कहाँ हो कहाँ पो पुगेछु
देखे देखे जस्तो पनि लाग्ने
टेके टेके जस्तो पनि लाग्ने
फेरि देखे जस्तै
टेकेजस्तै
ठ्याक्कै पनि छैन
खर्क हाम्रै जस्तो पनि छ
फेरि
ठ्याक्कै उस्तै पनि छैन
खर्कको चउर भने उस्तै
भेडा-बाख्राहरू एक तमासले चरिरहेका उस्तै
खर्कको चउरमा
वनफूलहरू रातो, सेतो, बैजनी फुलिरहेका उस्तै
भेडाबाख्राहरू हेर्ने कोही देखिएन
म एक्लै विशाल खर्कको क्षितिजमा पुगेँ
क्षितिज पर अझै ठुलो खर्क रहेछ
ओहो!
त्यहाँ पो कति रहेछन्
कति धेरै मानिसहरू!
कोही गाइरहेका
कोही नाचिरहेका
एकलासको खर्कबाट
मान्छेहरू देखेपछि
म हुत्तिँदै दौडिँदै नजिकिएँ
गीतहरू स्पष्ट सुनिए
मादल डम्फुका आवाजहरू अझै गम्किए
यसो...
गीत सुनेँ
शब्दहरू सुनेँ
मैले त
गीतका शब्दहरू नै बुझेन
अझै ध्यान दिएर शब्द शब्द सुनेँ
अहँ!
बुझ्दै बुझेन मैले!
मान्छेहरू यसो हेरेँ
पुवाका कछाड, भाङ्ग्रा लगाएका
महिलाहरू त्यसै गरी पुवाकै
सेता लुङ्गी चोली लगाएका
सेता पहेँला धातुका गहनाहरू लगाएका
म देखिएँ
र
मिहीनपूर्वक हेरिएँ
उनीहरू गाउन, नाच्न रोकिए
को आयो यो अपरिचि?
जस्तै गरी
उनीहरूका नजरहरू घोरिए
मादल डम्फु बन्द भएपछि
रह्यो मात्र चिसो बतासको
स्यार-स्यार र स्वाँ-स्वाँ..
उनीहरू सबै स्तब्ध देखिए
एक्कासि उनीहरूकै भीडबाट
खोइ के भाषामा हो
एउटा आवाज आयो
फेरि मैले खै कसरी हो
यो बुझ्न पुगेछु कि
त्यो आवाज दिने मान्छेको
पनातिको पनि
पनाति रे म!
उनीहरू आए
मेरो हात समाते
मेरो गाला छामे
एकअर्काको अनुहार हेर्दै
मलाई देखाउँदै हाँसे मुस्कुराए
खुसी भए
म पनि त्यसै गरी
खुसी भएँ
मेरा बाजे बराजुहरू देखेर
दङ्ग परेँ
आँखाहरू मात्र बोले
उनीहरूले बोलेको भाषा मैले बुझेन
मैले बोलेको भाषा उनीहरूले बुझेनन्
अब भने
म गुम्सिएँ
उकुसमुकुस भयो
धेरै कुरा गर्न चाहन्थेँ
आफ्ना पुर्खाहरूसित
भाषा नै बुझिएन
भाषा नै नबुझिएपछि
मेरा भावहरू नै पोख्न पाएन
उनीहरू भने आफ्नो भाषामा
नानाथरी शब्द बोल्दै
माया पोखिरहेका थिए
म पनि मन भरिका
माया, श्रद्धा र खुसी
पोख्न चाहन्थेँ
तर अहँ!
उनीहरूले त
मेरो भाषा नै बुझेनन्
न मैले उनीहरूको भाषा बुझेँ
उनीहरू
उनीहरू ‘मगर’ भाषा बोल्दा रहेछन्
वरपर हेरेँ
वनदेउता, वनझाँक्री जस्ता
देवी देउताहरू देखेँ
उनीहरूलाई हात जोडेर
वेदना पोखेँ
अचम्म!
बुझेनन् देवी देउताहरूले पनि मेरो भाषा
देवी देउताहरूले पनि मेरो भाषा
नबुझेको देख्दा
भित्र भित्रै रोएँ
एक्कासि
खुट्टाको औँलामा
जुकाले टोके जस्तो भयो
झल्याँस्स भएछु
सपना पो रहेछ!
सोचेँ
कस्तो पो सपना देखेछु
मृत्यु भइसकेका
बाजे बराजुसँग भेटेछु
मनमा चुकचुक लागिरह्यो
आफैलाई धिक्कारेँ
राज्यलाई सम्झिएँ
उता.. पहाड तिर
खानी गाउँका मगरहरू सम्झिएँ
इतिहास सम्झिएँ
अनि
सपना सम्झिएँ
सपनामै पनि
उनीहरूले मेरा भाषा बुझेनन्
मैले उनीहरूको भाषा
हामीले
एकअर्कालाई बुझेनौँ
अहँ!
उनीहरूले मेरो भाषा बुझेनन्
भाषा नबुझेपछि भाव बुझेनन्
उनीहरूले!
मेरा पुर्खाहरूले
मेरो भाषा बुझेनन्
भाषा नबुझेपछि
मलाई बुझेनन्
अहँ!
मेरा देवी देउताहरूले समेत
मलाई बुझ्दै बुझेनन्
मलाई
बुझ्दै बुझेनन्!