रो हुन थाल्यो। म एउटा अथाह पीडाको खाल्डोमा छटपटाउन थालेँ। मेरो शरीर पसिनाले निथ्रुक्क भयो।
‘सबिता! सबिता!’
म जुरुक्क उठेर कराएँ।
चारैतिर हेरेँ- न त त्यहाँ 'मनसुन क्याफे' थियो, न त भुइँमा पोखिएको कफी। म आफ्नै कोठाको ओछ्यानमा थिएँ। बाहिर बिहानीको मधुरो घाम लाग्दै थियो। मेरो सिरानीनेर मेरो मोबाइल सुरक्षित थियो, जसमा सबिताको एउटा मिठो 'गुड मर्निङ' को मेसेज मात्र आएको थियो। मेरो निद्रा खुलिसकेको थियो। त्यो सब एउटा भयानक सपना मात्र थियो।
मैले लामो र गहिरो सास फेरेँ। मेरो मुटु अझै पनि तीव्र गतिमा धड्किरहेको थियो, तर त्यो डिजिटल सपनाले मेरो चेतनालाई एउटा ठुलो दार्शनिक मोड दियो। प्रेमलाई एउटा सामान्य भावना वा च्याटको शब्द मात्र सम्झने मैले आज त्यसको वास्तविक महत्त्व बुझेँ।
आजको यो अनलाइन समयमा हाम्रा सम्बन्ध काँचका पुराना ऐनाजस्तै कमजोर बनेका छन्। अचम्म लाग्छ, हामी मानिसको प्रत्यक्ष उपस्थिति, उसको इमानदारिता भन्दा मोबाइलको नाङ्गो स्क्रिनमा देखिने केही मृत शब्द र स्क्रिनसटहरूलाई बढी सत्य मान्न थालेका छौँ।
शङ्काले मानिसलाई वास्तविकतामा भन्दा बढी भ्रमको अँध्यारो कोठामा बन्द गरिदिँदो रहेछ। यदि हामीले समयमै प्रविधिको यो स्क्रिनलाई बन्द गरेर, आमनेसामने बसेर संवाद गर्ने साहस गरेनौँ भने आधुनिकताको यो कालो तुवाँलोमा जीवनका सबैभन्दा सुन्दर सम्बन्धहरू पनि बिलाएर जानेछन्।