घर जल्दा आँसु झरेन
गोली लाग्दा आँसु झरेन
भोकले बच्चा रुँदा झरेन
औषधि नपाएर सास रोकिँदा झरेन।
ऋणको भारीले
किसानले पासो रोज्दा झरेन
चुलो नबल्दा
देशको भविष्य परदेशिँदा पनि झरेन।
तर आज...
उहाँ रोइरहनुभएको छ
सायद
कसैले प्रश्न गरिदियो रे
कसैले विश्वास गरेन रे
कसैले ताली कम बजाइदियो रे
अचम्म लाग्छ
जनताको पीडामा ढुंगाजस्तो हुने मन
आफ्नो आलोचनामा मैनझैँ पग्लिन्छ
सायद नेपालमा
आँसुको पनि हैसियत हुन्छ।
जनता रोए ‘नाटक’
नेता रोए ‘समाचार’
जनताको आँसु जमिनमै सुक्छ
नेताको आँसु प्राइम टाइममा बग्छ।
देशलाई चाहिएको थियो
उत्तरदायी नेतृत्व
तर देखाइयो
भावनाको प्रेस सम्मेलन
अब त लाग्छ
नेपालमा विकासभन्दा छिटो
यदि केही बगेको छ भने
त्यो केही नेताहरूको आँसु।