सधैँजस्तै आज पनि हतारहतार निस्किनुपर्यो। बिहान छिट्टै उठ्ने बानी भए पनि के-के गर्दागर्दै ढिला भइहाल्छ अनि अन्तिममा हतारहतार दौडिनुपर्छ। मेट्रोबाट झरेर अफिसतिर छिटोछिटो पाइला बढाउँदै थिएँ।
अहिले म पढाइ सकेर, आफूले पढेकै युनिभर्सिटीमा काम गरिरहेको थिएँ। आज अफिस पुगेर हिजो लेख्दालेख्दै छाडेको एउटा ब्लग जसरी पनि सक्नुपर्ने थियो, जुन अर्को हप्ता युनिभर्सिटीले प्रकाशन गर्दै थियो।
अफिस पुग्नेबित्तिकै कम्प्युटर खोलेँ र काममा लागिहालेँ।
मेरो अफिस युनिभर्सिटी अफ हेलसिन्कीको मुख्य भवनको पहिलो तल्लामा झ्यालपट्टि छ। त्यहाँबाट फिनल्यान्डको सबैभन्दा प्रसिद्ध ठाउँमध्ये एक, हेलसिन्कीको सेतो क्याथेड्रल ठ्याक्कै अगाडि देखिन्छ। निकै प्रसिद्ध पर्यटकीय ठाउँ भएकाले गर्मी महिनामा दिनहुँ हजारौँ पर्यटक त्यहाँ आउने गर्छन्। कहिलेकाहीँ त काम खासै नभएको दिन झ्यालबाट मान्छेको चहलपहल हेरेरै म घण्टौँ बिताइदिन सक्थेँ।
ब्लगको एउटा हरफ लेखेपछि एकछिन विश्राम लिएर बाहिर हेर्न थालेँ। धेरै मानिसहरू समूहमा थिए। घुम्न आएका पर्यटकलाई पथप्रदर्शकले चर्चका बारेमा बताइरहेको थियो। गर्मीको समय भएकाले निकै चहलपहल थियो। हिउँद भएको भए खुट्टा गाडिने हिउँ हुन्थ्यो, मान्छे भेट्नै मुस्किल पर्थ्यो।
नजर डुलाउँदै जाँदा मेरो आँखा चर्चअगाडिको ठूलो आँगनमा रहेको एउटा बेन्चमा पुगेर रोकियो, जहाँ एउटा केटी एकटकले चर्चलाई हेर्दै एक्लै बसेकी थिई। वरिपरि सयौँ मानिस थिए, तर उसको ध्यान कसैमा थिएन।
टाढैबाट हेर्दा नेपाली जस्तै लाग्यो। हेलसिन्कीमा नेपाली देखिनु कुनै नौलो कुरा भने थिएन। दिनमै दस-बीस जना नेपाली कतै न कतै देखिइहाल्छन्। चर्चअगाडि आएर टिकटक बनाउने, घण्टौँ फोटो खिच्नेहरूमा पनि नेपाली प्रशस्तै हुन्छन्।
तर त्यो केटीलाई कता-कता देखेजस्तो, चिनेजस्तो लाग्यो। आजकल मलाई टाढाको कुरा प्रस्ट देख्न चस्मा चाहिन्छ। नजिकै रहेको चस्मा लगाएर फेरि हेरेँ। नभन्दै चिनेकै रहेछु। ऊ ऋतु थिई।
विदेश आउने तयारी गर्दा एउटै ठाउँमा तयारी गरेकी साथी। हामी नेपालबाट लगभग सँगसँगै फिनल्यान्ड आएका थियौँ। उसको पढाइ हेलसिन्कीभन्दा अलि टाढा थियो। फिनल्यान्ड आएपछि भेट्नुपर्छ भनेका हामी यहाँ आएपछि आ-आफ्नै जिन्दगीमा यसरी हरायौँ कि फेरि कहिल्यै कुरा भएन।
उसलाई त्यसरी एक्लै टोलाएर बसेको देख्दा एकछिन भेट्न जाऊँ कि जस्तो लाग्यो। फेरि आज सक्नैपर्ने काम सम्झिएँ र आफ्नै काममा लागेँ। बेलाबेला भने आँखा बाहिर गइरहेको थियो। ऊ निकै बेर त्यहीँ बसिरही। पछि एउटी साथी आएपछि उनीहरू दुई जना त्यहाँबाट गए। सायद साथीलाई कुरेर बसेकी रहेछ भन्ने लाग्यो।
ऋतुको घर बुटवलमा थियो, माइती पाल्पा। हामी विदेश आउनुभन्दा करिब दुई वर्षअघि उसको बिहे भएको थियो। आठ महिना जतिको सानो छोरा पनि थियो। उमेर भने भर्खर तेइस-चौबीस वर्ष। तयारी कक्षामा हुँदा ऊ कहिलेकाहीँ हाँस्दै भन्थी,
‘माया-प्रेममा परेर बिहे त गरिहालियो, छोरा पनि भइसक्यो। तर सासू-ससुरा, नन्द-आमाजू, देउरानी-जेठानी, घरव्यवहार सबै मिलाएर बस्न त गाह्रो पो हुने रहेछ। त्यही भएर बुढोलाई फकाएर विदेश जाने योजना बनाएँ। विदेशमा त कोही हुँदैन, बुढोलाई म तह लगाइहाल्छु नि!’
हामी उसलाई जिस्काउँथ्यौँ, ‘पहिला विदेश जाऊ, त्यसपछि थाहा हुन्छ, तिमीले बुढोलाई तह लगाउँछ्यौ कि बुढोले तिमीलाई!’ अनि सबै जना हाँस्थ्यौँ।
अर्को दिन पनि लगभग हिजोकै समयमा झ्यालबाहिर हेर्दा ऊ फेरि त्यही बेन्चमा थिई। हिजोजस्तै एक्लै, हिजोजस्तै चर्चतिर हेरेर टोलाइरहेकी। आजचाहिँ भेट्छु भनेर कम्प्युटर छाडेर तल झरेँ। बिस्तारै उसको अगाडि पुगेर उभिएँ।
‘हेलो, ऋतु।’
ऊ झसङ्ग भई। मेरो अनुहारमा केही बेर हेरिरही र आश्चर्य मान्दै भनी, ‘क्षितिज... तिमी?’
त्यसपछि मात्र मैले उसको अनुहार राम्ररी देखेँ। उसका आँखाभरि आँसु थिए। आँखा सुन्निएका र राता थिए—मानौँ धेरै दिनदेखि राम्ररी सुतेकी छैन, धेरै दिनदेखि रोइरहेकी छे।
‘म यहीँ काम गर्छु,’ मैले भनेँ। ‘तिमीलाई हिजो पनि देखेको थिएँ। कामले गर्दा आउन पाइनँ। आज पनि देखेपछि भेट्न आएँ।’
केही बेर उसको अनुहार हेरेर सोधेँ, ‘सन्चो छैन कि क्या हो तिमीलाई?’
ऊ अलिकति सरेर मलाई बस्ने ठाउँ दिँदै भनी, ‘होइन, ठीकै छ। घरमा बस्न मन लाग्दैन, त्यही भएर यहाँ आएकी।’
म उसको छेउमा बसेँ।
‘अनि ऋतु, तिम्रो श्रीमान् र छोरा खोइ त ?’
उसले भनी, ‘हामी सबैलाई एकैपटक भिसा लगाउन पैसा पुगेन। म आएको एक वर्षपछि मात्रै श्रीमान् र छोराको भिसाका लागि आवेदन दिएको। आवेदन दिएको पनि धेरै भइसक्यो, अझै आएको छैन।’
‘अनि तिम्रो पढाइ?’
‘सकियो। अहिले काम खोज्ने भिसाका लागि आवेदन दिएको छु। त्यो पनि आएको छैन।’
त्यसपछि हामी पढाइ, काम र फिनल्यान्डको जीवनबारे कुरा गर्दै गयौँ।
कुरा गर्दागर्दै मलाई उसको भाइ विक्रमको याद आयो। हामी विदेशको तयारी गर्ने बेला विक्रम सत्र-अठार वर्षको थियो। पाल्पाबाट दिदीलाई भेट्न बुटवल आइरहन्थ्यो। दुई-तीनपटक मेरो पनि भेट भएको थियो। प्रायः ऊ बाइकमा आउँथ्यो, तर बाइक भने फरक–फरक हुन्थे।
एक दिन ऋतुले भनेकी थिई, ‘मेरो भाइ सधैँ अरूको बाइक मागेर चलाउँछ। बाइक चलाउँदा कस्तो ह्यान्डसम देखिन्छ थाहा छ? मैले कमाउन थालेपछि सबैभन्दा पहिले उसले रोजेको बाइक किनिदिन्छु।’ त्यो कुरा गर्दा उसको अनुहारमा देखिएको खुसी मलाई अझै याद थियो।
मैले सामान्य रूपमा सोधेँ, ‘अनि विक्रम के गर्दै छ आजकल?’
यति सोध्नेबित्तिकै उसको अनुहार फेरियो। ओभाउन लागेका आँखा फेरि रसाए। एकछिन केही बोलिन। अनि एकाएक रुन थाली। पहिले आँसु मात्र झरे। पछि आवाज नै निकालेर रुन थाली। मलाई के गरूँ, के भनूँ भयो। वरिपरिका पर्यटकले हामीतिर हेर्न थाले। उनीहरूको नजर यस्तो थियो, मानौँ मैले नै उसलाई केही गरेको हुँ।
‘नरोऊ न... के भयो?’ मैले भनेँ।
तर ऊ बोल्न सकिरहेकी थिइन। सार्वजनिक ठाउँमा उसलाई पनि अप्ठ्यारो भइरहेको बुझेर मैले भनेँ,
‘हिँड, माथि मेरो अफिसको कफी कोठामा जाऔँ। त्यहाँ बसेर कुरा गरौँ।’
ऊ चुपचाप मेरो पछि लागी। कफी कोठामा पुगेपछि मैले कफी बनाउन थालेँ। त्यतिन्जेल ऊ केही शान्त भएकी थिई। कफीको कप उसको अगाडि राखिदिएँ। उसले कप समाती, तर पिइन। केही क्षणपछि मलाई हेरेर भनी,
‘क्षितिज, तिमीलाई याद छ, मैले कमाउन थालेपछि सबैभन्दा पहिले भाइलाई बाइक किनिदिन्छु भनेकी थिएँ?’
‘हो, याद छ मलाई।’
‘यहाँ आएपछि लामो समय काम पाइनँ। पढ्ने ठाउँमा काम पनि थिएन। पढाइ सकाएर हेलसिन्की आएपछि बल्लबल्ल होटलका कोठा सफा गर्ने काम पाएँ। ऋण थियो, आफ्नो खर्च थियो, घरको व्यवहार थियो। तर पहिलो कमाइ आएपछि मैले श्रीमानलाई समेत नभनी भाइलाई पैसा पठाइदिएँ।’
ऊ केही बेर रोकिई।
‘उसले बाइक किन्यो। मलाई ऊ सधैँ अरूको बाइक मागेर हिँडेको मन पर्दैनथ्यो। घरमा पनि एउटा साधन चाहिएको थियो। अब भाइलाई आफ्नै बाइकमा हिँडेको देख्ने मेरो रहर पूरा हुने भयो भन्ने लागेको थियो।’
‘बाइक किनेको केही दिनपछि उसले कतै टाढा, ट्रेकिङसमेत गर्न मिल्ने गरी घुम्न जाने योजना बनाउँदै थियो। बाबाको पहिलेदेखि नै गोसाइकुण्ड जाने ठूलो रहर थियो। कुण्डमा स्नान गरे पापबाट मुक्ति पाइन्छ भन्ने उहाँको विश्वास थियो। त्यसैले जनै पूर्णिमाको दिन पारेर बाबालाई पनि लिएर गोसाइकुण्ड जाने कुरा भयो। भाइलाई त साथीहरूसँग जान मन थियो। तर हामीले ‘बाबासँग जाँदा सुरक्षित पनि हुन्छ, बाबाको रहर पनि पूरा हुन्छ’ भनेर कर गर्यौँ। अन्तिममा ऊ पनि राजी भयो।’
उसको स्वर अब निकै मलिन भइसकेको थियो।
‘पाल्पाबाट पहिलो दिन विदुर पुगेर बस्ने, दोस्रो दिन धुन्चे पुग्ने र त्यसपछि गोसाइकुण्डतिर ट्रेक सुरु गर्ने योजना थियो। बाबा र भाइ नौ गते बिहानै घरबाट निस्केका थिए।’
उसको आवाज विस्तारै काँप्न थाल्यो।
‘दस गते बिहान उठेर फोन हेर्दा जताततै बाढीको समाचार थियो। मलाई उनीहरू ठ्याक्कै कुन बाटोबाट गएका हुन् भन्ने थाहा थिएन। त्यतैतिर गएको मात्रै थाहा थियो। हतारहतार दुवैलाई फोन गरेँ। दुवैको फोन अफ।’
‘आफ्नै मन बुझाएँ—बाटोमा होलान्, चार्ज सकियो होला। त्यसपछि घरमा फोन गरेँ। मम्मीको हालत पनि खराब रहेछ। अनि थाहा पाएँ... उनीहरू अघिल्लो रात विदुरमा बसेकै रहेनछन्। अलिकति बाटो छोट्याउँछौँ भनेर बेत्रावती पुगेर बसेका रहेछन्। त्यसपछि कसैसँग सम्पर्क भएको रहेनछ। अनि समाचारहरू हेरे बेत्रावती बजार त सबै बाढीले सखाप पारिसकेको रहेछ। उनीहरू त्यहीँ थिए कि बिहानै निस्किसकेका थिए, बाटोमा बाढी देखेर कतै माथि जंगलतिर पसेका थिए कि... केही थाहा भएन।’
ऊ फेरि रुन थाली। म पानी लिन उठेँ। एक गिलास पानी उसको अगाडि राखेर केही बेरपछि सोधेँ,
‘अहिलेसम्म... केही खबर?’
‘आज दस दिन भयो, क्षितिज। आजसम्म न सासको टुङ्गो छ, न लासको।’
मेरो मुखबाट शब्द निस्किएन।
‘मम्मी कहिले बेहोस भएर ढल्नुहुन्छ रे। कहिले ‘मेरो छोरा... मेरो श्रीमान्...’ भन्दै कराउनुहुन्छ रे। सुरुका केही दिन आफन्त आए, सम्झाए। तर सधैँ त कसका लागि को पो हुने रहेछ र?’
‘मलाई मेरै कारणले यो सब भयो जस्तो लाग्छ। मैले उसलाई बाइक नकिनिदिएकी भए... न मैले बाबालाई पनि लिएर जा नभनेकी भए... उसले साथीहरूसँग योजना बनाएको थियो। सायद अर्कै ठाउँ जान्थ्यो। अर्कै समयमा जान्थ्यो। त्यो बाइक नै नभएको भए सायद...’
अब ऊ भक्कानिई। मसँग त्यसको उत्तर थिएन। केही बेरपछि मैले भनेँ, ‘तिमी नेपाल जाऊ न केही समय। अहिले तिम्रो आमालाई तिमी चाहिएको छ। उहाँसँग बस। बाबा र भाइलाई खोज्न पनि पहल गर।’
‘जान त त्यही दिन मन लागेको थियो नि। तर मेरो भिसा सकिएको छ। लम्ब्याउन आवेदन दिएको छु, निर्णय आएको छैन। अहिले गएँ भने फेरि फर्केर आउन पाउँदिनँ। नफर्किए पनि जाऊँ भन्ने पनि सोचेँ। तर यहाँ आउँदा लागेको ऋण छ। बल्ल अलिअलि कमाउन थालेकी छु। माइतीले गरेको खर्चको हिसाब कहिल्यै सुनाउँदैनन्, तर घरतिर दिनदिनै ऋणको हिसाब सुनाउँछन्। त्यो पनि जेसुकै होस्, जिन्दगीभर कमाएर तिरौँला भन्ने आँट गरेकी थिएँ। अनि छोराको अनुहार सम्झिएँ। उसकै भविष्यका लागि यहाँ आएकी हुँ। उसको र उसको बाबाको भिसा पनि प्रक्रियामा छ। म फर्किएँ भने उनीहरूको पनि के हुन्छ थाहा छैन।’
उसको आँखाबाट फेरि आँसु झर्यो।
‘एकातिर मेरी आमा हुनुहुन्छ-जसले मलाई जन्माएर यहाँसम्म पुर्याउनुभयो। अर्कोतिर म आफैँ आमा हुँ-मेरो अगाडि मैले जन्माएको बच्चाको भविष्य छ। आमाको जिम्मेवारी निभाऊँ कि छोरीको? जुन रोजे पनि अर्कोतिरबाट म गलत हुन्छु। मान्छे भन्थे नि, माया सधैँ उँधो बग्छ रे। मेरा आमाबाबुको माया मतिर बग्यो। मेरो माया मेरो सन्तानतिर बगिरहेको छ। तर अहिले म बीचमा अड्किएकी छु। ‘
‘म एक दिन अध्यागमन कार्यालयसमेत गए। बिन्ती गरेँ। सबै कुरा सुनाएँ। मेरो निर्णय छिटो गरिदिनुस् भनेँ। तर उनीहरूलाई मेरो कथा होइन, नियम थाहा थियो। नियम सुनाएर पठाइदिए।’
ऊ फेरि बोलिरही।
‘बल्लबल्ल पाएको काम पनि छाडेँ भने फेरि पाउँदिनँ। काम नगरी यहाँ बाँच्न पनि सकिँदैन। अब त माइतीको घरमा भएको एउटा खम्बा बाबा पनि...’ उसले वाक्य पूरा गर्न सकिन।
‘श्रीमानले त यस्तो बेला साथ देला भन्ने लागेको थियो। एक दिन पनि मम्मीकहाँ गएर बसिदिएन। भेट्नसम्म गएन। उल्टै मैले उसलाई नभनी भाइलाई पैसा पठाएको कुरा निकालेर मसँग बोल्नै छाड्यो। जबजब म दुःखमा हुन्छु, ऊ कहिल्यै साथमा हुँदैन। मलाई बुहारी हुनुको कर्तव्य सिकाउँछ। श्रीमती हुनुको कर्तव्य सिकाउँछ। तर ज्वाइँ हुनुको कर्तव्यचाहिँ ससुरालीबाट सम्मान लिनु मात्रै हो जस्तो गर्छ।’
केही क्षणपछि उसको रिस फेरि थाकेको अनुहारमा विलायो।
‘रातभर रुँदै होटलका कोठा मिलाउँछु। भ्याकुम क्लिनर चलाउँदा सबैभन्दा बेस्सरी रुन्छु। त्यसको आवाजले म रोएको कसैले सुन्दैन। एक्लै बस्न डर लाग्छ। नराम्रा-नराम्रा सोच आउँछन्। त्यसैले बिहान उठेर माल्मीको मन्दिर जान्छु। अनि दिनभर यही चर्चअगाडि आएर बस्छु।’
उसले झ्यालबाट देखिने सेतो क्याथेड्रलतिर हेरिरही।
‘यस्तो बेला आफ्नो धर्म के हो भन्ने पनि बिर्सिँदो रहेछ, क्षितिज। जहाँ माग्न पाइन्छ, त्यहीँ माग्न थालेकी छु। बिहान ईश्वर, कृष्णको अगाडि पूजा गर्छु, दिनभर परमेश्वर र येशू ख्रीष्टसँग प्रार्थना गर्छु। हरेक दिन सरकारी वेबसाइट खोल्छु। भेटिएकाहरूको सूचीमा बाबा र भाइको नाम खोज्छु। पहिला सूचीमा नयाँ नाम धेरै थपिन्थे। अहिले नाम थपिन पनि कम हुँदै गएको छ। नामहरू पातलिँदै जाँदा मेरो आशा पनि पातलिँदै गएको छ।’
‘पहिले प्रार्थना गर्दा ‘मेरो बाबा र भाइलाई जीवित भेटाइदिनू’ भन्थेँ। अहिले त... लासै भए पनि भेटाइदिनू भन्छु। कम्तीमा देखेर चित्त बुझाउन त पाउँथेँ।’
ऊ फेरि भक्कानिएर रोई। यसपटक मैले उसलाई ‘नरोऊ’ भनिनँ। केही पीडालाई नरोऊ भन्नु पनि अन्याय हुँदो रहेछ।
उसको कुरा सुन्दासुन्दै मेरा आँखा पनि रसाएका थिए। केही बेरपछि ऊसँग एउटै अपार्टमेन्टमा बस्ने साथीको फोन आयो। उनीहरू चर्चअगाडि उसलाई लिन आएका रहेछन्। म पनि ऊसँगै तल झरेँ। ‘केही चाहियो भने फोन गर है,’ भन्दै आफ्नो नम्बर दिएँ। उसका साथीहरूले उसलाई लिएर गए।
म फेरि माथि अफिसमा फर्किएँ। कम्प्युटर अगाडि बसेँ। अधुरो ब्लग स्क्रिनमा खुलै थियो। लेख्न खोजेँ। एउटा शब्द पनि आएन। झ्यालबाहिर हेरेँ। ऋतु बिहान बसेको बेन्च अहिले खाली थियो। वरिपरि भने उस्तै भीड थियो। पर्यटकहरू हाँसिरहेका थिए। फोटो खिचिरहेका थिए। चर्चका सिँढीमा मानिसहरू घाम तापिरहेका थिए।
केही बेरअघि त्यही भीडको बीचमा एउटी छोरी आफ्नो बाबालाई मागिरहेकी थिई। एउटी दिदी आफ्नो भाइलाई मागिरहेकी थिई। एउटी आमा आफ्नो बच्चाको भविष्य जोगाइरहेकी थिई। र एउटी आप्रवासी महिला दुई देशको बीचमा अड्किएर आफ्नो जीवनको कुन पक्ष रोज्ने भनेर उत्तर खोजिरहेकी थिई।
ऋतुको बारेमा सोच्दासोच्दै म आफ्नै बारेमा सोच्न थालेँ। मैले विदेश आउने निर्णय गर्नुअघि पनि यस्तै हजारौँ कुरा सोचेको थिएँ। मैले यसअघिको लेखमा पनि लेखेको थिएँ—विदेश जानु जित वा हार होइन। आफ्नो जीवनका लागि एउटा निर्णय हो। आज पनि म त्यो कुरामा विश्वास गर्छु। तर विदेश आउँदा हामीले तिर्ने मूल्य पैसा मात्र होइन रहेछ। पैसा पठाउन सकिन्छ। भिडियो कल गर्न सकिन्छ। दिनमै नेपाल पुग्ने हवाईजहाज पनि छन्। तर चाहेको बेला सबै कुरा छाडेर जान सकिँदैन। कसैलाई भिसाले रोक्छ, कसैलाई कामले, कसैलाई ऋणले, कसैलाई पढाइले, कसैलाई आफ्नो सन्तानको भविष्यले।
सायद विदेशमा बस्ने धेरै नेपालीको मनको कुनै कुनामा एउटै डर लुकेको हुन्छ- मलाई मेरो घरले सबैभन्दा धेरै खोजेको दिन म घर पुग्न सकिनँ भने?
पहिले नेपालमा हुँदा मलाई विदेश जान डर लाग्थ्यो। कतै मलाई लिएर गएको जहाजले मलाई फिर्ता ल्याएन भने भन्ने प्रश्नले सताउँथ्यो। मैले आफ्नो पहिलो लेखमा पनि यही डर लेखेको थिएँ। आज ऋतुलाई भेटेपछि त्यो डरको अर्थ अलि फरक भएको छ। सायद डर आफू फर्किन नसक्नुको मात्र होइन रहेछ। डर त आफू फर्किनुपर्ने दिन फर्किन नसक्नुको रहेछ।
मलाई अफिसमा बसिरहन मन लागेन। अधुरो ब्लग त्यसै छाडेँ। कम्प्युटर बन्द गरेँ र घरतिर लागेँ। बाटोमा फोन बज्यो। हाम्रो पात्रोबाट समाचारको सूचना आएको रहेछ। मैले हिँड्दाहिँड्दै खोलेँ। समाचारको शीर्षकमा लेखिएको थियो— ‘सुरुङमा खोजी सकिएपछि पनि नभेटिएकाहरूलाई मृत घोषणा गरिनेछ।’