साँझको त्यो बाटो आज पनि उस्तै छ। धुलो उड्ने त्यही मोड, सडक किनारमा उभिएको पुरानो पीपलको रुख, अनि केही पर रहेको चिया पसल सबै उस्तै छन्। फेरिएको छ त केवल समय, अनि समयसँगै बदलिएको मेरो जीवन।
म आज पनि कहिलेकाहीँ त्यही बाटो भएर हिँड्छु। कुनै गन्तव्यका लागि होइन, केवल एउटा अधुरो विश्वास बोकेर किनकि मनले अझै पनि विश्वास गर्छ कतै न कतैबाट ऊ फेरि यही बाटो हुँदै फर्किने छ।
कतिपय पर्खाइहरूको कुनै अन्त्य हुँदैन तर मानिसहरू अन्तिम श्वाससम्म पर्खिरहन्छन्। उनी फर्केर आउँछिन् भन्ने आशा नै मेरो जीवनको सबैभन्दा लामो यात्रा बन्यो।
उसलाई बिदाइ गरेको दिनदेखि मैले समय गन्न छोडिदिएँ। म केवल ऋतुहरू गन्न थालेँ। कति वसन्त आए, कति वर्षा बिते, कति जाडोले हात चिसो भएँ तर मेरो मनमा उसको नामको न्यानोपन कहिल्यै कम भएन।
हरेक साँझ म अनायासै त्यही बाटोतिर पुग्थेँ। कहिले चिया पसलको बेन्चमा बसेर मानिसहरूको भीड हेर्थेँ, कहिले पीपलको रुखमुनि उभिएर टाढासम्म फैलिएको सडक नियाल्थेँ। आउने प्रत्येक अनुहारमा केही क्षणका लागि उसैको अनुहार देखिन्थ्यो।
मानिसहरू भन्थे, ‘समयले सबै कुरा बिर्साइदिन्छ।’ म मुस्कुराइदिन्थेँ। किनकि उनीहरूलाई कसरी भनूँ— समयले मानिसलाई बुढो बनाउँछ, तर साँचो सम्झनालाई कहिल्यै पुरानो बनाउँदैन। प्रेम यदि केवल सँगै बिताएका दिनहरूको नाम हुन्थ्यो भने सायद म धेरै अघि नै उसलाई बिर्सिसकेको हुन्थेँ। तर प्रेम त त्यो अनुभूति रहेछ, जुन मानिस टाढा गएपछि अझ गहिरो हुँदै जान्छ।
कतिपय सम्बन्धहरू समाप्त हुँदैनन्, उनीहरू केवल बोल्न छोड्छन्।
उसले पठाएका पुराना सन्देशहरू मैले कहिल्यै मेटाउन सकिनँ। मोबाइल बदलियो, नम्बर बदलियो, जीवन बदलियो, तर उसका शब्दहरू मैले जोगाएर राखेँ। कहिलेकाहीँ रातको सन्नाटामा ती सन्देशहरू फेरि पढ्थेँ। हरेक शब्दले पुरानो दिनहरूलाई फेरि जीवित बनाइदिन्थ्यो। लाग्थ्यो, ऊ अहिले पनि यतै कतै छे, केवल केही समयका लागि आँखाबाट ओझेल भएकी मात्र हो। तर जब वास्तविकताले ढोका ढकढक गर्छ म फेरि एक्लोपनसँगै बस्न बाध्य हुन्थेँ।
जीवन भने कसैको प्रतीक्षामा रोकिने रहेनछ। साथीहरू आफ्ना परिवारमा व्यस्त भए। कोही बिदेसिए, कोही आफ्नै संसार बनाए। घरमा पनि विवाहको कुरा उठ्न थाल्यो। आमाको आँखामा मेरो भविष्यको चिन्ता देख्थेँ। उहाँको मन दुखाउन चाहन्न थेँ। तर मेरो मनले कसैलाई स्विकार्नै मानेन। प्रेमले एक पटक आफ्नो घर बनाइसकेको ठाउँमा अर्को सम्बन्धलाई जबरजस्ती बसाल्नु, त्यो नयाँ सम्बन्ध माथि पनि अन्याय हुन्थ्यो।
तिमीलाई बिर्सिन सकिनँ, त्यसैले कसैलाई झुटो माया पनि गर्न सकिनँ।
एक दिन अचानक ठुलो वर्षा परिरहेको थियो। त्यही वर्षा जुन उसलाई असाध्यै मन पर्थ्यो। म छाता नओढेर त्यही पुरानो बाटोमा हिँडिरहेको थिएँ। पानीले शरीर भिजाइरहेको थियो तर मन त धेरै पहिले नै उसका सम्झनाले भिजिसकेको थियो।
त्यत्तिकैमा टाढाबाट एउटी युवती छाता समातेर आइरहेकी देखेँ। केही क्षणका लागि मुटुको धड्कन असामान्य भयो। पाइला आफैँ रोकिन पुगे। आँखाले विश्वास गर्न खोज्यो सायद... ऊ नै हो।
तर नजिक आएपछि थाहा भयो, त्यो ऊ थिइन।
त्यो क्षण मैले पहिलो पटक आफ्नो आसमाथि आफैँलाई दया लाग्यो। कति पटक मनले भ्रम सिर्जना गरेको थियो, कति पटक मैले त्यसलाई सत्य ठानेको थिएँ।
आशाले कहिलेकाहीँ मानिसलाई जीवित राख्छ, कहिलेकाहीँ बिस्तारै भित्रभित्रै मार्छ।
त्यस रात मैले एउटा चिठी लेखेँ। त्यो चिठी पठाउने कुनै ठेगाना थिएन। त्यसमा मैले गुनासो पनि गरिनँ, प्रश्न पनि सोधिनँ। केवल यति लेखेँ-
‘यदि तिमी साँच्चै खुसी छौ भने, म पनि आफ्नो पीडालाई खुसीको नाम दिन सिक्ने छु। किनकि मैले तिमीलाई आफ्नो बनाउनभन्दा पहिले माया गर्न सिकेको थिएँ।’
त्यो चिठी आजसम्म मेरो डायरीको बिचमा च्यापिएको छ। कागज पहेँलो भइसकेको छ तर त्यसमा लेखिएको माया अझै ताजा छ।
कसैको हात छुट्नु त्यति दुख्दैन, जति उसको साथ छुट्नु दुख्छ।
उसलाई टाढा जाँदै गरेको त्यो दृश्य आज पनि म भुल्न सकेको छैन। ऊ बारम्बार फर्केर हेरिरहेकी थिई, म बारम्बार मुस्कुराउने अभिनय गरिरहेको थिएँ। किनकि उसको अन्तिम सम्झनामा मेरो आँसु होइन, मेरो हिम्मत रहोस् भन्ने चाहन्थेँ। तर ऊ मोड काटेर आँखाबाट हराएपछि मैले पहिलो पटक बुझेँ केही पीडाहरू यस्ता हुन्छन् जसलाई शब्दले होइन, केवल आँसुले बयान गर्न सक्छ।
त्यस दिनदेखि त्यो बाटो केवल एउटा सडक रहेन। त्यो मेरो प्रतीक्षाको अर्को नाम बन्यो।
आज पनि कहिलेकाहीँ म त्यही बाटोमा पुग्छु। फरक यति मात्र छ पहिले म उसलाई खोज्न जान्थेँ, अहिले आफैँलाई सम्झाउन जान्छु। त्यो बाटोले मलाई एउटा कुरा सिकाएको छ; साँचो प्रेमको मूल्य मिलनले होइन, प्रतीक्षाले पनि मापन गर्न सकिन्छ। सबै प्रेम कथाहरू विवाहमा पुग्नुपर्छ भन्ने छैन। केही प्रेम कथाहरू मानिसलाई अझ राम्रो, अझ गहिरो र अझ संवेदनशील बनाउनकै लागि जन्मिएका हुन्छन्।
प्रेमको सबैभन्दा सुन्दर रूप अधिकार होइन, सम्मान हो।
यदि कुनै दिन ऊ साँच्चै यही बाटो हुँदै फर्केर आइन् भने, म उसलाई पुराना हिसाब माग्ने छैन। म केवल उसको आँखामा एक पटक हेरेर मुस्कुराउने छु किनकि केही मानिसहरूलाई दोष दिन सकिँदैन। उनीहरूलाई केवल मनभरि सम्मान र जीवनभरि सम्झना गर्न सकिन्छ।
र यदि त्यो दिन कहिल्यै आएन भने पनि...
मलाई अब गुनासो रहने छैन।
किनकि मैले उसलाई गुमाएको छैन।
मैले उसलाई आफ्नो जीवनको सबैभन्दा सुन्दर अध्यायका रूपमा जोगाएर राखेको छु।