श्रम किन्नेहरू यहाँ सबै कहाँ सद्गुणी हुन्छन्?
पसिनामा रगत मिलाएपछि मात्र ‘आहा’ भन्छन्
कैयौँ साहुसँग श्रम बेचेको अनुभव छ मसँग
सास मात्र बाँकी हुँदा पनि ‘लास खै त?’ भन्छन्
न गति, न मति—आखिर एउटै हो, अन्तिममा दिन्छन् नै दागबत्ती।
सोच्छु, टोलाउँछु—कतिन्जेल गर्छन् होला यस्तो जगजगी?
कामले मात्र होइन, उनलाई कुराले चिल्लो घस्नुपर्छ
‘हजुर’मा ‘हजुर’ मिलाएर पाउ ढोग्दै बस्नुपर्छ
ङिच्च हाँसेको हेर्न पनि घण्टौँ कुर्दै बस्नुपर्छ
न श्रमको सम्मान, न समस्याको समाधान
श्रम बेच्न पनि, हजुर, यहाँ मुखमा लगाम कस्नुपर्छ
न गति, न मति—आखिर एउटै हो, अन्तिममा दिन्छन् नै दागबत्ती
सोच्छु, टोलाउँछु—कतिन्जेल गर्छन् होला यस्तो जगजगी?
धुत्ने, लुट्ने र जुध्नेहरूको सहरमा के बताऊँ मेरो कहानी?
कसैलाई पसिना, कसैलाई रगत दिएको छु—यस्तै छ जिन्दगानी
आधी लुटिएको, आधी छुटिएको, मौलाउन नपाउँदै चिमोटिएको
‘मै हुँ’ भन्ने साहुहरूको मुहार हेर्छु, त्यहीँ देख्छु सयौँको पसिना लुटिएको
न गति, न मति—आखिर एउटै हो, अन्तिममा दिन्छन् नै दागबत्ती
सोच्छु, टोलाउँछु—कतिन्जेल गर्छन् होला यस्तो जगजगी?
कैयौँ भेटेको छु, झन् खुट्टा तानेर लडाउने साथीहरू
सकेसम्म दुई-चार गल्ती बढाउने साथीहरू
मिले आत्मघाती बम बोकी मेरै छेउमा उभिन्थे होला
यदि म मात्र मरेर उनीहरूको फेरिन्थ्यो भने चोला
न गति, न मति—आखिर एउटै हो, अन्तिममा दिन्छन् नै दागबत्ती
सोच्छु, टोलाउँछु—कतिन्जेल गर्छन् होला यस्तो जगजगी?